हिमाल र मञ्जुलाई दुआथलन उपाधि

पोखरा ।
पोखरामा आइतबार भएको एसिया कप ट्रायथोलन तथा दक्षिण एसियाली च्याम्पियनसिप अन्तर्गतको ‘ओपन दुआथलन’मा पुरुष तथा महिला दुबैमा नेपाली खेलाडी च्याम्पियन बनेका छन् ।
नेपाल ट्रायथलन संघको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन संघको व्यवस्थापनमा पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा दुआथलनको साढे ७ किमी दौड र २० किमी साइक्लिङमा पुरुषतर्फ नेपालका हिमाल टमटा र महिलातर्फ मञ्जुकुमारी खड्का च्याम्पियन बने ।
उपाधि विजेता टमटाले निर्धारित दूरी ५१ मिनेट २४ सेकेण्डमा पूरा गरे । नेपालकै नवराज न्यौपानेले सो दूरी पार गर्न १ घण्टा ३ मिनेट ४७ सेकेण्ड लगाउँदै द्वितीय र लक्ष्मण मल्लले १ घण्टा चर मिनेट ५८ सेकेण्डमा दूरी पार गरी तृतीय बने । विजेता खेलाडीले मेडल र प्रमाणपत्र पुरस्कार पाए ।
पुुरुषतर्फको खुला प्रतिस्पर्धामा नेपाल सहित भारत, बंगलादेश र जर्मनीका गरी ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ ३ खेलाडीमात्र सहभागी थिए । महिला ओपन दुआथलनमा च्याम्पियन बन्न सफल टोलीलाई नै राष्ट्रिय च्याम्पियन घोषणा गरिएको थियो ।
महिलातर्फको ‘ओपन’ तथा राष्ट्रिय च्याम्पियनसिपको उपाधि विजेता खड्काले निर्धारित दूरी १ घण्टा १९ मिनेट ४५ सेकेण्डमा पूरा गरे । पुष्पा रोकायले १ घण्टा २३ मिनेट ३६ सेकेन्डमा दूरी पार गरेर द्धितीय बन्दा प्रमिला धमलाले १ घण्टा २८ मिनेट ३४ सेकेण्डमा सो दूरी पूरा गरी तृतीय बने ।
यसअघि प्रतियोगिता गण्डकी प्रदेशका आर्थिक मामिला तथ योजनामन्त्री हरिबहादुर चुमानले सुरुआत गरेका थिए । विजेता खेलाडीलाई नेपाल ट्रायथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दीपक कोइराला, नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तेजबहादुर गुरुङ, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, ट्रायथलन संघका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटा, स्थानीय व्यवस्थापन समितिका संयोजक डिल्लीराज सुवेदी(शिशिर), पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरे ।
एसिया कप ट्रायथोलन तथा दक्षिण एसियाली च्याम्पियनसिप अन्तर्गतको एसिया कप ट्रायथलनमा पुरुषतर्फ इजिप्टका सिफेलडिन इसमाइ र महिलातर्फ आइसल्याण्डका इडा हानिसडोटिर च्याम्पियन बनेका थिए ।
तपाईको प्रतिक्रिया