भारतीय मुर्रा हुर्किए

पोखरा ।
गएको कात्तिक दोस्रो साता नेपाल ल्याइएका भारतीय मुर्रा राँगाहरुको विषयले सदनदेखि चिया पसलसम्म चर्चा पायो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका बेला सम्झौता भई भारत सरकारले उपचारमा दिएका १५ राँगामध्ये ७ वटा अहिले पोखरा छन् ।
पोखरासहित देशमा तीन ठाउँमै रहेका भारतीय मुर्राहरु नेपाली भूगोलमा अनुकूलन गर्दै हुर्किएका छन् । यसरी हुर्किएका राँगहरुबाट विर्य (सिमेन) संकलन सुरु भएको छ । राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा ल्याइएका ७ राँगामध्ये ३ वटाबाट सिमेन संकलन सुरु भइसकेको छ ।
बाँकी ४ वटा राँगासमेत सिमेन संकलनअघि आवश्यक पर्ने तालिममा छन् । कार्यालय प्रमुख डा जगदीश पाण्डे भारतबाट ल्याइएका सबै मुर्राको अवस्था राम्रो भएको बताउँछन् । उनी भन्छन्, ‘३ वटाबाट सिमेन जम्मा गर्न थालिसकेका छौँ, चार वटा तालिममा छन् । तालिममा रहेकाहरुबाट पनि बैशाख दोस्रो सातासम्म सिमेन संकलन सुरु हुने अपेक्षा छ ।’
यसरी सिमेन संकलन भइसकेपछि चाँडैमा जेठ पहिलो साता र ढिलोमा साउनबाट सिमेन वितरण थाल्ने केन्द्रको योजना छ । पोखरामा करिब १ हजार ५ सय डोज सिमेन संकलन भइसकेको छ । यसरी संकलन गरिएको सिमेन माइनस १ सय ९६ डिग्री सेल्सियसको तरल नाइट्रोजनमा राख्नुपर्छ ।
देशैभरिका भेटेरिनरी कार्यालयमार्फत भैंसीको नश्ल सुधारका लागि मुर्राको सिमेन वितरण गर्ने तयारी छ । भारतले नेपाललाई उपहार दिएका १५ उन्नत जातका मुर्रा राँगामाध्ये ३ वटा लहान र ५ वटा नेपालगञ्जमा छन् । राष्ट्रिय पशु प्रजनन केन्द्र नेपालगञ्जमा रहेका २ मुर्राबाट सिमेन संकलन सुरु भइसकेको छ भने बाँकी अर्काे तालिममा छन् ।
भारतले उपहारमा दिएका मुर्रा राँगाहरुबाट सिमेन संकलन सुरु भइसकेको छ । पोखरा ल्याइएका ७ राँगा तरोताजा छन् ।
केन्द्र प्रमुख डा खगेन्द्रराज सापकोटाले चैतबाट सिमेन जम्मा गर्न थालिएको जनाउँदै ५ सय डोज भन्दा बढी जम्मा भइसकेको जानकारी दिए । राष्ट्रिय पशु प्रजनन केन्द्र लहानमा रहेका तीन वटै राँगा अहिले तालिममा छन् ।
पोखरामा हप्तामा २ पटक सोमबार र बिहीबार सिमेन जम्मा गर्ने गरिएको छ । यहाँ अहिले भारतबाट ल्याइएका ७ सहित १८ मुुर्रा राँगाबाट सिमेन संकलन भइरहेको राँगा साँढे व्यवस्थापन साँखाका पशु प्राविधिक भोजबहादुुर थापाले बताए ।
सामान्यतया अब ७ वर्षसम्म यी राँगाबाट स्वस्थ विर्य निकाल्न मिल्ने पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा पाण्डे बताउँछन् । एउटा राँगाबाट वार्षिक १५ देखि २० हजार डोज सिमेन उत्पादन हुन्छ । यी राँगाको सिमेनबाट कृत्रिम गर्भाधान र प्राकृतिक तवरले पनि नश्ल सुधार गरी दूध उत्पादन बढाउने योजना छ ।
मुर्रा धेरै दूध दिने जातको भैँसी हो । नेपाली रैथाने भैंसीले एक बेतमा १ हजार ५ सय लिटर हाराहारी दूध दिन्छन् । मुर्रा भैंसीले भने बेतमा ४ हजारदेखि ५ हजार लिटरसम्म दूध दिने केन्द्रका वरिष्ठ पशु विकास अधिकृत भरतराज गौतम बताउँछन् । भारतीय मुर्राबाट दुई तवरले नश्ल सुधार गर्ने योजना छ । एकातिर कृत्रिम गर्भाधानका लागि सिमेन देशैभर बाँडिनेर अर्कातिर पछि राँगा नै वितरण गर्ने केन्द्रको योजना छ ।
गौतम भन्छन्, ‘यसरी उन्नत जातका राँगा, साँढे ल्याउनुको मुख्य उद्देश्य नश्ल सुधार नै हो । मुर्राबाट एकातिर नश्ल सुधार भई अर्काे पुस्ताबाट दूध धेरै आउँछ भने तौलसमेत धेरै हुने हुँदा मासुकै लागि पनि फाइदा हुन्छ ।’ भारतीय मुर्रा अहिले नेपालमा रहेका मुर्राबाट बढी दूध दिने जातिमा पर्छन् ।
नेपालमा कुल १० लाख डोज सिमेन उत्पादन हुने जानकारहरु बताउँछन् । तर, कृत्रिम गर्भाधान भने करिब ८ लाख पशुमा मात्र हुने गरेको तथ्यांक छ । १ वर्षमा पोखरामा ६ लाख, महेनद्रनगरमा ३ लाख र लाहानमा ५० हजार डोज सिमेन संकलन हुने गरेको छ ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया