जसले भविष्य निर्माण स्कुलको भविष्य कोरे

रवीन्द्र माकाजु २०८१ वैशाख १९ गते १५:४३

आज पोखराको शैक्षिक जगतमा नक्षत्र सेनानी टेकबहादुर रानाभाटको १०७ औं जन्म जयन्ती । कास्की जिल्लामा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरुको नाम लिनुपर्दा प्रधानमन्त्री श्री ३ देवशमशेर, स्वामी नित्यानन्द, सेनानी टेकबहादुर रानाभाट, पं. ऋषिकेशव पराजुलीहरुको नाम श्रद्धापूर्वक लिनुपर्ने हुन्छ ।

Advertisement

पोखराको शैक्षिक इतिहासको चर्चा गर्नुपर्दा राणा प्रधानमन्त्री देवशमशेरले वि.सं. १९५८ सालमा स्थापना गरेको राजकीय संस्कृत प्रधान पाठशाला पोखरा भीमकाली पाटनलाई बिर्सन हुँदैन । कास्कीलाई काशीसरह बनाउनमा यस विद्यालयले महत्वपूर्ण भूमिका खेलेको थियो ।

त्यस्तै , पोखरा बाटुलेचौरका स्वामी नित्यानन्दले पश्चिमाञ्चलमा भाषा पाठशालाको स्थापना र विस्तारमा जुन भूमिका खेले, त्यसलाई इतिहासले पनि बिर्सनु हुँदैन । अहिले अस्तित्वमा रहेका कतिपय विद्यालय, त्यही भाषा पाठशालाको जगमा बनेका छन् । यस्तै भाषा पाठशालाको जगमा उभिएको विद्यालय हो पोखरा महानगरपालिका वडा नं. २१ कृस्ती नाच्नेचौरको भविष्य निर्माण माध्यमिक विद्यालय ।


यो विद्यालयसँग एउटा मीठो कथा जोडिएको छ । विद्यालयका संस्थापकका रूपमा उपसेनानी टेकबहादुर रानाभाटलाई राखिएको छ । यो कसरी सम्भव भयो ? एक सैनिक जसले विद्यालय किन र कुन प्रसंगमा स्थापना गर्न सके ? यो धेरैका मनमा जिज्ञासा आउन सक्छ ।

टेकबहादुर रानाभाटले आफूले पढ्न नपाए पनि गाउँबासी शिक्षाको ज्योतिबाट वञ्चित नहून् भन्ने चाहना राखे । व्यक्तिगत स्वार्थ राखेनन् ।

Advertisement


विद्यालयका संस्थापक रानाभाट कृस्ती नाच्नेचौरमा पिता डम्बरसिंह र माता कौशिलाका गर्भबाट वि.सं. १९७४ वैशाख १९ गते जन्मिएका थिए । उनको बुबा डम्बरसिंहले घरमै गुरु राखेर सन्तानलाई पढाउने व्यवस्था गरेका थिए । वि.सं. १९९५ मा त्यस बेलाको नेपाल (काठमाडौं) गई नेपाली सेनाको गोरखनाथ गणमा भर्ना भएका रानाभाटले त्यस बेला मासिक १२ रूपैयाँ तलब पाउँथे ।


टेकबहादुर लगनशील, मेहनती, इमान्दार भएकाले साथीभाइबीच लोकप्रिय थिए । उनले आफ्नो क्षमता, प्रतिभा बढाउँदै लग्दा तत्कालीन प्रधानमन्त्री श्री ३ पद्यशमशेर राणाको आठ पहरियाभित्र परे । टेकबहादुरले पनि श्री ३ महाराजसँगै आफ्नो जन्मभूमि कृस्ती (हालः पोखरा २१) टेक्ने मौका पाए । टेकबहादुरका बोली, वचन, व्यवहारबाट प्रभावित भएर श्री ३ पद्यशमशेरले भने– टेकबहादुर ! म तिमीसँग खुसी छु । तिमीलाई के माग्ने इच्छा छ माग ।’


तत्कालै टेकबहादुरले आफूले पढ्न नपाएको पीडा पोख्दै भने–सरकार यो गाउँमा भाषा पाठशाला दिई बक्सियोस् । राणा शासन कालमा विद्यालयको माग गर्नु चानचुने कुरा थिएन ।


टेकबहादुरलाई आफ्नो जन्मभूमिको माया थियो । उनले आफूले पढ्न नपाए पनि सारा गाउँबासी शिक्षाको ज्योतिबाट वञ्चित नहून् भन्ने चाहना राखे । तर व्यक्तिगत स्वार्थको चाहना राखेनन् । उनले पद मागेनन् । धन मागेनन्, सुख सुविधा मागेनन् । केवल गाउँको, जन्मभूमिको भलो चाहे । यसबाट स्पष्ट हुन्छ टेकबहादुरको उदारता र महानता ।


श्री ३ पद्यशमशेर काठमाडौं पुगेपछि विद्यालयले स्वीकृति पायो । २००५ कात्तिक ९ गते खड्ग निशाना पाएर विद्यालयले गति लियो । त्यसपछि पोखरा विन्ध्यवासिनीका मेगराज पर पहिलो गुरुका रूपमा नाच्नेचौर आई पुग्छन् । २००६ मंसिरमा पराजुलीको असमायिक निधन भएपछि विद्यालय गुरुविहीन हुन पुग्छ । २००९ भदौ ६ गते विन्ध्यवासिनीकै गुरु बाबुराम रेग्मीले गुरुपद धारणा गरेपछि विद्यालयले गति लिन्छ । उनले २०१६ सालसम्म विभिन्न बाधा, अवरोधलाई छिचोल्दै सेवा पुर्‍याउँछन् । २०१७ सालमा यस विद्यालयले भविष्य निर्माण स्कुलको रूपमा विधिवत सरकारी मान्यता पाउँछ ।


सोही समयमा उता सन् १९३९–१९४५ सम्म भड्किएको दोस्रो विश्वयुद्धको समयमा अंग्रेज सरकारको आह्वानमा तत्कालीन राणा सरकाले अंग्रेज सेनासँग सघाउनका लागि नेपाली सेनालाई पनि जापान र जर्मनी विरूद्धको युद्धमा भारत हुँदै बर्मा (म्यानमार)सम्मको युद्धयात्राको कटु अनुभव हासिल गरेका थिए रानाभाटले ।


हाल विद्यालय करिब ५० रोपनी मा अवस्थित छ । टेकबहादुरकी छोरी विद्यालयकी पूर्व कर्मचारी इन्दु रानाभाटका भनाइ अनुसार टेकबहादुर नारी शिक्षाका पक्षधर भएकाले आफूलाई उच्च शिक्षा हासिल गरेर जागिर खानुपर्छ भन्ने गर्थे । इन्दु भन्छिन्–बुबाले सधैं मान्छे उठ्नका लागि प्रमाणपत्रमात्र होइन, इमान्दारिता र लगनशीलताको पनि त्यत्तिकै खाँचो पर्छ भन्ने गर्नुहुन्थ्यो । असल मित्र, असल कार्य र भावनालाई भगवानले सधैं साथ दिने गर्नुहुन्छ ।


रानाभाटले आफूलाई सबल सक्षम बनाउँदै २०२१ माघ १४ गते उपसेनानी हुन सफल भई नेपाली सेनामा ३२ वर्ष सेवा गरे । उनले दीर्घसेवा पदकका साथै प्रवल गोर्खा दक्षिण बाहु, त्रिशक्तिपट्ट आदि पदक पाएका थिए । उनी २०२६ सालमा सेवानिवृत्त बने । शिक्षासेवी सेनानी टेकबहादुर आफ्नो नाम स्वर्ण अक्षरले लेखाउन सफल भएका छन् ।

उनको २०६० पुस २६ गते निधन भएको थियो । उनका २ छोरा र ४ छोरी छन् । उनका सन्तानहरु रमेश र राजेन्द्र, छोरीहरु बिन्दु, इन्दु, मिरा र इन्दिरा पनि त्यस विद्यालयको उन्नति र प्रगतिको लागि दत्तचित्त छन् । बाबुका नाममा अक्षयकोष राखिदिएका छन् । यस्ता शिक्षापे्रमी÷समाजसेवी रानाभाटप्रति भावपूर्ण श्रद्धाञ्जली !

रवीन्द्र माकाजु

(माकाजु स्वतन्त्र लेखक हुन् )

तपाईको प्रतिक्रिया