चैतमै बढ्यो मार्फा खोला

सुन्दरकुमार थकाली २०८० चैत १२ गते ११:४४

जोमसोम ।
चैतमै मुस्ताङको मार्फा स्थित मार्फा (राज) खोलाको बाहव उच्च भएको छ । हिउँदमा निकै सानो हुने मार्फामा आइतबार दिउँसो खोलाको सतह बढेको हो ।

Advertisement


राष्ट्रिय गौरवको बेनी—जोमसोम राजमार्ग सडकमा पर्ने मार्फा उर्फ राज खोलाको सतह बढेको मार्फाका स्थानीय दीपक लालचनले बताए । राजखोलाको सतह बढ्दै जाँदा सवारी वारपार गर्न सकस भएको छ ।


बर्सेनि साउन, भदौ महिनामा बढ्ने राज खोला यस वर्ष चैत महिनामा बढेको उनले बताए । उनले लेदो र गेग्रानसहित खोलाको सतह वृद्धि भएको जानकारी दिए । यद्यपि अहिलेसम्म खोलाले धार परिवर्तन गरेको छैन । खोलाको सतह बढेपछि जोमसोमबाट बेनी र बेनीबाट जोमसोम आउने सवारीलाई समस्या भएको छ ।

Advertisement


‘अहिलेसम्म खोला बढे पनि यसले धार परिवर्तन गरेको छैन, धार परिवर्तन भयो भने त सवारी साधन तथा पैदल यात्रीलाई आउजाउमा समस्या हुन्छ,’ लालचन भन्छन् ।


हिउँद सकिएर गर्मीयाम सुरु भएसँगै तापक्रम बढ्दा हिउँ पग्लिएर खोलाको सतह बढेको अनुमान गरिएको छ । मार्फामा राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक आयोजनाले पक्की पुल निर्माण गरिहेको छ ।

Advertisement


मार्फा र छुसाङमा गरी २१ करोड लागतमा पक्की पुल निर्माण गर्न २०७५ सालमा हिमढुङ एन्ड ठोक्कर इमोटल जेभी कन्टक्सनले आयोजनासँग ठेक्का सम्झौता गरेको थियो । तर, साँढे २ वर्षमा सक्नुपर्ने पक्की पुल निर्माण कम्पनीको ढिलासुस्तीले अझै सकिएको छैन । हाल ३ स्पानमध्ये २ स्पानको स्ल्याप ढलान भएको छ ।


आयोजना अन्तर्गत मार्फा खोलामा ३ स्पानको १ सय २० मिटरको पक्की पुल निर्माणाधीन अवस्थामा छ । छुसाङमा ३ स्पानकै ९० मिटरको पुल बन्दै छ । मार्फा खोलामा पक्की पुल निर्माणमा विलम्ब हुँदा बर्खायाममा सवारी साधनलाई समस्या हुने गरेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया