७ सय परिवार विपदको जाेखिममा

समाधान संवाददाता २०८१ वैशाख २७ गते १०:१८

पोखरा ।
जिल्ला विपद् व्यवस्थापन समिति कास्कीले मनसुनी वर्षात सुरुवातसँगै चालु आर्थिक वर्षमा प्राकृतिक प्रकोप, दुर्घटना र विपद्जन्य घटनाबाट कास्कीमा ५ सयदेखि ७ सय परिवार प्रभावित हुने प्रक्षेपण गरेको छ । समितिले बर्सेनी विपद्बाट ठूलो जनधनको क्षति हुने गरेकोमा सम्भावित प्रभावितलाई उद्दार तथा राहतका लागि आवश्यक सामाग्री व्यवस्थापन गर्न परिपत्र गरेको नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा पौडेलले जानकारी दिए ।

Advertisement


रेडक्रस कास्कीको विपद् व्यवस्थापन समितिले आयोजना गरेको विपद् व्यवस्थापनको पूर्व तयारी तथा प्रतिकार्यसम्बन्धी कार्यक्रममा सभापति पौडेलले जिल्ला विपद् व्यवस्थापन समिति, सामाजिक संघ, संस्थाको सहकार्यमा प्रभावितलाई उद्दार तथा राहत सेवा कार्य गरेको बताए । विपद्मा काम गर्ने संस्था रेडक्रससँग केही नभएको उल्लेख गर्दै उनले सबैको सहयोगमा विपद् व्यवस्थापनको काम गरेको जनाए ।


कार्यक्रममा रेडक्रस कास्कीका उपसभापति तथा विपद् व्यवस्थापन समितिका संयोजक उर्मिला खड्का भण्डारीले जिल्ला विपद् व्यवस्थापन समितिले विपद् व्यवस्थापनको क्षेत्रलाई १० क्लस्टरमा विभाजन गरेर काम गर्ने जानकारी दिइन् । उनले १० क्लस्टरमध्ये रेडक्रसले अस्थायी आवास तथा गैर खाद्यसामग्री व्यवस्थापनको क्षेत्रमा काम गर्ने बताइन् ।

Advertisement


नेपाल रेडक्रस सोसाइटी कास्कीका कार्यालय प्रमुख मोहनसिंह खड्काले जिल्ला विपद् व्यस्थापन समितिले चालु आर्थिक वर्षमा कास्कीमा विपद्का घटनाबाट ५ सयदेखि ७ सय परिवार प्रभावित हुने प्रक्षेपण गरेको जानकारी दिए । ‘रेडक्रस कास्कीले १ सय प्रभावितलाई सहयोग गर्न सकिने गरी राहत सामग्री तयारी अवस्थामा राखेको छ । केन्द्रीय गोदाम घरबाट हरेक वर्ष ५० परिवारलाई राहत सामाग्री प्राप्त भएको छ,’ उनले भने, ‘रेडक्रस कास्कीले प्रतिवर्ष ३ सयदेखि ४ सय परिवारलाई राहत सामग्री प्रदान गर्दै आएको छ ।’

चालु आर्थिक वर्षमा प्राकृतिक प्रकोप, दुर्घटना र विपद्जन्य घटनाबाट कास्कीमा ५ सयदेखि ७ सय परिवार जोखिममा पर्न सक्ने अनुमान

Advertisement


उनले चालु आर्थिक वर्षको लागि जिल्ला विपद् व्यवस्थापन समितिले ५ सय परिवारको लागि आवश्यक सामाग्री तयारी अवस्थामा व्यवस्थापन गर्न परिपत्र गरेको बताए । रेडक्रसले २ सय परिवारलाई व्यवस्थापन गर्न सक्ने जानकारी दिँदै उनले बाँकी ३ सय परिवारलाई सबै संघ, संस्थाको समन्वय र सहकार्यमा व्यवस्थापन गर्ने योजना प्रस्तुत गरे । उनले कास्की नदीनाला, ताल, तलैया, हिमतालको कारण विपद्का हिसाबले जोखिम जिल्लामा पर्ने बताए ।


रेडक्रस कास्कीले हरेक वर्ष विपद् प्रभावितलाई तत्काल राहत सहयोग गर्छ । विपद् व्यवस्थापनका लागि पूर्वतयारी, न्यूनीकरण, विपद् प्रतिकार्य र उद्धार तथा राहात सेवा कायलाई रेडक्रसले अगाडि बढाएको छ । रेडक्रस कास्कीले प्राकृतिक प्रकोप, दुर्घटना र विपतबाट प्रभावितहरुको राहात तथा उद्धारका लागि ३० लाख रुपैयाँको विपत राहत कोष खडा गरेको छ ।


रेडक्रसका कास्की शाखाका मन्त्री सुरेन्द्र गुरुङले विपत व्यवस्थापन चक्रका सबै चरण, विपद् पूर्वतयारी, प्रभावितलाई सहयोग तथा मानवीय सेवा उपलब्ध गराउन उपशाखाहरुले समेत विपद् राहत कोषको व्यवस्था गरेको जानकारी दिए । रेडक्रसका उपशाखाले क्षमता अनुसार ३० हजारदेखि २ लाखसम्मको विपद् व्यवस्थापन कोष बनाएर महत्वपूर्ण काम गरेका छन् ।


कास्कीमा हरेक वर्ष बाढी, पहिरो, आगलागी, सवारी दुर्घटना, चट्याङ, हावाहुरी लगायतका विपद्का घटनाले मानवीय र भौतिक क्षति भएको छ । विपद् जोखिम न्यूनीकरण सचेतना अभिवृद्धि, विपद्को पूर्व तयारी, योजना निर्माण र कार्यान्वयनमा रेडक्रसले ध्यान दिएको उनले उल्लेख गरे ।


कार्यक्रममा इन्टरनेसनल फेलोसिप नेपाल (आइएनएफ)का विपद् व्यवस्थापन शाखाका प्रमुख हरिबन्धु अर्यालले आइएनएफले विपद् प्रभावित १ हजार परिवारलाई राहत प्रदान गर्न सक्ने बताए । उनले प्रभावितको राहत तथा उद्धारको क्षेत्रमा रेडक्रस कास्कीसँग सहकार्य गर्ने जानकारी दिए । उनले विपद् व्यवस्थापनको पूर्वतयारीमा १ रुपैयाँ खर्च गरे विपद् पछि हुन सक्ने ७ रुपैयाँ क्षतिलाई जोगाउन सकिने उल्लेख गरे ।


रेडक्रस सोसाइटी कास्कीका विपद् व्यवस्थापन शाखाका प्रमुख नवराज भण्डारीले रेडक्रस कास्कीले विपद् व्यवस्थापनको क्षेत्रमा गरेको वार्षिक गतिविधि प्रस्तुत गरे । मौसमको पात्रो अनुसार विपद् व्यवस्थापनको संघारमा रहेको जानकारी दिँदै उनले मनसुन सुरुवात हुनुभन्दा ३ महिनादेखि विपद् व्यवस्थापनको लागि पूर्व तयारी अपनाउनु पर्ने बताए । उनले रेडक्रसले विपद् प्रभावितलाई खाद्य र गैर खाद्य सामग्री प्रदान गर्दै आएको जानकारी दिए ।


कार्यक्रममा पोखरा महानगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र शर्मा, नेपाल रेडक्रस सोसाइटी कास्कीका कोषाध्यक्ष सन्तोष अधिकारी, गैर सरकार संस्था महासंघ कास्की अध्यक्ष बुद्धिबहादुर थापा, मानव अधिकार आयोगका मानव अधिकार अधिकृत खीमलाल सुवेदी लगायतले विपद् व्यवस्थापनका लागि दक्ष जनशक्ति, यन्त्र उपकरण तथा स्रोेत र साधनको अभाव रहेको बताए ।

तपाईको प्रतिक्रिया