‘श्रमिकको योगदानबाट राष्ट्रिय पुंजीको निर्माण’

समाधान संवाददाता २०८१ वैशाख १९ गते १६:५२

पोखरा ।
आम श्रमिकका मुद्दालाई साझा रुपमा उठाउने प्रतिवद्धताका साथ गण्डकी प्रदेशका ट्रेड युनियनहरुले १ सय ३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस सयुक्त रुपमा मनाएका छन् । संघीय राजधानी काठमाडौं पछि गण्डकीमा सयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेशले सयुक्त रुपमा सो दिवस मनाएको हो ।

Advertisement

पोखराको बसपार्कमा रहेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), ट्रेड युनियन कांग्रेसको कार्यालयबाट निकालिएको सचेतनामुलक पृथ्वीचोक, सभागृहचोक सिर्जनाचोकहुँदै साइमन पार्टी प्यालेसमा पुगेर श्रमिक सभामा परिणत भएको छ ।


‘लोकतन्त्रको स्थायित्व र सामाजिक न्यायका लागि ट्रेड युनियन अभिकार’ भन्ने नाराका साथ भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले श्रमिकको योगदानबाट राष्ट्रिय पुंजीको विकास हुने तर्क गरे । उनले स्वाधिन अर्थतन्त्रको निर्माण विना समाजवादमा जाने आधार निर्माण गर्न नसकिने बताए ।

Advertisement

‘राष्ट्रिय पुंजीको निर्माणको लागि श्रम सीप र क्षमताको विकास विकास गर्नु पर्छ,’उनले भने, ‘श्रमिकको योगदानबाट राष्ट्रिय पुंजीको विकास हुन्छ ।’ मुख्यमन्त्री अधिकारीले श्रमको सम्मान भएमात्र समृद्ध र समुन्नत मुलुक बन्न सक्ने उल्लेख गरे । उनले श्रमको सम्मान नगर्ने व्यक्ति सभ्य नागरिक बन्न नसक्ने बताए ।


श्रमिक बेगरको राज्यको परिकल्पना गर्न नसकिने चर्चा गर्दै उनले श्रमिकको जीवन स्तर सुधार गर्ने दायित्व सबैको भएको उल्लेख गरे ।

Advertisement


मुख्यमन्त्री अधिकारीले श्रमिकलाई फुटाएर शासन गर्न खोजे नयाँ युगमा प्रवेश गर्न नसकिने बताए । गण्डकी प्रदेशमा श्रममैत्री वातावरण निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्ति गर्दै मुख्यमन्त्री अधिकारीले श्रमिकका सबै मागलाई सुत्रबद्ध गरेर कार्यान्वनमा जोड दिने जनाए । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपालका सबै खालका राजनीतिक परिवर्तनले श्रमिकका मागलाई सम्बोधन गर्न नसकेको बताए ।

नीतिगत त्रुटीका कारण श्रमिकका माग पुरा नभएको तर्क गर्दै सभापति शर्माले जुन सुकै पार्टी सत्तामा पुगेपनि श्रमिकका सवाललाई सही रुपमा सम्बोधन हुन नसकेको जानकारी दिए । ५७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा राखेका माग अहिले पनि त्यही भएको उल्लेख गर्दै उनले सबै श्रमिकहरु एकताबद्ध भएर अर्को श्रमिक दिवस मनाउँदासम्ममा सबै माग पुरा गराउनतर्फ लाग्न सुझाव दिए ।


नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले २०७५ साउन १ गते ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई कार्यान्वयनको लागि पहल गर्ने बताए । उनले अनौपचारिक क्षेत्रका श्रमिकलाई योजनामा समेट्ने काम स्थानीय तहका जनप्रतिनिधिको भएको उल्लेख गरे । श्रमिक निकटको पार्टी सत्तामा जाँदा थोरै धेरै प्रगतिशील सुधारको काम भएको दाबी गर्दै उनले राष्ट्रिय पुंजीको विकासबाट समृद्धि सम्भव भएको चर्चा गरे ।


नेकपा (माओवादी केन्द्र) गण्डकीका अध्यक्ष गायत्री गुरुङले श्रमजीवी जनताको योगदानले नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताइन् । आम श्रमिकका सवाल सबै ट्रेड युनियनको साझा मुद्दा भएको उल्लेख गर्दै उनले सयुक्त रुपमा गरिएको कार्यक्रमले श्रमिकको एकताको सन्देश दिएको चर्चा गरिन् । उनले अझै पनि श्रमिक दिवस पर्वको रुपमा नभएर संघर्षको रुपमा मनाउने परेको जानकारी दिइन ।

कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष जीतेन्द्र श्रेष्ठले ट्रेड युनियन र राजनीतिक क्षेत्रको उपलब्धी कागजमा सिमित भएको दाबी गरे । उनले राजनीतिक परिवर्तनसँगै श्रमिकको अवस्थामा सुधार नभएको बताए । ट्रेड युनियन अधिकार खोसिन लागेको संकेत गर्दै उनले सबै ट्रेड युनियन एक ठाउँमा भएर प्रतिबाद गर्ने जानकारी दिए ।


नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय समितिका उपाध्यक्ष राधिका कुइकेलले आम श्रमिक फेरी सडक आन्दोलनमा जान पर्ने अवस्था आएको बताइन । उनले श्रमिकका अधिकार कटौती गरेर संविधान माथि प्रहार भएको आरोप लगाइन् । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष सोमबहादुर थापाले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जान केही रोजगारदाता अनिच्छुक भएको बताए । उनले योजना कार्यान्वयन नगर्ने रोजगारदातालाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरे ।


कार्यक्रममा जिफन्ट गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्री, अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीका अध्यक्ष रुद्र गौतम लगायतले श्रमिक दिवसको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया