बन्ने भयो शिशुवा—सिसाघाट बाटो

समाधान संवाददाता २०८१ वैशाख १३ गते १६:३१

लेखनाथ ।
कास्कीको शिशुवादेखि लमजुङ सिसाघाटसम्मको सडक स्तरोन्नतिका लागि वर्षौंदेखि योजना बने पनि सार्थक रुप नपाउँदा योजनामै सीमित रहेको बाटो भने अब बन्ने पक्का भएको छ ।

Advertisement


पहिलो चरणमा पोखरा महानगरपालिका वडा नम्बर ३० को शिशुवादेखि खुदी खोलाको पुलसम्मको करिब ४ किलोमिटर बाटो बन्ने भएपछि यस क्षेत्रका बासिन्दामा खुसी छाएको हो ।


पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले शिशुवा सिसाघाट सडक खण्डको पहिलो चरणमा हुने शिशुवा चोकदेखि खुदीखोला पुलसम्मको सडक मार्गको बिहीबार शिलन्यास गरे ।

Advertisement


शिशुवा चोकदेखि पूर्व दक्षिण खुदी खोलासम्मको ४.१४ किलोमिटर सडकको शिलान्यास गर्दै प्रमुख आचार्यले सडकको गुणस्तरमा ख्याल गर्न स्थानीय सँग आग्रह गरे । स्थानीयले सडक खण्डमा पर्ने आफ्ना निजी संरचना हटाएर निर्माणमा सहयोग गर्नसमेत उनको अनुरोध थियो ।


प्रमुख आचार्यले दिगो पर्यटन विकासमा टेवा पुग्ने बताउँदै विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको सडक निर्माणमा स्रोतको कुनै कमी नहुने बताए । स्थानीयको साथ र सहयोग रह्यो भने समयमा काम सुरु भई समयमा नै सकिने विश्वास उनले व्यक्त गरेका थिए ।

Advertisement


कार्यक्रममा पोखरा महानगरपालिका इन्जिनियर नेत्रप्रसाद तिमल्सेनाले विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुने सडकको स्टमेट ४८ करोड ९६ लाखमा भए पनि ३० प्रतिशत कमको टेन्डरबाट कूल लागत ३४ करोड ११ लाख २० हजार दुई सय ९५ रुपैयाँ रहने बताएका थिए । सडक नालीसहित १५ मिटर डबल लेन, ७ मिटर सपोट बाटो, १.५ मिटर साइकल ट्र्याक र २.५ मिटर फुट ट्र्याक रहने उनले जानकारी गराएका थिए ।


निर्माण कम्पनी आशिष निर्माण सेवाका प्रतिनिधि इन्जिनियर रोशन गिरीले परामर्श दाताको निर्देशन अनुसार स्थानीयको सहयोगमा निधाररित १४ महिनाभित्रै गुणस्तरीय काम गरेर देखाउने प्रतिवद्धता जाहेर गरेका थिए ।


कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी, वडा नं. २७ का अध्यक्ष पूर्णकुमार गुरुङ, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा लगायतले समय सीमाभित्र बाटो सम्पन्न गर्न स्थानीयको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेका थिए ।

पोखरा महानगरपालिका वडा नम्बर ३० की वडा सदस्य उमा परियारले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन महानगरपालिका इन्जिनियर जगन्नाथ कोइरालाले गरेका थिए ।

तपाईको प्रतिक्रिया