खेलमा राजनीति नगरौंः मन्त्री श्रेष्ठ

समाधान संवाददाता २०८० चैत १३ गते ११:५०

पोखरा ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेल क्षेत्रमा राजनीतिकरण बन्द हुनुपर्ने बताएका छन् । सहकार्यबाट खेलकुद विकास सम्भव रहेकाले सबैसँग सहकार्य गरेर अघि बढ्ने उनले जनाए ।

Advertisement


आइतबार पोखरा रंगशाला निरीक्षणपछि सञ्चारकर्मीहरू मन्त्री श्रेष्ठले राजनीतिक नियुक्ति लिएर जनैमा साँचो हाले जसरी बसेर खेलाडी र खेल क्षेत्रलाई बन्धक बनाउने राजनीति अब बन्द गर्नुपर्नेमा जोड दिए । ‘खेल क्षेत्रमा राजनीति बन्द गरौँ । खेलकुद संरचना बनाउने, खेलाडीको भविष्य उज्ज्वल बनाउने राजनीतिमात्र गरौँ,’ उनले भने ।


खेलकुदमन्त्री श्रेष्ठले पोखरा रंगशालाभित्रका खेल पूर्वाधारको अवलोकनपछि आफू उत्साहितसँगै पूर्वाधार संरक्षणलाई लिएर भने चिन्तित बनेको सुनाए । राज्य र जनताको करबाट निर्मित संरचना अधिकतम टिकाउनुपर्ने चुनौती रहेको उनले जनाए । भने, ‘सरकारबाहेक पनि कतिपय संरचना खेलाडी, प्रशिक्षक र खेलाडीका परिवारबाट समेत बनेका रहेछन् । खेल पूर्वाधार संरक्षण भएन भने छिट्टै बिग्रन्छ । राम्रा संरचना संरक्षण नहुन चिन्ताको विषय रहेको छ ।’

Advertisement


मन्त्रालयले आगामी वर्ष खेल पूर्वाधार संरक्षणका लागि बजेट विनियोजन गर्ने तयारी गरेको जानकारी दिए । खेलकुदमा लगायनी गर्नका लागि पछिल्लो समय नीजि क्षेत्र उत्साहित रहेकाले सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यबाट खेलकुद विकास गरिने उनको भनाइ छ । खेलकूदमन्त्री श्रेष्ठले पोखरा रंगशालाभित्र रहेका अन्तर्राष्ट्रिय फुटबल स्टेडियम, क्रिकेट मैदान, टेनिस कोर्ट, भलिबल कोर्ट, स्क्वास लगायतका खेलका पूर्वाधार अवलोकन गरेका छन् ।

खेलकुदमन्त्री श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले खेल पूर्वाधार र खेलकुद क्षेत्रका समस्याबारे अवगत गराएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया