५९८ जना मुस्ताङीलाई सीमापार पास

उपल्लो मुस्ताङमा पहिलो र दोस्रो चरण गरी १५ सय २० जनालाई सीमापार पास वितरण

समाधान संवाददाता २०८० चैत २८ गते १६:३५

सुन्दरकुमार थकाली
जोमसोम

Advertisement


मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसहितको कर्मचारी टोली उपल्लो मुस्ताङमा सीमापार पास वितरण गरेको छ । चीन जाने (नेचुङ—लिजी) कोरलानाकाका लागि मुस्ताङका प्रमुख जिल्ला अधिकारी पन्तले ५९८ जना नागरिकलाई शुक्रबार र शनिबारका दिन प्रस्थान अनुमतिपत्र सीमापार पास वितरण गरेका हुन् ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणपछि गत कार्तिक २७ गते औपचारिक रूपमा नेपाल—चीन कोरलानाका खुला भएको हो । त्यसअघि गृह मन्त्रालयको नमुना ढाँचामा जिल्ला प्रशासन कार्यालय मुस्ताङले उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकहरुलाई प्रस्थान अनुमतिपत्र सीमापार पास वितरण गरेको थियो । त्यस समय जिल्ला प्रशासन कार्यालय मुस्ताङले लोमान्थाङ गाउँपालिकामा ५७७ जना र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ३८५ जना गरी ९६२ जनालाई प्रस्थान अनुमतिपत्र सीमापार पास वितरण गरेको थियो ।


हिउँदयामको मौसममा सीमानाका खुलाउन भएको र त्यसअघि सीमापार पास वितरण गरिएकाले उपल्लो मुस्ताङका धेरैजसो नागरिकले चीन जाने कोरलानाकाको पास पाउन वञ्चित भएका थिए । हिउँदयामको समयमा चिसो र हिमपात छल्न बेसी झरेका नागरिकहरु जिल्लामा नहुँदा मुस्ताङ प्रशासनले सीमापार वितरण गर्न सकेको थिएन ।


हिउँदयाम सकिएर गर्मीयाम सुरु भएसँगै उपल्लो मुस्ताङको पालिका र स्थानीय नागरिकहरुको माग अनुसार मुस्ताङ प्रशासनले दोस्रो चरणमा सीमापार पास वितरण गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

Advertisement


नेचुङ—लिजी कोरलानाकाका लागि प्रस्थान अनुमतिपत्र वितरणका लागि प्रजिअ पन्तसहितको टोली उपल्लो मुस्ताङ पुगेको थियो । टोलीले लोघेकर दामोदरकुण्ड गाउँपालिका कार्यालय चराङ र ईलाका प्रशासन कार्यालय लोमान्थाङबाट प्रस्थान अनुमतिपत्र पास वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारी पन्तले लोघेकर दामोदरकुण्ड गाउँपालिकामा २४० जना र लोमान्थाङ गाउँपालिकामा २५८ जनालाई चीन जानका लागि सीमापार पास वितरण गरेका हुन् । योसँगै उपल्लो मुस्ताङमा पहिलो र दोस्रो चरण गरी १५ सय २० जनालाई सीमापार पास वितरण भइसकेको प्रजिअ पन्तले जानकारी दिए ।


पास वितरण गर्न जिल्ला प्रशासन कार्यालयबाट प्रजिअ टोलीसहित ७ जनाको टोली उपल्लो मुस्ताङ पुगेको थियो । टोलीमा कम्प्युटर अपरेटर २ जना, खरिदार १ जना, सुब्बा १ जना र १ जना कार्यालय सहयोगी खटिएका थिए ।


उपल्लो मुस्ताङका नागरिकका लागि नेपाल—चीन कोरलानाका यसपटक बाह्रै महिना खुल्ला गरिएको हो । त्यसअघि नेपाल—चीन कोरलानाका उपल्लो मुस्ताङीलाई बर्सेनि असार र भदौमा क्षणिक समयका लागि अल्पकालीन व्यापार मेला सञ्चालन गर्ने गरिन्थ्यो । कोरना कहरले लगातार ३ वर्षसम्म पुरै बन्द रहेको कोरलानाका यस वर्षदेखि खुल्ला गरिएको हो । कोरलानाका बाह्रै महिना खुला भएसँगै उपल्लो मुस्ताङी नागरिकलाई चीनको लिजी बजार पुगेर दैनिक उपभोग्य सामग्री खरिद गर्न सहयोग भएको हो ।


चीनको तिब्बती बजारमा पुगेर उपल्लो मुस्ताङीले खाद्यान्न, लत्ताकपडा, कस्मेटिक सामान, किराना सामाग्री र कृषि उपकरणहरु किनेर ल्याउन सजिलो भएको छ । उपल्लो मुस्ताङीले भने कृषि उत्पादन सामग्री, पस्मिना र यार्सागुम्बा लगायतको व्यापार गर्छन् । नेपाल—चीन कोरलानाका कात्तिक २७ गतेदेखि खुला भएसँगै उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—२ छोसेरमा रहेको निस्क्रिय रहेको भन्सार कार्यालय पनि सञ्चालनमा छ । योनाकाबाट घरायसी प्रयोजन बाहेक व्यावसायिक हिसाबले चीनबाट सामान आयात गर्नेलाई भन्सार कार्यालयले राजस्व संकलन गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया