
जोमसोम ।
मुस्ताङमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन् । मुस्ताङ जिल्ला अदालतको तथ्यांक अनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्ष सकिन ३ महिना बाँकी छँदै सम्बन्ध विच्छेदका दोब्बर मुद्दा दर्ता भइसकेका छन् ।
आर्थिक वर्ष २०७९/०८० मा मुस्ताङ अदालतमा ११ सम्बन्ध विच्छेदका मुद्दा परेका थिए । चालु आर्थिक वर्षको ९ महिनामै २० पारपाचुकेका मुद्दा दर्ता भइसकेको अदालतका सूचना अधिकारी नील पनेरुले जानकारी दिए । गत वर्ष दायर भएका सम्बन्ध विच्छेदका सबै मुद्दा फैसला भइसकेका छन् । चालु आर्थिक वर्षमा दायर भएका २० मध्ये १९ मुद्दाको किनारा लागिसकेको पनेरुले जानकारी दिए ।
चालु वर्ष दायर भएको अंश तथा सम्बन्ध विच्छेदको एउटा मुद्दामात्र फछ्र्योट हुन बाँकी छ । अदालतमा गत वर्षको एउटा देवानी मुद्दाको जिम्मेवारी सरेकाले चालु वर्षमा २० देवानी मुद्दा र पुरानो एक गरी २१ मुद्दा थिए । अहिले अदालतमा अंशबण्डाका १ र अंश र सम्बन्ध विच्छेद गरी २ देवानी मुद्दाको मात्र फैसला हुन बाँकी छ ।
अदालतको तथ्यांक अनुसार यस वर्ष सम्वन्ध विच्छेदका मुद्दा दोब्बर दर्ता भएका छन् । सूचना अधिकारी पनेरुले अदालतमा आउने अधिकांशले मिलापत्र गरी सम्बन्ध विच्छेद गर्ने गरेको बताए । १ सम्वन्ध विच्छेद भने अंश र सम्बन्ध विच्छेद जोडिएकाले अदालतबाट फछ्र्योट हुन बाँकी छ ।
अमेरिकामा बस्ने नेपाली मुलका नागरिकसँग विवाह गरी विदेश जाने बाटो रोज्न अदालती प्रमाण देखाउन सम्बन्ध विच्छेद
पनेरु भन्छन्, ‘अदालतमा सम्वन्ध विच्छेदका मुद्दा आउँछन्, यो पारिवारिक बेमेल हो कि भन्ने बुझाइ हाम्रो छ । त्यस भन्दा बाहिरको आन्तरिक कारण हामीलाई थाहै हुँदैन ।’ मुस्ताङमा सम्वन्ध विच्छेदका बढ्नुको मूल कारण नेपालीले विदेशीसँग विवाह गरी विदेश जान उद्देश्य रहेको जानकारहरु बताउँछन् ।
वैवाहिक सम्बन्धमा जोडिएका दम्पतीले युरोप र अमेरिकामा बस्ने नेपाली मुलका नागरिकसँग विवाह गरी विदेश जाने बाटो रोज्न अदालती प्रमाण देखाउन सम्बन्ध विच्छेद गर्ने गरेका छन् ।
यसरी सम्वन्ध विच्छेद गर्न आउनेहरु कानुनी प्रक्रियामा सम्बन्ध विच्छेद गरेको प्रमाणित हुने भए पनि व्यवहारिक रुपमा सो सम्वन्ध विच्छेद कृत्रिम हुने गरेको जानकारीहरुको भनाइ छ । तर, अदालतले भने स्थानीय तहको वडा कार्यालयको सिफारिसको आधारमा सम्वन्ध विच्छेदको मुद्दा हेर्ने गरेको पनेरुले स्पष्ट पारे ।
पछिल्लो समय कानुनी विधि अपनाएर बिहे भइसकेकालाई सम्बन्ध विच्छेद गराएर विदेश लैजाने गिरोह सक्रिय रहेको जानकारहरु बताउँछन् । यसरी नेपालबाट १ जनालाई डिपेन्डेन्ट भिसामा युरोप, अमेरिका लगेवापत ७० लाखदेखि १ करोडसम्म असुल्ने गरेको स्रोतको भनाइ छ । यही परिपाटी कायमै रहे सम्बन्ध विच्छेदका मुद्दा बर्सेनि वृद्धि हुँदै जाने देखिन्छ ।
चालु वर्ष २६ मुद्दा
मुस्ताङ जिल्ला अदालतमा चालु आर्थिक वर्षको ९ महिनामा २६ नयाँ मुद्दा दर्ता भएका छन् । चालु वर्ष ६ फौजदारी र २० थान देवानी मुद्दा दर्ता भएका हुन् । ९ फौजदारी र १ देवानी मुद्दा गत वर्षको जिम्मेवारी सरेर आएका हुन् । फौजदारी मुद्दामा सवारीसम्बन्धी ३, लिखत साक्षी ३, डाकाचोरी २, जबर्जस्ती करणी १, करनी गरी ज्यान मारेको अभियोग १, गोरु काटेको १, अंगभंग २ र जालसाँजी १ छन् ।
देवानीतर्फका २१ मुद्दामा २ वटाबाहेक सबैको फैसला भइसकेको छ । मुस्ताङ अदालतका १५ फौजदारीमध्ये ८ फछ्र्योट भइसकेको सूचना अधिकारी पनेरुले जानकारी दिए । उनका अनुसार सवारी ज्यान ३, पशुपक्षीसम्बन्धी १, अंगभंग २, कर्तव्य ज्यान १ र सरकारी छाप किर्ते मुद्दाको अदालतबाट किनारा लागेको छ । अदालतमा लिखतसम्बन्धी १, करणी गरी ज्यान १, डाँकाचोरी १, चोरी १, जालसाजी १, जबर्जस्ती करणी १ र सरकारी छाप किर्ते १ फर्छोट हुन बाँकी छन् ।
मुस्ताङ अदालतले वडा कार्यालयले गरिब तथा विपन्न वर्गमा सूचीकृत गरी सिफारिस गरेको अवस्थामा ती व्यक्तिको मुद्दा अदालतमा रहेका वैतनिक वकिलबाट निःशुल्क हेरिदिने व्यवस्था रहेको जनाएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया