बागलुङमा अवैध औषधी बेच्ने २ मेडिकल बन्द

राष्ट्रिय समाचार समिति (रासस) २०८१ वैशाख १० गते १०:२८

ढोरपाटन ।
बागलुङमा अवैध रूपमा औषधी बेच्ने २ मेडिकल हल बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङ र औषधि विभाग काठमाडौँले आज अनुगमन गर्दा अवैध रूपमा औषधि बिक्री–वितरण गर्ने धौलाश्री मेडिकल हल र बुद्ध डेन्टल होम बन्द गरेको हो ।

Advertisement


अनुगमनका क्रममा औषधि व्यवस्था विभागमा दर्ता नभएका, जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने औषधि बेचबिखन गरेको पाइएपछि दुईवटा मेडिकल बन्द गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका नायब सुब्बा रामप्रसाद उपाध्यायले बताए ।

सम्बन्धित व्यवसायीको अनुपस्थितिमा गैरव्यक्तिले अनाधिकृत रूपमा उपचार गरी औषधि बिक्री–वितरण गरेको, विभागमा दर्ता नभएका औषधि भण्डारण गरी बिक्री–वितरण गरेको, लागू मनोद्विपक औषधिको रेकर्ड नराखेको पाइएपछि औषधि जफत गरी तत्कालका लागि मेडिकल बन्द गरिएको उनको भनाइ छ ।

Advertisement


अनुगमनका क्रममा देखिएका कमजोरीका विषयमा ३ दिनभित्र औषधि व्यवस्था विभागमा सम्बन्धित व्यवसायीलाई कारणसहित उपस्थित हुन लिखित रूपमा अनुरोध गरिएको उपाध्यायले सुनाए । अनुगमनका क्रममा अस्पताल रोडको बुद्ध डेन्टल होम पनि बन्द गरिएको छ ।

डेन्टल होम सञ्चालनका लागि आवश्यक पर्ने कागजपत्र फेला नपरेको र सञ्चालकसमेत फेला नपरेकाले ३ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएर डेन्टल होम बन्द गरिएको हो ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया