शताब्दी घरमा ‘एक्काइसौं शताब्दी’

समाधान संवाददाता २०८० चैत १३ गते ११:३६

पोखरा ।
एक्काइसौँ शताब्दीमा हामीमाथि कसले र कस्तो निगरानी गरिरहेको छ ? र, नेपालजस्तो मुलुकमा त्यसको प्रभाव कस्तो छ ? कुश्मा कला परियोजना अन्तर्गत पर्वत कुश्माको तीन सय वर्ष पुरानो ‘शताब्दी घर’मा शनिबार यिनै विषयमा विमर्श गरिएको छ ।

Advertisement


लेखक/अनुवादक रोहेज खतिवडाको अनुवाद–सम्पादनमा प्रकाशित किताब ‘एक्काइसौँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तकमाथि– लेखक तथा चिन्तकहरुले लेखेका १० दमदार अंग्रेजी लेखलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको हो ।


निगरानी र स्वतन्त्रताबीचको दूरी कति छ ? प्रविधिले निम्त्याउन सक्ने खतराबारे हरारीको चेतावनी, यानिस भारुफाकिसको प्रविधि सामन्तबादको कारण विश्व अर्थतन्त्रमा पार्न सक्ने प्रभावको भविश्यवाणी, बाराक ओबामाले एचबिसी युनिभर्सिटी उत्तीर्ण विद्यार्थीमाझ गरेको भाषण आदिबारे रोहेज खतिवडा र दीपक सापकोटाले परिचर्चा गरे ।

Advertisement


अहिले डेटामा आधारित कर्पोरेट र सरकारी निगरानीबाट छुट्कारा पाउन आम मानिसले गरिरहेको संघर्षबारे सहजकर्ता दीपक सापकोटाको प्रश्नमा खतिवडाले यी दुवै समानान्तर रेखामा अगाडि बढ्ने भए तापनि हामीले स्वतन्त्रतालाई थप समृद्ध बनाउन प्रयास गरिरहनुपर्ने बताए । बेलायती पत्रकार पल म्यासनको पुँजीवाद मर्दै छ भन्नेमा दिएको ३ कारणको व्याख्या र त्यसलाई पुष्टि गर्ने तर्क, ईरानका माक्र्सवादी बौद्धिक मन्सुर हेक्मतले अन्तर्वार्तामा माक्र्सवाद अनुरुपको समाजवाद विश्वमा अहिलेसम्म कतै नआएको भन्ने बौद्धिक धारणाअघि सारेको भन्दै २१ औँ शताब्दीमा इन्टरनेटको विकासपछि संसारको अर्थ–राजनीति र राजनीतिमा पारेको प्रभावबारे कार्यक्रममा विमर्श गरियो ।


किताबमा युभल नोह हरारी, अरुन्धती रोय, बाराक ओबामा, एलिस इभान्स, धीरेन्द्र के झा, यानिस भारुफाकिस, दीपा सीतारमण, इमिली ग्लेजर, देवाशिष रोय चौधरी, मन्सुर हेक्मत र पल म्यासनका लेख समेटिएका छन् ।

Advertisement


एक्काइसौं शताब्दीको पहिलो साढे दुई दशकका प्रमुख विशेषता सन् २०२० को कोभिड महामारी, अमेरिकी वर्चस्वको अन्त्य, बहुध्रुवीय विश्वको उदय, फासीवादको वर्चस्व र पुँजीवादी अर्थप्रणालीमा संकटका रूपमा देखा पर्छ । यद्यपि, यसको सबैभन्दा महत्तवपूर्ण पाटो विज्ञान र प्रविधि, खासगरी सूचना प्रविधिको विकासमा देखा परेका संकट र विषयहरु पुस्तकमा रहेको अनुवादक खतिवडाले सुनाए ।


कार्यक्रममा कथाकुथुंग्री समूहले युबल नोहा हरारीको निबन्ध ‘एक दिन हामी मृत्युलाई जित्नेछौँ’ वाचन गरेको थियो । कथाकुथुंग्रीमा सारस, भेनिषा र सौरभ लगायत छन् । इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको यो पुस्तकमा हरारी, यानिस भारुफाकिस, अरुन्धती रोय लगायतका निबन्ध छन्।


कुश्मा कला परियोजनाका अध्यक्ष तथा कालीगण्डकी बचाऊ अभियानका अभियन्ता आरके अदीप्त गिरीले कृत्रिम बौद्धिकतामा हुने क्रान्तिका कारण वर्गहरुबीचमा मात्र होइन, देश–देशबीचको असमानता पनि अकल्पनीय रुपमा बढिरहेको जनाए । उनले सामाजिक रूपान्तरणका लागि बौद्धिक विमर्शका यस्ता कार्यक्रमा आगामी दिनमा पनि गरिरहने उल्लेख गरे ।


दोस्रो सत्रमा पत्रकारिता र काव्य कर्मलाई सँगै डोहोर्‍याउँदै आएका कवि देवव्रतको कविता वाचन भएको थियो। उनले आफ्नो कविता किताब ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’बाट ‘हामी’, ‘कोठा’, ‘कर्णाली’ लगायतका कवितावाचन गरेका थिए । ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ पत्रकार/कवि देवव्रतको पहिलो कविता–किताब हो । यसमा ३८ कविता छन् ।

तपाईको प्रतिक्रिया