कास्कीमा २० वर्ष नपुग्दै गर्भवती भएका किशोरी २ हजार

पोखरा ।
राष्ट्रिय जनसांखिक स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार १५–१९ वर्षका १४ प्रतिशत किशोर किशोरीहरू गर्भवती हुने गरेको तथ्यांक छ । गण्डकी प्रदेशमा कुल प्रजननको १.४ प्रतिशत प्रजनन दर यही उमेर समूहका किशोर किशोरीहरूमा छ । करिब ३१ प्रतिशतले चाहेको बेला परिवार नियोजन सेवा प्राप्त गर्न नपाउने अवस्था छ ।
गत आर्थिक वर्ष २०७९/८० मा २० वर्षमुनिका झण्डै २ हजार किशोरीहरू गर्भवती भएको तथ्यांक स्वास्थ्य कार्यालय कास्कीको अभिलेखमा छ । गर्भपतन गराउने २० वर्षमुनिका किशोर किशोरीहरूको संख्या पनि डरलाग्दो रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
किशोर किशोरीहरूको स्वास्थ्यका सन्दर्भमा विभिन्न कार्यक्रम मार्फत काम गरिरहेको मोमेन्टम परियोजनाका कार्यक्रम संयोजक सुदीप अर्यालका अनुसार सामुदायिक स्वास्थ्य सचेतना अभिवृद्धि र किशोर किशोरीहरूलाई आफ्नो स्वास्थ्य प्रति प्रतिबद्ध बनाउन सरकारको स्वास्थ्य सम्बन्धी नीति र संयन्त्रहरूमा व्यापक सुधारको आवश्यकता छ ।
पोखरामा बिहीबार अन्तक्र्रियाका सन्दर्भमा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सम्बन्धी छफल भएको हो । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना तथा स्वास्थ्यको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरुको समन्वयमा सम्पन्न कार्यक्रममा स्वास्थ्य संस्थाहरू किशोर अवस्थाका व्यक्तिहरूका लागि कति पहुँचयुक्त छन्, भन्ने विषयमा केन्द्रित थियो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरू लगायत महानगर क्षेत्रमा सञ्चालित सम्पूर्ण हस्पिटल तथा सेवा प्रदायक संस्थाहरूलाई किशोर किशोरी मैत्री सेवायुक्त बनाउन निर्देशन दिए । स्वास्थ्य सेवामा सबै वर्गहरूको पहुँच स्थापित गर्न महानगरपालिका प्रतिबद्ध रहेको उनले बताए ।
३१ प्रतिशतले चाहेको बेला परिवार नियोजन सेवा प्राप्त गर्न नपाउने अवस्था
यौन तथा प्रजनन स्वास्थ्यका दृष्टिकोणले किशोर किशोरीहरूमा उमेर नपुग्दै हुने गरेको विभिन्न क्रियाकलापका कारण उनीहरूको स्वास्थ्य अवस्था जोखिममा पर्दै गएकोप्रति प्रमुख आचार्यले चिन्ता व्यक्त गरे । स्वास्थ्य सम्बन्धी सचेतनाको अभावका कारण किशोर किशोरी उमेरका व्यक्तिहरूमा देखिएको यस प्रकारको समस्याले भविष्यमा गम्भीर असर गर्ने उनले सुनाए ।
पोखरा महानगरपालिका वडा नम्बर १७ की वडा अध्यक्ष राधिकाकुमारी शाही योगीले किशोर किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विद्यालय तहदेखि नै उपयुक्त शिक्षा दिनुपर्ने आवश्यकतामा जोड दिइन् । किशोर अवस्थाको असावधानीले भविष्यमा गम्भीर प्रकृतिका स्वास्थ्य समस्याहरू आउन सक्ने भएकाले समयमा नै यससम्बन्धी सेवालाई पहुँचयुक्त बनाउनु पर्ने उनले औंल्याइन् ।
स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले जनसमुदायमा मास स्केलमा स्वास्थ्य सचेतना सम्बन्धी वकालतको आवश्यक रहेको बताए । यससम्बन्धी सेवा प्रदान गर्ने सरकारी निकायहरूमा जनशक्तिको अभाव, कम उमेरमा हुने विवाह र सामुदायिक रूपमा जनचेतना अभिवृद्धि चुनौतीपूर्ण रहेको सुनाए ।
पोखरा महानगरपालिका स्वास्थ्य व्यवस्थापन समितिका सदस्य डा.डमरु पनेरुले स्वास्थ्यका सन्दर्भमा मानिसको जीवनशैली चिन्ता गर्नुपर्ने अवस्थामा रहेको बताए । मानिसहरू आफ्नो स्वास्थ्यको नियमित चेकजाँच र स्वस्थ जीवनशैलीमा आधारभूत सवालहरूमा सचेत रहन नसकेको उनले उल्लेख गरे । किशोरावस्थामा हुने स्वास्थ्य सम्बन्धी लापरबाही/कमजोरीहरू भविष्यमा गम्भीर चुनौतीका रूपमा देखिन सक्नेप्रति सचेत रहन उनले सुझाव समेत दिए ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत फुलदेव तिमिल्सिनाले आफूहरू महानगरद्वारा सञ्चालित अस्पताल लगायत संस्थाहरूलाई किशोरकिशोरीमैत्री सेवायुक्त बनाउन लागि परेको जनाए । महानगरको किशोर किशोरी मैत्री स्वास्थ्य सेवा कार्यक्रमका फोकल पर्सन सत्यराज साँखीले महानगर क्षेत्रमा यस प्रकार सेवाको विस्तारमा जोड दिइएको बताए ।
तपाईको प्रतिक्रिया