सत्यनारायणलाई संस्थापक अध्यक्ष घोषणा गर्न माग

समाधान संवाददाता २०८१ वैशाख १० गते १०:३३

पोखरा ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको छ । यो माग पूरा गराउने दबाबमूलक कार्यक्रम अन्तर्गत फोनिजले आइतबार देशव्यापी रुपमा कार्यक्रम गरेको हो ।

Advertisement


नेपाल पत्रकार महासंघले १६ चैत २०८० मा ६९ औं स्थापना दिवस मनाएको छ । फोनिजले सबै प्रदेश र जिल्ला शाखालाई परिपत्र गरी पत्रकार महासंघको ७३ औं स्थापना दिवस मनाएको छ ।

संस्थापक अध्यक्ष श्रेष्ठले ९ वैशाख २००८ सालमा पत्रकार महासंघको स्थापना गरेको सन्दर्भमा आइतबार नेपाल पत्रकार महासंघको ७३ औं स्थापना दिवस र सत्यनारायण बहादुर श्रेष्ठको योगदानको सन्दर्भमा फोनिज संवाद चलाएको छ ।

Advertisement


फोनिज गण्डकी प्रदेश र कास्की जिल्ला शाखाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम फोनिजका संघीय सल्लाहकार हुमबहादुर गुरुङले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष हो हुन् भन्नेबारे यकीन हुनुपर्ने बताए ।

‘पत्रकार महासंघले कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मानेको छ । फोनिजले सप्रमाण सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक अध्यक्ष हो भनेर लबिङ गरेको छ,’ उनले भने, ‘पत्रकार महासंघको संस्थापक अध्यक्ष र स्थापना दिवसलाई एउटै बनाउनु पर्छ ।’ उनले अबको पत्रकार महासंघको महाधिवेशनले त्यसलाई टुगांउनु पर्ने माग गरे ।

Advertisement


उनले सत्यनारायणले २००८साल वैशाख ९ गते पत्रकार संघ स्थापना गरेर २००९ सालमा भोटाहिटीको आर्य समाजको दोस्रो सभा सम्पन्न गरेको दस्तावेज फोनिजले सुरक्षित राखेको जानकारी दिए । सो समितिले लामो समयसम्म निरन्तरता नपाएको जानकारी दिँदै उनले फरक नामको नभएर सोही नामको समिति बनेको सन्दर्भमा सत्यनारायणको समितिले निरन्तरता पाउनु पर्ने माग गरे ।


फोनिजले सप्रमाण पेश गरेको कागजातलाई फर्केर हेरेर समीक्षा गर्न आग्रह गर्दै उनले सत्य, तथ्य बुझेर छिटो टुंगो लगाउन पत्रकार महासंघसँग आग्रह गरे । उनले नेपाल पत्रकार महासंघको साँचो इतिहास लेख्न माग गरे ।


नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनीले पत्रकार महासंघको विधानले कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मानेको जानकारी दिइन् । फोनिजको आवाज र माग जायज भएको उल्लेख गर्दै उनले अनुसन्धान तथ्य प्रमाणले पुष्टि गरे त्यसलाई सबैले मान्नुपर्ने बताइन् । फोनिज गण्डकीका इन्चार्ज एमबी आस्थामगरले सत्यनारायण बहादुर श्रेष्ठ नै संस्थापक अध्यक्ष भएको दस्तावेजले प्रमाणित गर्ने दाबी गर्दै त्यसलाई मानेर अगाडि बढ्न पत्रकार महासंघसँग माग गरे ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगर, नेपाल प्रेस चौतारी केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष श्याम कुँवर, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय समितिका मुख्य सचिव सुजन लामा, फोनिज कास्की अध्यक्ष दिलप्रसाद गुरुङ, फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङ ‘सुमन’ लगायतले संस्थापक अध्यक्षको विषयमा बहस र संवाद अघि बढाएर टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया