ठूलाकोट, ठूलास्वाहाँरा प्रवद्र्धन गरिँदै

गण्डकी ।
यही चैत ४ गते पर्यटन राजधानी घोषणा भएको पोखरासँगै आसपासका पर्यटकीय गाउँको पर्यटकीय प्रवद्र्धन र विकासलाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले सक्रियता देखाएको छ ।
पर्यटन राजधानी आसपासका पर्यटकीय गाउँलाई प्रवद्र्धन गर्दै त्यहाँ पर्यटकीय गतिविधि बढाउनुपर्छ भन्ने उद्देश्यका साथ ठूलाकोट–ठूलास्वाहाँरा क्षेत्रको प्रवद्र्धनात्मक परिचयात्मक अवलोकन भ्रमण गरिएको भिटोफ गण्डकी प्रदेश अध्यक्ष शोभा सापकोटाले बताइन् ।
‘हरेक गाउँ, पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ भिटोफले गाउँ पर्यटनको विकास गर्दै आएको बताउँदै उनले धेरै पर्यटकीय सम्भावना भएर पनि अपेक्षित प्रवद्र्धन हुन नसकेको ठूलाकोट–ठूला स्वाहाँरा क्षेत्रमा पर्यटनसम्बद्ध क्षेत्रका विज्ञ, प्रतिनिधि तथा सञ्चारकर्मीको अवलोकन भ्रमण गराइएको जनाइन् ।
उत्तरमा मादी नदी, दक्षिणमा सेती, पूर्वमा बेगनास पचभैया र पश्चिममा सुनपदाली विजयपुरभित्र रहेको पोखरा महानगरपालिका २८ स्थित ठूलाकोट र नजिकै रहेको कास्कीकै मादी गाउँपालिका–५ स्थित ठूलास्वाहाँरा यस क्षेत्रकै ऐतिहासिक स्थलका रुपमा चासो र चर्चा कमाएका छन् ।
ठूलाकोट मौजाको रूपमा इतिहासदेखि नै चासो र चर्चा कमाएको यस ठाउँबाट नजिकै रहेको कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल अर्घौंअर्चलेका कारण पनि यहाँको गरिमा र महत्व अझै बढाएको छ । ठूलाकोट र आसपासका प्राकृतिक दृश्य लोभलाग्दा छन् ।
पोखरा २८ स्थित ठूलाकोट र नजिकै रहेको मादी गाउँपालिका ५ को ठूलास्वाहाँरा यस क्षेत्रका ऐतिहासिक स्थलका रुपमा परिचित छन्
उत्तरतर्फ चाँदीजस्तै टलक्क टल्किएका हिमाल, यसको काखमा छचल्किइरहेका पोखरा तथा लेखनाथका तालतलैयालाई अझै पनि पर्यटकीय रुपमा अपेक्षित उपयोग भने गर्न नसकिएको नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य एवं पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष टीकाराम सापकोटाले बताए ।
पदयात्रा एवं पर्वतारोहण पर्यटनमा तारामण्डल अवलोकन पनि महत्वपूर्ण पक्ष भएको जनाउँदै उनले यस ठाउँलाई तारामण्डल अवलोकनको गन्तव्यका रुपमा पनि विकास गर्न सकिने विचा राखे । प्रकृतिले सम्पन्न ठूला कोटसँग जोडिएको इतिहास र त्यसैसँग सम्बन्धित संस्कृति लगायतको उचित प्रचारप्रसार एवं पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको पोखरा महानगरपालिका २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने बताउँछन् ।
ठूलाकोटस्थित कालभैरव मन्दिर यहाँका अति प्राचीन धार्मिक महत्वको स्थल रहेको बताउँदै उनले यसको ऐतिहासिक एवं धार्मिक महत्वलाई उजागर गदैै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखिएको जनाए । वडाभित्र रहेका ठूलाकोटको कालभैरव लगायत कालिका मन्दिर आदिको पुरातात्विक महत्वलाई खोज्दै यिनीहरूको दीर्घकालीन विकास गर्ने उनको भनाइ छ ।
ठूलाकोट र आसपासको क्षेत्र प्राचीन समयदेखि नै समाजमा विशिष्ट प्रभाव पार्ने ज्योतिषीहरूको जन्मस्थान पनि हो । ग्रह नक्षत्र आदिका गति, स्थिति वा तिनका अनुसार हुने शुभाशुभ फलका ज्ञाता ज्योतिष विद्यामा पारङ्गत मानिएका प्राणनाथ त्रिपाठी, मनोहरि त्रिपाठी जस्ता ज्योर्तिविद्को सफल साधनामा यो ठाउँको प्रभाव पनि रहेको स्थानीयवासी तर्क गर्दछन् ।
इतिहासलाई खोतल्दा बाइसे÷चौबिसे राजाका पालामा तत्कालीन गण्डक क्षेत्रका कोटमध्येको ठूलो कोट भएकै कारण यसको नाम ठूलाकोट रहन गएको हो । तत्कालीन समयमा छिमेकी लमजुङ राज्यबाट आइपर्ने आक्रमणको खतरा सामना गर्न यस ठाउँमा सेना तैनाथ गरिन्थ्यो । त्यसै समयमा यहाँ शक्तिस्वरूप कालभैरव र दुर्गाको पूजाआजा गरिएको पाइन्छ ।
प्राचीन कालदेखि स्थापित कालभैरव र दुर्गा मन्दिरका कारण यहाँको विशिष्ट धार्मिक महत्व रहेको छ । तत्कालीन नेपालका बाइसे÷चौबीसे राजाका पालामा यहीँबाट सीमा सुरक्षा व्यवस्था गर्ने, मौलो पुज्ने प्रसिद्ध किल्लाको रूपमा यसको महिमा र गरिमा रहेको बूढापाका बताउँछन् । यहाँ आएर कालभैरव र दुर्गालाई पूजा गरेमा चिताएको पुग्ने विश्वासका कारण दसैँका साथै अन्य समयमा विभिन्न स्थानबाट भक्तजन भाकलसहित पूजाआजा गर्न आउँछन् ।
विगतको इतिहास र प्रचलित संस्कृतिलाई निरन्तरता दिँदै अहिले पनि प्रत्येक चैतेदसैँ र विजयादशमीमा यहाँ विशेष पूजाआजा गर्ने गरिएको पर्यटन व्यवसायी एवं नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका पूर्वअध्यक्ष जीवनराज सापकोटाले उल्लेख गरे । ठूलाकोट आफैँमा प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य भएको बताउँदै उनले यहाँबाट देखिने मनोरम हिमशृङ्खला, लेखनाथका बेगनास, रुपा, खास्टे, निउरेनी, गुदे, दिपाङ र मैदीताल, पोखरा उपत्यका र आसपासका सुन्दर हरियाली डाँडाकाँडालाई पर्यटन बजारमा पु¥याउनुुपर्नेमा जोड दिए ।
गाउँमा प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक, मनोरञ्जन र साहसिक पर्यटनका विविध पूर्वाधार निर्माण गरी पर्यटनबाट रोजगारी र आयआर्जन बढाउन सकिने देखिएको भिटोफ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारीको भनाइ छ । यो गाउँबाट देखिने मनोरम हिमशृङ्खला, लेखनाथका बेगनास, रुपा, खास्टे, निउरेनी, गुदे, दिपाङ र मैदीताल, पोखरा उपत्यका र आसपासका सुन्दर हरियाली डाँडाकाँडालाई पर्यटन बजारमा पु¥याउनुुपर्ने उनी जनाउँछन् ।
ठूलाकोटसँगै नजिकै रहेको ठूलास्वाहाँरामा स्थानीयले घरवास सञ्चालनमा ल्याएका छन् । गाउँको पर्यटकीय विकासलाई लक्षित गरी तीन वर्षदेखि यहाँका पाँच वटा घरमा घरबास सञ्चालन भइरहेको ठूलास्वाहाँरा टोल विकास संस्थाका अध्यक्ष एवं मादी गाउँपालिका होमस्टे महासंघका अध्यक्ष भीम गुरुङले बताए । यहाँस्थित घरवासमा दैनिक ४० जनासम्म राख्न सकिने बताउँदै उनले प्राकृतिक दृश्यावलोकनसँगै स्थानीय प्राङ्गारिक उत्पादनको स्वाद चाख्न पाउनु यहाँको विशिष्टता भएको जानकारी दिए ।
यहाँबाट समग्र पोखराको दृश्यावलोकन गर्न पाइने बताउँदै उहाँले गाउँ पर्यटन प्रवद्र्धनका माध्यमबाट स्थानीयवासीको रोजागारी अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । पोखरा पर्यटन राजधानी घोषणा भइसकेको अवस्थामा पोखरा आसपासका गन्तव्यलाई पर्यटनसँग जोड्न अपरिहार्य भएको डा रामजी शर्मा बताउँछन् । पोखरा पर्यटन राजधानी भएका अवस्थामा आसपासका गन्तव्यको प्रवद्र्धन र विकासका लागि पर्यटनसम्बद्ध संघ, संस्थाले चासो दिनुपर्ने उनको भनाइ छ ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया