महेन्द्र राजमार्ग कि मजदूर राजमार्ग !

समाधान संवाददाता २०८१ वैशाख २१ गते ११:००

पोखरा ।
देशको पूर्वदेखि पश्चिमसम्म पुग्ने पूर्व पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) गण्डकी प्रदेशमा २३ किलोमिटरमात्र पर्छ । यो राजमार्गभन्दा करिब सय किलोमिटर पर अरु तीन राजमार्गको संगम पोखरामा बुधबारबाट दर्शकले देशकै पहिलो राजमार्ग निर्माणको कथा हेर्दै छन् ।

Advertisement


२०१८ सालबाट निर्माण सुरु भएको यो राजमार्ग बनाउन थुप्रै मजदूरले अथक परिश्रम, मेहनत, रगत र पसिना बगाएका थिए । नाम भने राखियो कुनै परिश्रम नगर्ने राजाको नामबाट, महेन्द्र राजमार्ग । दोस्रो जनआन्दोलनपछि नाम फेरेर पूर्व–पश्चिम राजमार्ग भनिए पनि यो महेन्द्र राजमार्गकै नामले परिचित छ ।


अन्तर्राष्ट्रिय मजदुर दिवसका कार्यक्रम सकिँदै गर्दा बुधबार साँझबाट पोखरा थियटरमा रंगकर्मीहरुले दिवस मनाउन सुरु गरेका छन् । नाटक मञ्चनको क्रम वैशाख २९ गतेसम्म चल्नेछ । सिन्धुपाल्चोक हुँदै करिब दुई सय वर्षअघि महोत्तरी बसाई सरेको तामाङ परिवारका कवि राजु स्याङ्तानले खाट्टी गरिब कामदारको बिम्बलाई आफ्नो कविता सञ्चयनमा उतारेका थिए ।


स्याङ्तानको कविता सञ्चयन ‘ओ पेङदोर्जे’का चार कविताका कथालाई मिलाएर निर्देशक एवं लेखक नारायण न्यौपानेले गम्भीर, मार्मिक र पृथक कथा तयार गरेका छन् । महेन्द्र राजमार्गजस्तै देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको महाभारत पर्वतमा बस्ने तामाङ जातिको कथा यसले बोलेको छ ।

महाभारतको फेदीमा बस्ने गरिब परिवारले दुःखको महाभारतले नै उचालेको कथा नाटकमा देखाइएको छ

Advertisement


घरायसी गर्जाे टार्न हम्मे परेपछि रामबहादुर तामाङ महेन्द्र राजमार्ग खन्न तराई झर्छ । भर्खरै जन्मिएकी छोरी, सुत्केरी श्रीमती र सानो छोराको भविष्य आँखामा लिएर आएको रामबहादुर काम गर्न बहादुर त थियो तर षड्यन्त्र र शासकको लक्ष्यबारे अनविज्ञ थियो ।


दिनभर काममै जोतिने रामबहादुरलाई आफूले बनाएको बाटोको नाम महेन्द्र राजगर्मा मन परेन । दिनभर काम गर्दै, हाकिमहरुको फर्मान पूरा गरिरहेको उसको बेलुका मदिरा मात चढेपछि बाँकीताँकी डर पनि हट्छ । बाटामा निकिएर चिच्याउँछः यो बाटोको नाम रामबहादुर मार्ग हुनुपर्छ, रामबहादुरले खनेको हो यो बाटो !


भोलिपल्ट जे नहुनु थियो, त्यही भयो । उसले बनाएको सडकले देख्योः किनारमा उसकै शव । राज्यले तामाङ युवालाई त्यस बेला पिपामा मात्र भर्ना गथ्र्याे । राम्री युवतीहरु देखे शासकहरुले सुसारे बनाउन दरबार लान्थे, त्यसपछि उनीहरुको जीवन नरकीय हुन्थ्यो । पिपाबाटै विद्रोह गरी आएको रामबहादुरको मृत्यु अनुसन्धानको विषय नै बनेन । उसको मृत्युलाई दुर्घटना ठहर्‍याइयो ।


नाटकमा तामाङ संस्कृति र संस्कारलाई देखाउन खोजिएको छ । कामकै खोजीमा विदेशिनेले पाएका हन्डर, सास्ती देखाइएको छ । श्रीमान्को हत्यापछि पनि छोरालाई परदेश पठाउनैपर्ने वाध्यता भोगेकी छन् रामबहादुरकी श्रीमतीले । बाको जस्तै बाउन्न घुस्सा, त्रिपन्न ठक्कर खाएपछि छोरो(ठूले) परदेशको जेलमा मारिन्छ । पैसा पठाउन पाउँदैन, आफैं कफिनमा फर्किन्छ ।


महाभारतको फेदीमा बस्ने गरिब परिवारले दुःखको महाभारतले नै उचालेको कथा हो यो । कवि स्याङ्तानका चार कवितालाई मिलाएर बनाइएको कथाको बिचबिचमा तिनै कवितावाचन सुन्न पाइन्छ । नाटकका निर्देशक न्यौपाने आफूले देशका मजदूरको विगत र वर्तमान देखाउन खोजेको बताउँछन् । भन्छन्, ‘यो हरेक समयका मजदुरको कथा हो ।’


नाटकमा धनकाजी श्रेष्ठ, सुृशन पौडेल, सनिता थापा, कुमार तामाङ, रोशनी रामदाम, रमेश तिमिल्सिना, राजकुमारी गहतराज, रोहित पौडेल, परिवर्तन, आकाश परियार, समीक्षा पौडेल र नारायण न्यौपानेको अभिनय छ । कवि स्याङ्तानले आफ्ना बुवाले बारम्बार सुनाउने गरेको उनले बाटो खनेको कथामा कविता लेखेका थिए ।


राजुको हजुरबुवा पुस्ता पिपा र सुसारे थिए, बा पुस्ता राजमार्ग बनाउने मजदूर बने, दौतरीहरु कि देशमा निम्न स्तरको मजदूरी गर्दै छन् कि खाडीमा पसिना बगाउँदै छन् । ‘मैले फरक फरक विषयमा लेखेका कविता मिलाएर कथा पो बनेछ, नाटकमा रुपान्तर भएर मञ्चन हुँदै छ,’ कवि स्याङ्तान भन्छन्, ‘पोखरेलीसँगै बसेर नाटक हेर्न आउनुछ ।’

तपाईको प्रतिक्रिया