अर्जुन र सुस्मिता उत्कृष्ट खेलाडी

इन्द्रा मल्ललाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दिलासा राना उदीयमान खेलाडी, रमेश केसी वर्ष उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल पत्रकारतर्फ रोहितराज पराजुलीलाई अवार्ड
पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० शुक्रबार भव्य समारोहबीच प्रदान गरिएको छ । कार्यक्रम अन्तर्गत वर्ष खेलाडी पुरुषको उपाधि क्रिकेटका अर्जुन कुमालले जिते । यो विधाको मनोनयनमा कुमालसँगै टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी परेका थिए । वर्ष खेलाडी महिला विधाको अवार्ड आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगरले हात पारिन् । यो विधामा सुस्मितासँगै आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही मनोनयनमा परेका थिए । कुमाल र थापामगरले टेल्जी ब्रान्डको इलेक्ट्रिक स्कुटर र ट्रफी हात पारेका छन् ।
१७ वर्ष मुनिका खेलाडीबीच प्रतिष्पर्धा भएको उदीयमान खेलाडी विधाको अवार्ड ब्याडमिन्टनकी दिलासा रानाको पोल्टामा पयो । रानासहित क्रिकेटकी ज्योत्सनिका मरासिनी र एथलेटिक्सका बादल कार्की यो विधाको मनोनयनमा परेका थिए । वर्ष उत्कृष्ट प्रशिक्षक विधामा भलिबलका रमेश केसी अब्बल बने । केसीसहित टेनिसका नीरज थापा र क्रिकेटका रिजन प्रजु मनोनयनमा थिए ।
वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँका साथमा ट्रफी प्राप्त गरे । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई अर्पण गरियो । मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड सहारा क्लब पोखरालाई प्रदान गरियो । वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड रोहितराज पराजुलीले पाए । वर्ष उत्कृष्ट खेलकुद संघ, संस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजारका साथमा अवार्ड प्राप्त गरे ।
समारोहमा ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तर्राष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई विशेष अवार्डबाट सम्मान गरियो । अवार्ड विजेता तथा मनोनयनमा पर्न सफललाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, आर्थिक मामिला मन्त्री हरिबहादुर चुमान, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता सुन्दास, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, राखेप बोर्ड सदस्य राजेशकुमार गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा, मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल लगायतले अवार्ड र मनोनयन ट्रफीसहितका पुरस्कार हस्तान्तरण गरेका छन् ।
अवार्ड वितरण गर्न रोहितराज पराजुलीको संयोजकत्वमा प्रतिभा छनोट समिति बनेको थियो । समितिका सदस्यमा प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठक, मञ्चका पूर्व सल्लाहकार सुदर्शन रञ्जित तथा मञ्चका सदस्यहरु विजय नेपाली, धनबहादुर गुरुङ र रिखिराम जिसी थिए । उत्कृष्ट खेल पत्रकार छनोट समितिको संयोजकमा मञ्चका पूर्वअध्यक्ष विनोद लामिछाने र सदस्यमा पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव गोविन्द सुवेदी, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, पूर्व पुरस्कृत सागरराज तिमिल्सिना र मञ्चका सदस्य उमेश पुन सदस्य थिए । दुवै समितिका पदेन सदस्यमा मञ्चका अध्यक्ष दीननाथ बराल र महासचिव राजाराम पौडेल थिए ।
कार्यक्रममा चर्चित गायक प्रकाश सपुतको प्रस्तुतिमा दर्शक रमाए । सपुतका अलावा गायक सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी, कौरा र झ्याउरे नृत्यले समेत कार्यक्रममा रौनक थप्यो ।
अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग छ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गरेको थियो । पोखरा महानगरपालिकाको समन्वयमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदले सघाएको छ । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय छ । उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाइगर गुप्र अफ पोखरा नेपाल, वर्ष उत्कृष्ट खेल पत्रकारको पुरस्कार स्व. सेनानी हेमबहादुर पुनको परिवार, लाइफ टाइम अचिभमेन्ट अवार्ड सुपर मादी हाइड्रो पावर लिमिटेडले प्रायोजन गरेका हुन् ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया