असहमति

मेयर साब ! त्यसो भए प्लस टुमा प्रवेश परीक्षा किन ?

रामकृष्ण ज्ञवाली २०८० चैत २० गते १०:१४

पोखरा महानगरपालिकाले गत वर्ष एसइई दिएर बसेका विद्यार्थी लक्षित ब्रिजकोर्स एकाएक बन्द गर्ने फैसला सुनायो । महानगर अन्तरगतको शिक्षा समितिका नाममा जारी गरिएको उर्दीमा ‘कहीँ कतै कसैले ब्रिजकोर्सका नाममा कक्षा सञ्चालन गरेको पाइए कारबाही गर्ने’ उल्लेख थियो । पढ्न, पढाउन पाउने व्यक्तिको मौलिक अधिकार हनन् गरिएको यो उर्दी मलाई चित्त बुुझेको थिएन । तर नवनिर्वाचित मेयरले गरेको ‘क्रान्तिकारी निर्णय’को विरोध गरिनँ ।


शिक्षामा व्यापारीकरण भयो, ब्रिजकोर्सका नाममा चर्को शुल्क असुलेर ठगी भयो भनेर महानगरको निर्णयमा वाहवाही गरेकाहरुसँग प्रतिवाद गर्ने हिम्मत नभएर चुपचाप रहेको होइन । महानगरले साँच्चीकै शिक्षा सुधारको अभियान सञ्चालन गर्न थालेको हो कि भनेर विरोध नगरेको हुँ । यसपटक पनि महानगरको शिक्षा समितिले उस्तै उर्दी जारी गरेको छ । यसपटकको उर्दीमा त गत वर्ष केही विद्यालयले भित्रभित्रै ब्रिजकोर्स सञ्चालन गरेको भन्दै निरीहतासमेत प्रकट गरिएको छ । अनि यसपटक चुप लाग्न सकिनँ ।


ब्रिजकोर्सका बारेमा पछि चर्चा गरौंला । मेयर साब र शिक्षा समितिलाई प्रश्न, कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा किन ? मेरो अपेक्षा थियो, अघिल्लो वर्ष प्रवेश परीक्षाको तयारी गर्न प्रतिबन्ध लगाउने महानगरले यस वर्ष प्रवेश परीक्षा लिनै प्रतिबन्ध लगाउनेछ । तर त्यसो भएन, यस वर्ष पनि परीक्षा दिने विद्यार्थीलाई तयारी गर्न प्रतिबन्ध लगाइयो । तपाईंले एसइईमा विद्यार्थीले ल्याएको परिणाम अर्थात मार्कलाई अविश्वास गरेर भर्नाका लागि परीक्षा दिन बाध्य पार्नु हुन्छ, तर त्यही परीक्षाको तयारी गर्न रोक लगाउनु हुन्छ । यो कस्तो सुधार हो ?

Advertisement


राज्यले ठूलो बजेट खर्चेेर, सुरक्षाकर्मी मात्र नभएर स्वतन्त्र अनुगमनकर्ताहरु समेतलाई खटाएर लिइएको परीक्षाको परिणामप्रति प्लस टुका सञ्चालकलाई अविश्वास छ । त्यसैले उनीहरुले विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षा लिन्छन् । राज्यका निकाय निरीह छन् । विद्यालय सञ्चालकले आफ्नै तजबिजले लिने परीक्षा र प्रकाशन गर्ने परिणामलाई स्वीकार गर्छन् ।

विद्यालयले लिने प्रवेश परीक्षाको वैधता के हो ? ती प्रवेश परीक्षामा सोधिने प्रश्नपत्र कसले तयारी गर्छ ? उनीहरुले गल्ती गर्दैनन्, निष्पक्षरुपमा परीक्षा लिन्छन् र परीक्षाफल प्रकाशन गर्छन् भन्ने आधार के हो ? मेरो बच्चाले राम्रो लेखेको थियो तर फेल गराइयो भने उजुरी दिन जाने निकाय कुन हो ? सुनुवाइ कहाँ हुन्छ ? यी प्रश्नलाई नजरन्दाज गरिएको छ ।

Advertisement


एसइईमा ए प्लस स्कोर ल्याएर विद्यालय, घरपरिवारमा उत्सव मनाएको विद्यार्थीलाई ११ कक्षाको प्रवेश परीक्षामा अनुत्तीर्ण गराउने र सी प्लस स्कोर ल्याएर पास हुने विद्यार्थीलाई उत्तीर्ण गराउने अधिकार प्लस टु सञ्चालकलाई दिइएको छ । एउटै कक्षाका फस्ट गर्ल र औसत अंक ल्याएर पास हुने विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुन्छन् । प्लस टु व्यवस्थापनले फस्टगर्ललाई अनुत्तीर्ण गराएर त्यो लद्दुराम विद्यार्थीलाई पास गराउन पनि सक्छ । यसो हुँदा फस्टगर्लको मानसिक स्वास्थ्यमा के असर गर्ला ? यसको जवाफदेही को हो ?

जहिलेसम्म प्रवेश परीक्षा नलिई विद्यार्थी भर्ना गर्ने विधि तय गरिँदैन, तहिलेसम्म परीक्षाको तयारी गर्न प्रतिबन्ध लगाउन मिल्दैन


मैले यी प्रश्न कक्षा ११ को सम्पूर्ण प्रवेश परीक्षा लिने प्रणाली गलत छ भनेर गर्न खोजेको चाहिँ होइन । विद्यार्थीले विश्वास गरेका र राम्रो नतिजा दिन सकेका विद्यालयप्रति स्वाभाविक रुपमा आकर्षण छ । उनीहरुले आफ्नो क्षमताभन्दा बढी विद्यार्थी पढाउन सक्ने अवस्था छैन । धेरै आकांक्षीबाट आवश्यक विद्यार्थी छान्न परीक्षा लिनै पर्ने हुन्छ । राज्यले अन्य कुनै विधि तय नगरेसम्म प्रवेश परीक्षा लिनुदिनुको विकल्प छैन । यसलाई विश्वसनीय र भरोसायोग्य बनाउने सम्बन्धित विद्यालयको कर्तव्य हो । तर माथिका प्रश्नबाट सधैभरि भाग्न पाइँदैन ।


फेरि ब्रिजकोर्सकै कुरा


जब परीक्षा लिइन्छ भने परीक्षाको तयारी गर्न पनि दिइनुपर्छ । ट्युसन होस् वा अन्य केही, पढ्न पाउनु विद्यार्थीको नैसर्गिक अधिकार हो । पोखरा महानगर पालिकालाई ‘ब्रिजकोर्सका नाममा मोटो रकम असुलेर ठगी गरेको’ भन्ने लागेको छ भने शुल्क निर्धारण गर्न सक्छ । एउटा कक्षा कोठामा राखिने विद्यार्थीको संख्या तोक्न सक्छ । ब्रिजकोर्सको सेलेबसको बारेमा छलफल चलाउन सक्छ । तर परीक्षाको तयारी गर्ने विद्यार्थीलाई पढ्न पाउँदैनस् भन्न चाहिँ पाइँदै पाइँदैन ।


देशका अन्य भागमा ब्रिजकोर्सको पढाइ भइरहेकै छ । गत वर्ष पोखरामा ब्रिजकोर्स बन्द गरिएपछि कतिपय अभिभावकले आफ्ना सन्तानलाई पोखरा बाहिर पठाए । कतिपय विद्यार्थी चितवन गएर पढे । हुनेखानेले घरमै शिक्षक बोलाएर पढाए । आसपासका कैयौं विद्यार्थी पोखरा सहर नाघेर काठमाडौं पुगे ।


यस वर्षको एसइईमा देशभरबाट ५ लाख भन्दा बढी विद्यार्थी सहभागी छन् । तीमध्ये गण्डकी प्रदेशबाट परीक्षा दिनेको संख्या ४० हजारको हाराहारीमा छ । कास्की जिल्लाबाट करिब १० हजार १७४ जनामात्र । पोखरामा थोरै विद्यार्थी भएकै कारण विगतका वर्षहरुमा विद्यार्थी नपाएर कैयौं प्लस टु कलेजहरु बन्द भएका छन् भने अधिकांशले क्षमताभन्दा निकै थोरै विद्यार्थी भर्ना लिएर जेनतेन कक्षा सञ्चालन गरेका छन् । आगामी दिनमा पनि यस्तै हालत हुने हो भने कक्षा सञ्चालन गर्न सकिँदैन भन्ने विद्यालयको संख्या उल्लेख्य छ ।


पोखरा प्रदेशको राजधानी हो । पोखरालाई पर्यटनको मात्र नभएर शिक्षा र स्वास्थ्यको सहरका रुपमा पनि विकास गर्ने लक्ष्य पोखरा महानगरपालिकाले पनि लिएकै छ । पोखरालाई शिक्षाको सहरको रुपमा विकास गर्ने लक्ष्य पूरा गर्न पोखरामा गुणस्तरीय शैक्षिक सस्था स्थापना गर्नुका साथै देशैभरबाट विद्यार्थीहरु आकर्षित गर्नैपर्छ । पोखराको भौगोलिक वातावरण शिक्षाका लागि उपयुक्त छ । शैक्षिक वातावरण पनि आकर्षक बनाउनु पोखराको जिम्मेवारी हो । महँगो सहरका रुपमा परिचित पोखराका भैंसी पनि अंग्रेजी बोल्छ भन्ने मानक स्थापित छ । वरिपरि गाउँ नै गाउँले घेरेको पोखरालाई गाउँकै मान्छेको प्रिय गन्तव्य बनाउन यस्ता भ्रम र मानक परिवर्तन गर्नु आवश्यक छ ।


यहाँ कुरा २/४ हजार रुपैयाँको मात्र होइन । गाउँका विद्यार्थी सिधै पोखरा आएर पोखराका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न हच्किन्छन् । त्यसैले कम्तीमा पोखराकै विद्यार्थीसँग ब्रिजकोर्समा सहभागी हुन पाए भने उनीहरुको आत्मबल बढ्छ । यहाँका प्लस टु हरुमा सोधिने प्रश्न र दिइने उत्तरका बारेमा चर्चा गर्न पाए भने प्रवेश परीक्षाको भूतबाट तर्सनुपर्दैन । पोखरामै पढेका विद्यार्थीसँगको अन्तत्र्रिmया र हिमचिमले गाउँका विद्यार्थीलाई पनि आफ्नो क्षमतामाथि भरोसा बढाउँछ । त्यसैले पढन चाहनेले पोखरामै ब्रिजकोर्स पढ्न पाउनुपर्छ ।


ब्रिजकोर्स अनिवार्य होइन । ब्रिजकोर्स नपढ्नेले प्रवेश परीक्षा दिन नपाउने भन्ने छैन । फेरि भन्छु, जब परीक्षा लिइन्छ भने त्यसको तयारी गर्न दिनुपर्छ । तयारी गर्न दिइँदैन भने प्रवेश परीक्षा किन ? मेयर साब ! जहिलेसम्म प्रवेश परीक्षा नलिइकन विद्यार्थी भर्ना गर्ने विधि तय गरिँदैन, तहिलेसम्म परीक्षाको तयारी गर्न प्रतिबन्ध लगाउन मिल्दैन ।

रामकृष्ण ज्ञवाली

ज्ञवाली  समाधान दैनिक र समाधानन्युज डटकमका प्रधान सम्पादक हुन् ।

तपाईको प्रतिक्रिया