खास्टेताल किनारमा अक्षरयात्रा

समाधान संवाददाता २०८१ वैशाख १६ गते ११:३२

पोखरा ।
‘जीवन र जगतको यथार्थबोधका लागि अक्षरयात्रा’ भन्ने उद्घोषका साथ अक्षरयात्राको २ सय १० औं शृंखला खास्टेताल किनारमा भएको छ । अक्षरयात्राका परिकल्पनाकारमध्येका एक प्रकट पंगेनी शिवप्रति समर्पित अक्षरयात्रामा उनको योगदानको समेत चर्चा गरियो ।

Advertisement


अक्षरयात्रीहरुले पोखराको रमणीय स्थल खास्टेताल किनार, जेष्ठी बाराही मन्दिर र लेखनाथको प्राकृतिक सौन्दर्यलाई सिर्जनामा अभिव्यक्त गरे । २०६२ असारदेखि निरन्तर सञ्चालन हुँदै आएको अक्षरयात्रको यो शृंखला पोखरा महानगरपालिका वडा नं २६ तथा खास्टेताल टोल विकाश संस्थाको स्थानीय व्यवस्थापनमा भएको हो ।


गजल सन्ध्या पोखराका अध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २६ का अध्यक्ष नरेन्द्र थापाले साहित्यिक व्यक्तित्वहरु उपस्थिति र लेखनले तालको सुन्दरता र प्रचारप्रचारमा इँटा थपिने अपेक्षा गरे । उनले स्वर्गीय प्रकट पंगेनी शिवप्रति सम्मान र सम्झना गर्दै भविष्यमा वडाको सक्रियता र गजल सन्ध्यासँगको सहकार्यमा गजलसँग सम्बन्धित राष्ट्रिय स्तरको कार्यक्रम गर्ने प्रतिबद्धतासमेत जनाए ।


साहित्यकार तीर्थ श्रेष्ठले खाष्टेमा लगाइएको कमल फूलको संरक्षण गर्दै जेष्ठी बाराही मन्दिरका माध्यमले धार्मिक पर्यटनलाई बढाउन सकिने सुनाए । साहित्यकार गणेश पौडेलले स्रष्टाहरुले देशको भाषा, संस्कृति र साहित्यको संरक्षण एवम् विकासका लागि बिभिन्न ठाउँमा गई कार्यक्रम गर्नु प्रशंसनीय भएको विचार राखे ।


नेपाली लेखक संघ गण्डकी अध्यक्ष डा ईश्वरमणि अधिकारी, कवि शिव त्रिपाठी, श्रीराम अधिकारी गोर्जे, प्रेमकुमारी कुइँकेल, ऋषिकेश बराल, निर्मला पौडेल, सावित्री गिरी, वसन्तमोहन भट्टराई, उदीपराज ढुंगाना, स्थानीय हरिप्रसाद अधिकारी, बुद्धिराज अधिकारी, ईश्वरराज भण्डारी लगायतले सिर्जनासहित विचार राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया