वर्गीय आधारमा आरक्षण माग

समाधान संवाददाता २०८० चैत २० गते १३:१४

पोखरा ।
क्षत्री समाज नेपालले जात विशेषभन्दा वर्गीय रुपमा आरक्षणको व्यवस्था गर्न माग गरेको छ । जातीय जनसंख्याको आधारमा राज्यका निकायमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न समाजका अध्यक्ष प्राडा दिलबहादुर क्षत्रीले माग गरे ।


क्षत्री समाज नेपालको चैत २५ र २६ गते तनहुँको दमौलीमा हुन लागेको चौथो केन्द्रीय महाधिवेशनको सन्दर्भमा सोमबार पोखरामा भएको कार्यक्रममा अध्यक्ष क्षत्रीले सबै जातभित्र वर्ग भएको परिप्रेक्ष्यमा हुँदा खाने वर्गलाई आरक्षणको व्यवस्था गर्नुपर्ने बताए । ‘देशलाई कुनै पनि जातीय आधारमा वर्गीकरण गरिनु हुँदैन,’ उनले भने, ‘जात विशेषको भन्दा वर्गीय आधारमा आरक्षणको व्यवस्था गरे वैज्ञानिक र व्यवस्थित हुन्छ ।’ उनले आरक्षणलाई वर्गीय बनाउन माग गर्दै आएको स्मरण गराए ।


अध्यक्ष क्षत्रीले वर्गीय पक्षधरता अंगालेको पार्टीले समेत हुने खाने पक्षको वकालत गरेको आरोप लगाए । उनले राज्यका निकाय संवेदनशील भए जातीय समानताको आधारमा विकास हुने तर्क गरे । नेपालका जातिहरुमा सबैभन्दा बढी जनसंख्या क्षत्रीको भएको भएको दाबी गर्दै उनले समाजले राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि काम गरेको जनाए ।

Advertisement

देशलाई कुनै पनि जातीय आधारमा वर्गीकरण गरिनु हुँदैन । वर्गीय आधारमा आरक्षणको व्यवस्था गरे वैज्ञानिक र व्यवस्थित हुन्छ ।
प्राडा दिलबहादुर क्षत्री


नेपालका सबै जातजातिबीच एकता र आत्मीयताको सम्बन्धलाई मजबुद बनाउन समाजको योगदान रहेको उल्लेख गर्दै उनले राष्ट्र विरोधी नागरिकता विधेयकका बिरुद्ध सरकार र राजनीतिक दललाई खबरदारी गरेको स्मरण गराए । संविधान सभाले खस आर्यलाई अन्यमा राखेर पहिचान मेटाउने काम भएको आरोप लगाउँदै उनले २०६९ जेठ १४ गते ब्राम्हण ठकुरी र दशनामी समाज लगायतको सयुक्त संघर्ष समितिको आन्दोलनले खस आर्यको पहिचान प्राप्त गर्न सफल भएको उनको भनाइ छ ।

Advertisement


समाजका महासचिव केशबहादुर केसीले महाधिवेशन गर्नका लागि केन्द्रीय कार्यसमिति आयोजक समिति रहने गरी स्थानीय रुपमा व्यवस्थापनका लागि तनहुँ जिल्ला समिति मातहत विभिन्न उप–समिति गठन गरिएको जनाए । महाधिवेशन उद्घाटन समारोहमा दमौली बजारमा सरुन नाँच, सांस्कृतिक प्रस्तुति सहितको र्‍याली निकाल्ने कार्यक्रम छ । दमौलीको खुला मैदानमा उद्घाटन समारोह गर्ने जानकारी दिदै उनले क्षत्री समाजको बहुउद्देश्यीय भवनमा हुने बन्दसत्रले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने बताए ।


समाजका उपाध्यक्ष कृष्ण थापाले महाधिवेशनमा ४ सय प्रतिनिधिले भाग लिने जनाए । उनले प्रतिनिधि शुल्क तोकेर अधिवेशन गर्न लागेको सुनाए ।


‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि क्षत्री एकता आजको आवश्यकता’ भन्ने नारासहित २०५३ मा स्थापना भएको समाजले पोखरामा केन्द्रीय कार्यालय खोलेर गतिविधि अगाडि बढाएको छ । केन्द्रीय कार्यालयमा बहुउद्देश्यीय खस संग्रहालय निर्माणका अलवा २० भन्दा बढी जिल्लामा समाजघर निर्माण गरेको छ ।

तपाईको प्रतिक्रिया