पर्यटकीय गन्तव्य खोजिँदै

समाधान संवाददाता २०८० चैत ३० गते १६:०८

पोखरा ।

Advertisement


नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रवद्र्धनमा तीन दिने गन्तव्य पहिचान एवं प्रवद्र्धन कार्यक्रम भएको छ ।


पर्यटन व्यवसायी, सञ्चारकर्मी सहितको १९ सदस्यीय टोलीले तीन दिने कार्यक्रमका साथ २४ गते शनिबारदेखि २६ सोमबारसम्म गन्तव्य पहिचान एवम् प्रवद्र्धन यात्रा गरेको हो । बागलुङ हुँदै कालीगण्डकी करिडोरबाट नवलपुरसम्मको यात्रा गरेको टोली फर्कदा दलदलेबाट डेढगाउँ भिमादको बाटो पोखरा आएको थियो ।

Advertisement


कार्यक्रमको अवसरमा बाग्लुङ र नवलपुरका धार्मिक पर्यटकीय गन्तव्यको पहिचानसँगै तिनीहरूको पर्यटकीय उपयोगका लागि सरोकारवालासँग छलफल एवं अन्तरक्रिया गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिए । न्यस अवसरमा बाग्लुङको जैमिनी नगरपालिकाकाको स्थानीय संयोजन एवं सहयोगमा जैमिनी ऋषिले तपस्या गरेको जैमिनी धामको अवलोकनका साथै उक्त नगरपालिका भित्र रहेका पर्यटकीय गन्तव्यका सम्बन्धमा सरोकारवालबीच छलफल गरिएको कार्यक्रम संयोजक एवम् नाट्टा गण्डकी प्रदेशका द्वितीय उपाध्यक्ष कमला गिरीले जानकारी जनाए ।


जैमिनी नगरपालिकामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापा, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा लगायतले जैमिनी नगरपालिका क्षेत्रमा भएका पर्यटकीय गन्तव्यलाई पर्यटकीय रुपमा उपयोग गरिने उल्लेख गरे ।

Advertisement

गन्तव्य छान्न पर्यटन व्यवसायी र सञ्चारकर्मीको टोली बागलुङ हुँदै कालीगण्डकी करिडोरबाट नवलपुर पुगी दलदलेबाट डेढगाउँ हुँदै भिमादको बाटो पोखरा आएको छ

टोलीले नवलपुरस्थित गजेन्द्र मोक्षधाममा गरेको कार्यक्रममा गजेन्द्र मोक्षधाम धार्मिक पर्यटकीय स्थल विकास समितिका अध्यक्ष कृष्णप्रपन्नाचार्य, धामका प्रमुख कार्यकारी अधिकृत झपेन्द्र भुषाल, विनय त्रिवेणी नगरपालिकाका प्रमुख घनश्याम गिरी लगायतले त्यहाँका पर्यटकीय सम्भावना उजागरबारे छलफल गरिएको थियो ।


टोलीले वाल्मिकी आश्रममा गरेको स्थलगत अवलोकनमा सीता पाताल प्रवेशस्थलका पुजारी शेखर सुवेदी, मुख्य मन्दिरका पुजारी रामशरण गिरी लगायतले नेपाल सरकारले यस धार्मिक सम्पदाको संरक्षण र विकासमा वेवास्था गरेको भन्दै दुःख व्यक्त गरेका थिए । प्रिप्रहर सामुदायिक होमस्टेमा आयोजित कार्यकममा देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने, पिप्रहर सामुदायिक होमस्टे ग्रामका अध्यक्ष चन्द्रमाया महत, रजहर सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनोद पौडेल लगायतले बोलेका थिए । कार्यक्रमका अवसरमा धार्मिक पर्यटकीय सम्भावना, घरवास आदि सम्बन्धमा सरोकारवालाबीच छलफल एवम् अन्तरक्रिया गरिएको नाट्टा गण्डकी प्रदेशका महासचिव संगीता पौडेलले जानकारी दिइन् ।


टोलीलाई स्वास्थ्य जीवनशैली लगायतका विषयमा डा विनोद पौडेलले प्रशिक्षण दिएका थिए भने वनसफारी गर्दै त्यहाँका विविध सम्भावनाबारे टोलीले बुझेको थियो । गन्तव्य पहिचान एवं प्रवद्र्धन कार्यक्रमले यस क्षेत्रको पर्यटकीय सम्भावना, चुनौति लगायतका विषयमा जानकारी प्राप्त भएको नाट्टा गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले सुनाए ।

पोखरा पर्यटन राजधानी घोषणा भइसकेको अवस्थामा आसपासका पर्यटकीय गन्तव्यको पहिचान एवम् प्रवद्र्धन जरुरी रहेको बताउँदै उनले यस किसिमका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया