सम्पादकीयः बाइक मोडिफाइड गर्नेलाई मुद्दा

पोखरामा मोटरसाइकलको वास्तविक स्वरुप परिवर्तन गर्नेहरु अचाक्ली छन् । एकातिर स्वरुप बिगार्ने र अर्काेतिर चर्काे ध्वनि प्रदूषण गर्ने प्रवृत्तिले पोखराको सौन्दर्यमा धावा बोलेको छ । ध्वनि प्रदूषण सँगै तिनै स्वरुप परिवर्तित मोटरसाइकलले दुर्घटना पनि गराउने गरेका छन् । चर्काे न चर्काे आवाजमा सहर बजारभित्रै मोटरसाइकल हुइँक्याउने र दुनियाँलाई तर्साउने काम आफैमा अपराध हो । त्यस्ता मोटरसाइकल चालकलाई समात्ने र जरिवाना लगाउने काम त हुँदै आएको थियो । तर जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन थापाले भने भिन्न किसिमले अभियान थालेर स्वरुप बिगार्ने र ध्वनि प्रदूषण गराउनेलाई कारबाही थालेका छन् । उनको अभियान स्वागतयोग्यमात्रै होइन प्रशंसनीय पनि छ ।
पहिलो त मोटरसाइकल मोडिफाई गर्ने अर्थात स्वरुप परिवर्तन गर्नेलाई समात्ने र कारबाही गर्नेमात्रै हुँदा त्यो विकृति अन्त्य हुँदैनथ्यो, भएको थिएन । त्यस्तो गर्न सघाउने वर्कसप खासमा मुख्य मतियार हुन् । तिनलाई नै कारबाहीको दायरामा ल्याएपछि स्वरुप परिवर्तन गराइदिने प्राविधिक भेट्न मुस्किल पथ्र्याे । वर्कसप र प्राविधिकमाथिको कारबाहीलाई पक्कै पनि मोटरसाइकलको स्वरुप परिवर्तनलाई निरुत्साहित गर्छ ।
अर्काे त्यसो गर्नेलाई पक्रेर हिरासतमै थुन्ने र मुद्दा पनि चलाउने जुन कुरा त, त्यो ध्वनि प्रदूषक मोटरसाइकल नियन्त्रणमा महत्वपूर्ण कदम हुन्छ । त्यसो त मोटरसाइकल वा जुनसुकै सवारी साधन कारखानाबाट आएको भन्दा भिन्न स्वरुपमा आफैले ढाल्नै पाइन्न । कारखानाले विभिन्न वैज्ञानिक परीक्षणबाट नै त्यसको आकार प्रकार निर्धारण गरेको हुन्छ । इन्जिनियरहरुको लामो अनुसन्धान र परीक्षणबाट सुरक्षित साधनको स्वरुप बनाइन्छ ।
तर मनलाग्दी र आफूखुसी जसले पायो, त्यसले त्यसलाई बिगार्दा दुर्घटनाको जोखिम हुन्छ नै । पोखरामा त मोडिफाईवाला मोटरसाइकलले दुनियाँलाई सास्ती र हैरानी दिएका छन् । कानको जाली नै फुट्लाजस्तो कर्कस ध्वनि निकाल्ने, गुड्दागुड्दै आगोका झिल्का निकाल्ने जस्ता अमानवीय र आपराधिक कर्म गर्दै आएका छन् । शान्ति र सुरक्षाको दायित्व बोकेको प्रहरीले त्यस्तो अपराध कर्म नियन्त्रण गर्नैपर्छ ।
मोटरसाइकल स्वरुप परिवर्तन र ध्वनि प्रदूषण गर्न हुन्न भनेर चालकहरु, वर्कसप र पाटपुर्जा बिक्रेताहरुहलाई सचेत बनाउने जुन अभियान छ, त्यसो सह्रानीय छ । जुन वर्कसपले मोटरसाइकलको स्वरुप बिगार्छ त्यसका सञ्चालक र प्राविधिकलाई समेत मुद्दा चलाउने र पटकपटक अपराध दोहोर्याए व्यवसाय दर्ता नै खारेज गर्नुपर्छ । सभ्य सहरमा ध्वनि प्रदूषण हुँदैन । सुसंस्कृत नागरिकले अरुलाई दुख दिँदैन । पोखराको यातायात व्यवस्थामा त्यही सन्देश दिने अभियान जुन थालिएको छ, यो सफल हुनै पर्छ । सफल बनाउन प्रहरी एक्लैले सक्दैन, सरोकारवाला र सबैले साथ दिनुपर्छ ।
तपाईको प्रतिक्रिया