घान्द्रुकमा क्लबस्तरीय भलिबलको सेमिफाइनल समीकरण पूरा

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ घान्द्रुकमा जारी ‘पर्यटन महोत्सव’ मा पुरुषतर्फ क्लबस्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । क्लबस्तरीय भलिबल प्रतियोगितामा विधान स्पोर्टस हाउस, तान्ले युवा क्लब, अन्नपूर्ण युवा क्लब र भुका देउराली सेमिफाइनल प्रवेश गर्न सफल भए ।
लिगचरणको खेलमा विधान स्पोर्टस हाउस समूह ए को विजेता र भुका देउराली उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरे । समूह बीतर्फ अन्नपूर्ण युवा क्लब किम्चे र तान्ले युवा क्लब उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरे ।
बिहीबार हुने पहिलो सेमिफाइनलमा विधान स्पोर्टस हाउस र भुका देउरालीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल खेलमा अन्नपूर्ण युवा क्लब किम्चे र तान्ले युवा क्लबबीच प्रतिस्पर्धा हुने महोत्सव संयोजक अमृत लामा गुरुङले जानकारी दिए ।
क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । ¬पुरुष भलिबलतर्फ विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, उदीयमान खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच) पुरस्कृत गरिनेछ ।
यस्तै घोडा दौड प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ र तेस्रो हुनेले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
आज चक्रीय पदमार्ग दौड प्रतियोगिता
घान्द्रुक पर्यटन महोत्सवमा आयोजित चक्रीय पदमार्थ दौड प्रतियोगिता बिहीबार हुने भएको छ । मेश्रेम बराह माविबाट सुरु हुने चक्रिय पदमार्ग वडा नम्बर १० को कार्यालय हुँदै पञ्चे, कोटगाउँ, देउराली, बलाथे पार्क, नब्रुथी बराह मन्दर, कायमा बराह, सात सय घान्दु्रकेले मान्दै आएको ब्रेजे मेश्रे बराह नेगु, चिया बगान, डाडागाउँ, कुमाभ्री, सिल्कु, खोलोभ्रो हुँदै विद्यालयम नजिक जोडिएको छ । यो दुरी ५.५ किमी छ । सोही पदमार्गमा दौड प्रतियोगिता हुनेछ ।
चक्रीय पदमार्ग दौड प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । ठेलो प्रतियोगितातर्फ विजेताले ८ हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । महोत्सवको अवधिमा ह्विलचियर बास्केटबलको समेत प्रदर्शन गरिने छ ।
बास्केटबलतर्फ क्वाटरफाइनलको समीकरण पूरा
महोत्सवको अवसरमा आयोजित खुला क्लबस्तरीय बास्केटबल प्रतियोगितामा क्वाटरफाइनलको समीकरण पूरा भएको छ । बिहीबार हुने पहिलो क्वाटरफाइनलमा दाङ र टाइम्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल आर्मी र घान्द्रुक ‘ए’बीच प्रतिस्पर्धा हुनेछ । तेस्रो खेल मर्दीखोला र घान्द्रुक ‘बी’बीच प्रतिस्पर्धा हुनेछ । क्वाटरफाइनलको अन्तिम खेल सेन्चुरी युवा क्लब र नदीपुरबीच प्रतिस्पर्धा हुनेछ ।
सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । बास्केटबलतर्फ १२ टिमको सहभागिता छ ।
सो महोत्सवको हरेक बेलुकी विभिन्न जातिका प्रचलित नृत्य तथा सांगीतिक कार्यक्रमहरु प्रस्तुत हुने संयोजक गुरुङले जानकारी दिए ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई ३० प्रतिशत छुट दिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा चैत २७ देखि ३० गतेसम्म आयोजना गरिएको घान्द्रुक पर्यटन महोत्सवमा पर्यटकहरुलाई ३० प्रतिशत छुट दिएको अध्यक्ष विक्रम गुरुङले बताए ।
घान्द्रुकमा अहिले ७० वटा व्यवस्थित होटल र १७ वटा होमस्टे सञ्चालनमा रहेका छन् । महोत्सवमा जाने पर्यटक तथा दर्शकलाई घान्द्रुकमा उत्पादन हुने खाद्यान्न र संस्कार, संस्कृतिसँगै प्रतियोगिताबाट मनोरञ्जन दिने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया