रुसी सेनामा भर्ती भएका तनहुँका ९ युवक सम्पर्कविहीन

तनहुँ।
रुसी सेनामा भर्ती भएका तनहुँका ९ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन् । रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावक लगायतका परिवार चिन्तामा परेका हुन् । ‘रुसी सेनामा भर्ती भएको छोराले सुरुमा चिन्ता नगर्न भनेको थियो,’ एक युवककी आमाले भनिन्, ‘छोरा सम्पर्कविहीन भएपछि शोकले सुत्न पनि सकिएको छैन ।’
रुसी सेनामा भर्ती भएका आफ्ना सन्तानलाई सुरक्षित रुपमा स्वदेश ल्याइदिन पहल गर्न परिवारजनले जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रमा निवेदन परेको केन्द्रका परामर्शदाता गोमा तिवारीले जानकारी दिए ।
रुसी सेनामा व्यासका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका तीन, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक जना गरी नौ युवा सम्पर्कविहीन भएकाले खोजी गरि सकुशल स्वदेश फिर्ता गरि दिन माग गर्दै निवेदन परेको उनले बताए ।
सम्पर्कविहीनहरूको खोजीका लागि कन्सुलर विभागमा व्यक्तिको आवश्यक सम्पूर्ण कागजात पठाइसकिएको केन्द्रले जनाएको छ । विचौलियामार्फत पाँच लाखदेखि छ लाख रूपैयाँसम्म तिरेर ‘भिजिट भिसा’मार्फत रुसी सेनामा भर्ती गराइएकोसमेत परामर्शदाता तिवारीको भनाइ छ ।
केन्द्रका जिल्ला संयोजक लुना रानाले तनहुँबाट अन्य व्यक्तिसमेत रुसी सेनामा भर्ती भएको हुनसक्ने आकलन गरिएको बताए । नेपाल सरकारले रुसी सेनामा भर्ना हुन प्रतिबन्ध लगाएकाले निवेदन दिनेको सङ्ख्या न्यून रहेकोसमेत उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन राहदानी बनाउन आएका सबैलाई अनिवार्य रुपमा परामर्श लिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । वैदेशिक रोजगारीका क्रममा कसैले पनि ठग्न नसकुन् भनेर आफूहरुले अनिवार्य रुपमा परामर्श सेवा सञ्चालन गरेको उनले जानकारी दिए ।
‘रुसी सेनामा भर्ति भएकाको खोजी गरिदिन निवेदन परेको छ,’ प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भने, ‘हामीले आफ्नो स्थानबाट सकुशल फिर्ता गर्न आवश्यक पहल गरेका छौँ, तर राज्यले बन्देज लगाएको र जानकारी नभएका देशहरुमा कसैलाई पनि नजान अनुरोध गरेका छौँ ।’

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया