ढेवाजु स्मृति संगीत पुरस्कार राणा र रेग्मीलाई

पोखरा ।
संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा सञ्चालित लालबहादुर चण्डेश्वरी ढेवाजु स्मृति पुरस्कार २०७८ बाट गायिका मीरा राणा र २०८० बाट संगीतकार प्राडा ध्रुवेशचन्द्र रेग्मीलाई सम्मान गरिने भएको छ । केन्द्रको वैशाख २१ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
आउँदो जेठ १२ गते शनिबार प्रदान गरिने पुरस्कारको राशि १ लाख १ राशि छ । नेपाली संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए बापत राणा र शास्त्रीय संगीतमा महत्वपूर्ण योगदान पुर्याए वापत रेग्मीज्लाई सम्मानित गरिने भएको हो ।
केन्द्रका संस्थापक अध्यक्ष लालबहादुर ढेवाजुको स्मृतिमा उनकी धर्मपत्नी चण्डेश्वरी ढेवाजुले एक अक्षयकोष खडा गरी लालबहादुर ढेवाजुको स्मृतिमा ‘लालबहादुर ढेवाजु स्मृति संगीत पुरस्कार’ सञ्चालन गर्ने जिम्मेवारी केन्द्रलाई प्रदान गरेकोमा २०५५ बाट प्रत्येक दुई वर्षमा एकपटक यो पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
यस पुरस्कारबाट स्व. सरोजगोपाल बज्राचार्य, कल्याण शेरचन, बाबा राणा, अमृत गुरुङ, रामभक्त जोजिजू, धनबहादुर गायक तथा श्यामलाल श्रेष्ठ सम्मानित भइसकेका छन् ।
पुरस्कारकी संस्थापिका चण्डेश्वरी ढेवाजुुको देहावसान पछि उनकी छोरीहरु सरस्वती श्रेष्ठ र विजयालक्ष्मी मल्लबाट आफ्ना पितामाता दुवैको स्मृतिमा ९ लाख रुपैयाँको अक्षयकोष खडा गरी ‘लालबहादुर चण्डेश्वरी ढेवाजु स्मृति संगीत पुरस्कार’ गठन गरी २०६९ बाट यो पुुरस्कार प्रदान गरिँदै आएको केन्द्रका अध्यक्ष गौतम बिजुक्छेले जानकारी दिए ।
यस पुरस्कारबाट अम्बर गुरुङ, गायक तथा संगीतकार दीप श्रेष्ठ तथा संगीतकार रञ्जीत गजमेर र नृत्याङ्गना/अभिनेत्री मिथिला शर्मा सम्मानित भइसकेका छन् ।
तपाईको प्रतिक्रिया