पाहुना पर्खंदै पूर्णगाउँ होमस्टे

म्याग्दी ।
मंगला गाउँपालिका १ मा सञ्चालित टोड्के पूर्णगाउँ सामुदायिक घरबास (होमस्टे) पाहुनाको पर्खाइमा छ । टोड्के भ्रमणमा आउने पर्यटक र पाहुनालाई लक्षित गरेर सञ्चालन गरिएको घरबास कोरोना महामारीपछि लयमा फर्कन सकेको छैन ।
टोड्के पूर्णगाउँ सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले पछिल्लो समय पाहुना नआउँदा घरबास सुनसान रहेको बताए । ‘सुरु गरेको डेढ वर्षमा पाहुनाले दिन खाली हुँदैन्थ्यो, विदेशी पर्यटक पनि आउन थालेका थिए,’ उनी भन्छन्, ‘कोरोनाको महामारी फैलिएपछि घरबासमा पाहुना आएका छैनन्, पाहुना आउने आशामा छौँ ।’
गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्णगाउँका ११ घरमा सञ्चालन भएको घरबासमा प्रतिदिन २२ जना बास बस्ने क्षमता छ । दूूध, दहीसहितको अर्गानिक सादा खाना २ सय, मासु खाना ३ सय तथा ‘बेड’को १ हजार मूल्य निर्धारण गरिएको छ ।
फापर, आलु, मुला तथा बर्खायाममा निगालोको टुसाको परिकारको स्वाद लिन पाइन्छ । साथै यहाँ पारिवारिक वातावरणमा रमाउन पाइन्छ । गुन्द्रुकको अचार र सुप पनि चखाउने गरिएको घरबास सञ्चालक गंगा आचार्यले बताइन् । पर्यटक नआउँदा आम्दानीको अवसरबाट बञ्चित भएको उनी सुनाउँछिन् ।
अग्रिम जानकारी गराए खीर, लोकल कुखुरा, खसीको मासु, सेलरोटीका साथै भजन, चुड्का, पुख्र्याैली र पञ्चेबाजामा रमाउन पाइन्छ । पाहुनाघरमा स्वागत सत्कार गरेर बास बस्न घरघरमा लैजाने गरिएको छ ।
म्याग्दीको बेनीदेखि १ घण्टा ३० मिनेट गाडी र ५ घण्टा पैदलयात्रा गरेपछि पूर्णगाउँ पुगिन्छ । पूर्णगाउँदेखि १ घण्टा उकालो पैदलयात्रा गरेपछि समुन्द्री सतहदेखि २ हजार ४ सय मिटर उचाइमा रहेको टोड्के पुगिन्छ ।
लालीगुराँसको जंगलका बीचमा रहेको पहाडको टाकुरा टोड्केदेखि सूर्योदय, सूर्यास्त, पहाडी भूगोल र पृष्ठभूमिमा धवलागिरि, नीलगिरि, मानापाथी, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल अवलोकन गर्न सकिन्छ । वसन्त ऋतुमा टोड्केको पाखा लालीगुराँस फुलेर रङ्गिएको छ ।
छोटो अवधिको बिदा मनाउन र सहरी क्षेत्रको कोलाहलबाट मुक्त भएर एकान्त वातावरणमा रमाउनका लागि टोड्के उपयुक्त गन्तव्य हो । सडक यातायात पुगेको टोड्केमा खान, बस्नका लागि व्यवस्थित होटल र घरबास पनि छ । धौलागिरि पानोरमा सांस्कृतिक र धौलागिरि सेञ्चुरी पदमार्गमा समेटिएको टोड्के हुँदै मालिका, ठाडाखानी, कुइँनेखानी, झिँलगायतका गाउँ र धार्मिक पर्यटकीयस्थलको भ्रमणमा पनि जान सकिन्छ ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया