फेवा महोत्सवलाई सघाउने वाचा

समाधान संवाददाता २०८० चैत १३ गते १२:३५

पोखरा ।
होटल संघ पोखरा नेपालले चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने ३ दिने १९ औं फेवा नव वर्ष महोत्सव पर्यटकीय राजधानीको मर्म धान्ने गरी गर्न विभिन्न संघ, संस्थाले सुझाव दिएका छन् ।

Advertisement


पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म आयोजना हुने महोत्सवमा नेपाली मौलिक संस्कृति संरक्षण गर्दै पछिल्लो पुस्ताको इच्छा र रुचि समेतलाई ख्याल गरी कार्यक्रम पस्कने तयारी भइरहेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । पर्यटक दौड र सम्भव भएसम्म डुंगा दौडसमेत महोत्सवमा समेटिने उनले सुनाए ।


महोत्सवका अवसरमा पोखराका विभिन्न पर्यटकीय संघ, संस्थाका तर्फबाट छुट प्रदान गरिने जनाउँदै अध्यक्ष सुवेदीले महोत्सवलाई भव्य बनाउन संघले गठन गरेका विभिन्न २१ उपसमितिले काम गरिरहेको जानकारी दिए । महोत्सवमा सांस्कृतिक कार्यक्रम, पञ्चेबाजा, नाचगानका कार्यक्रम, दोहोरी र कन्सर्ट समेटिने उनले सुनाए ।

Advertisement


यस पटकको महोत्सवमा ड्यामसाइड क्षेत्रमा समेत विविध गतिविधि गरिने संघले जनाएको छ । स्टेज नै निर्माण गरी ड्यामसाइडमा मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने अध्यक्ष सुवेदीले जानकारी दिए ।


पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले महोत्सव प्रचारका लागि डिजिटल मार्केटिङलाई जोड दिन र भारतीय सञ्चारकर्मीलाई समेत महोत्सवमा आमन्त्रण गर्न सुझाव दिए । पोखरालाई पर्यटनको राजधानीको रुपमा घोषणा गरिएपछि यसलाई एउटा ब्रान्डका रुपमा प्रचारित गर्नसमेत उनले सुझाव दिए ।

Advertisement


कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, टान गण्डकी, नाट्टा गण्डकी, महिला पर्यटन व्यवसायी मञ्च, पोखरा पंक्षी समाज, नेपाल हवाई खेलकुद संस्था लगायतका तर्फबाट अध्यक्ष तथा प्रतिनिधिले महोत्सवलाई सफल पार्न आफ्नो संस्थाका तर्फबाट साथ र सहयोग रहने प्रतिवद्धता जनाएका थिए ।


पर्यटन, संस्कृति र खानालाई जोड दिएर आयोजना गरिने महोत्सवले कोरोना महामारीका कारण थला परेको पर्यटनलाई पुरानो लयमा फर्काउन केही हदसम्म भए पनि सघाउन पुग्ने विश्वास संघले लिएको छ । संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रम सञ्चालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।

तपाईको प्रतिक्रिया