रुवाइरहने सेती खोंच
पोखरा ।
साउनदेखि यता पोखराको सेती नदीमा विभिन्न कारणले १० जनाको ज्यान गएको छ । अघिल्लो आर्थिक वर्षमा सेतीमा ज्यान गुमाउनेको संख्या ८ आठ थियो । पोखरा उपत्यकालाई करिब बीच भागबाट चिरेर बग्ने सेतीले बारम्बार पोखरेलीलाई मर्माहत बनाउने गरेको छ ।
गाईघाटबाट करिब ७ किलोमिटर पोखरा महानगरका मुख्य बस्ती हुँदै बग्ने सेती पोखरा १७ को सीतापाइलामा पुगेपछि खुला हुन्छ । कतै देखिएर, कतै लुकेर बग्ने सेतीको विरल खोंच पोखरेलीलाई सम्पदा कम, खतरा बढी साबित भएको छ । प्रकृतिप्रेमी र भूगोलविदहरु सेती खोंचलाई सम्पदा मान्छन् । प्राडा विश्व श्रेष्ठ भन्छन्, ‘पोखराको भूगोलका करण सेतीमा खतरा पनि छ । तर, सेती सम्पदा नै हो, यसको उपयोग गर्न सक्नुपर्छ ।’
सेती गाईघाट, फूलबारी र रामघाटदेखि सीतापाइलासम्म गरी तीन ठाउँमा गहिरो गल्छी बनाएर बगेको छ । यो बीचमा ठाउँ ठाउँमा भूमिहीनका बाक्ला बस्तीसमेत छन् । किनारका घरले फोहोर पानी र घरायसी फोहोरसमेत नदीमै बिर्सजन गरिरहेका छन् । नदी आसपास पूर्वाधार बनाउन महानगरले मापदण्ड त बनाएको छ तर किनारबाटै घर ठडिएका देखिन्छन् ।
गर्मी मौसममा पौडी खेल्न जानेहरु पनि सेतीका शिकार बन्ने गरेका छन् । सेती किनारका गहिरा खोंचमाथि झारपात र वनस्पती छन् । थाहै नपाई खोंचमा खस्न सक्ने सम्भावना पनि छ । सेतीको खोंच सम्झनेबित्तिकै धेरै पोखरेलीको आङ जिरिङ हुन्छ । बेला बेलामा यो खोंचमा अकल्पनीय घटना हुने गरेका छन् ।
यही वैशाख महिनामा १२ वर्षअघि आएको बाढीमा परी ६५ जनाले ज्यान गुमाएका थिए । बेमौसमी बाढीले उजाड बनाएको खारापानी बजारसहितका क्षेत्र अझै खण्डहर नै छन् । गत वर्ष यही नदीको गल्छीमा यति एअरको विमान खस्दा ७२ जनाको ज्यान एकै चिहान भयो । २०३८ सालको चर्चित नमिता सुनीता काण्डको घटनास्थल पनि सेनी खोंच नै हो । काठमाडौंबाट पोखरा घुम्न आएका नमिता र सुनिता बेपत्ता भएको दुई साताभित्र शव भेटिएको थियो ।
देशैभर तरंग ल्याएको नमिता सुनिता काण्ड जस्तो चर्चा नभए पनि बारम्बार सेतीमा घटना हुने गरेका छन् । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापा खुला र असुरक्षित सेती खोंच चुनौती बनेको स्वीकार्छन् । नदीको खोंच ढाकिदिए, सामुदायिक साइरन राख्न सके उचित हुने उनको भनाइ छ । ‘सेतीमा एउटाको खोजी गर्दा अर्काको लास पनि भेटिएका छन् । खसेसकेपछि खोज्नु, देशभरकै ध्यान जानुभन्दा पहिल्यै काम गर्न पाए मान्छेको ज्यान त जाने थिएन,’ थापा भन्छन् । सेती खोंचमा खस्नेमध्ये अधिकतरको ज्यान जाने गरेको छ । २०६५ असार १० गते साढे दुई वर्षीया बालिका आराधना प्रधान खोँचमा खसिन् ।
६० फिट गहिरो खोँचबाट १२ वर्षीय बालक कमल नेपालीले उनलाई निकाले । कमलको संसारभरि नै चर्चा भयो । उनको नाममा प्रतिष्ठान नै बनेको छ । खोंचमा खस्ने सबैको भाग्य आरधनाको जस्तो हुन्छ । मानिस सेती खोंचमा खसेको सूचना कतैबाट आएपछि प्रहरीले खोजी सुरु गर्ने गरेको छ । प्रहरीसँग मानिस खोंचबाट निकाल्न सक्ने तालिम लिएको छुट्टै उद्धार टोली छैन । जिल्ला प्रहरी कार्यालयको टोलीले उद्धार गर्न कठिन भएमा प्रदेश प्रहरी गणको उद्धार टोलीलाई अनुरोध गर्ने गरिएको छ ।
गणको टोलीलाई कठिन भएमा सशस्त्र र नेपाली सेनाका टोलीलाई समेत अनुरोध गरी संयुक्त रुपमा उद्धार गरिँदै आएको छ । सेतीमा खसेका मानिसको खोजी गर्न प्रहरीले बारम्बार दीपमा रहेको सेती नदीको बाँध खोली बहाब बढाउनुपरेको छ । व्यवस्थापन नगरिँदा सेती खोंच बेला बेलामा टाउको दुखाई बन्ने गरेको बताउँछन् । जानीजानी सेतीका किनार र पुलबाट हाम फाली आत्महत्याका घटनाहरु पनि हुने गरेका छन् । ‘केही साताअघि हामीले एक बालकले सेतीको पुलबाट हाम फालेको सिसी क्यामेरामा देख्यौं, तल बजारिएको ठाउँमा रगत र गिदी पनि भेटियो, शव फेला परेन,’ उनी भन्छन् । सेती खोंचको करिब २ किलोमिटर क्षेत्रलाई माथिबाट घाकेर सुरक्षित बनाइए यस्ता घटना धेरै हदसम्म कम हुने बताउँछन् ।
अन्नपूर्ण हिमालबाट उत्पन्न भएर दक्षिण–पूर्वतर्फ बग्ने सेती केही घाटमा नदीजन्य पदार्थ निकाली मानिसको जीविकाको माध्यम बनेको छ । सेतीबाट जलविद्युत निकालिएको छ भने यो खोंचलाई पर्यटकीय गन्तव्य बनाउनुपर्ने पक्ष बारम्बार उठेको छ । तर त्यसका लागि काम भएको छैन । भूगोलविद् प्राडा कृष्ण केसी सेती खोंचलाई पहिला संरक्षण, त्यसपछि सौन्दर्यकरण गर्नुपर्नेमा जोड दिनुहुन्छ । १२ वर्षअघिको सेती बाढीपछि किनारका बस्तीहरुलाई स्थानान्तरण गर्नुपर्नेमा बस्ती अझ थपिएका छन् । सेतीको बाढी दिउँसो आएको थियो र पूर्वसूचना पाएकाले ठूलो क्षति टरेको थियो । भूगोलविद् केसी थप्छन्, ‘अबका विपत्ति दिउँसै आउँछन् भन्ने छैन । सेती छेवैमा बस्ती बढेका छन्, पूर्वसूचनाका संयन्त्र छैनन्, हामी महाविपद्को प्रतीक्षामा बसे जस्तो अवस्था छ ।’
तपाईको प्रतिक्रिया