गण्डकीका ७ सर्जक सम्मानित

समाधान संवाददाता २०८१ वैशाख ३० गते १०:१७

पोखरा ।

Advertisement


गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रदेशका विभिन्न क्षेत्रमा स्थापित ७ सर्जकलाई सम्मान गरेको छ । तेस्रो स्थापना दिवसमा वाङ्मयका विभिन्न क्षेत्रमा योगदान गरेका सर्जकहरु सम्मानित बनेका हुन् ।


गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङ्जाका पुरुषोत्तम न्यौपाने र गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठ सम्मानित बने । उनीहरुलाई जनही १ लाख रुपैयाँ नगद, सम्मानपत्र, दोसल्लासहित सम्मान गरिएको हो ।


शर्मा नेपाली लोकसाहित्य र संस्कृतिको उत्थानमा क्रियाशील छन् भने खड्का नेपाली कविता र निबन्धको क्षेत्रमा स्थापित नाम हो । प्रज्ञा संगीतबाट सम्मानित न्यौपाने स्थापित लोकगायक हुन् भने श्रेष्ठ करिब ५ दशकदेखि कला क्षेत्रमा क्रियाशील छन् ।
गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट तनहुँकी सरस्वती प्रतीक्षा सम्मानित बनिन् । उनलाई नगद ५० हजार रुपैयाँका साथमा सम्मानपत्र र दोसल्ला प्रदान गरियो । प्रतीक्षाका तीन कविता सञ्चयन प्रकाशित छन् ।

‘नथिया’ उपन्याशबाट आख्यानमा अघि बढेकी प्रतीक्षाको नयाँ उपन्याश ‘स्व’ चाँडै बजारमा आउँदै छ । गण्डकी प्रज्ञा युवा सम्मानबाट नृत्य विधाबाट स्याङ्जाका रविन गुरुङ र कला विधाबाट मुस्ताङका छिरिङ फोन्जो गुरुङ सम्मानित बने । उनीहरुलाई नगद २५ हजार रुपैयाँका साथमा सम्मानपत्र र दोसल्ला प्रदान गरियो ।

Advertisement


सर्जकहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सीता सुन्दास, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री वेदबहादुर गुरुङ, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा श्रीकान्त शर्मा खतिवडा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ, कवि तीर्थ श्रेष्ठ, प्राज्ञ हरिदेवी कोइराला, प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची, उपकुलपति गोरे गुरुङ लगायतले सम्मान गरेका हुन् ।


प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको संयोजकत्वमा गठन भएको छनोट समितिले स्रष्टाहरु छनोट गरी सम्मान गरेको हो । समितिमा कवि तीर्थ श्रेष्ठ, प्राज्ञ हरिदेवी कोइराला, कलाकार यादवचन्द्र भुर्तेल र सदस्य सचिव मनकुमार श्रेष्ठ थिए ।


वार्षिकोत्सवकै अवसर पारी प्रतिष्ठान परिसरमा निर्माण गरिएको स्रष्टा स्मृति पार्कसमेत उद्घाटन गरिएको छ । पार्कमा गण्डकीका स्रष्टाहरुको जानकारी राख्ने लक्ष्य छ । कला, साहित्य, संगीत र संस्कृतिको संरक्षण, उत्थान र प्रवद्र्धन गर्न प्रतिष्ठानले काम गर्दै आएको छ । २०७८ वैशाख १५ गते स्थापना भएको प्रतिष्ठानको तीन वर्षे गतिविधिको भिडियोसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानले ७ सर्जकलाई नगदसहित सम्मान गरेको छ भने स्रष्टा स्मृति पार्कसमेत बनाउँदै छ


कार्यक्रम प्रतिष्ठानका कुलपति बिखर्चीको अध्यक्षतामा भएको हो । कार्यक्रममा विभिन्न कलाकारहरुले विविध सांगीतिक प्रस्तुतिसमेत राखेका थिए । प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठले अहिलेसम्म सरकारी तवरबाट सम्मान नपाएका र आफ्नो क्षेत्रमा उल्लेख्य काम गरेका सर्जकहरुलाई सम्मान गरिएको जनाए ।


प्रतिष्ठानले विभिन्न जातजातिबारे अनुसन्धान, भाषा र बाजा प्रशिक्षण, लोकबाजा संग्रहालय स्थापना, वाङ्मयिक गतिविधिलाई सहयोग, सर्जकहरुको भिडियो बायोग्राफी निर्माण जस्ता गतिविधि गरेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले नेपालका प्रज्ञा प्रतिष्ठानहरुको भेलासमेत आयोजना गरेको थियो ।


मुख्यमन्त्रीको कविता र गीत
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी शनिबार पृथक रुपमा प्रस्तुत भए । गण्डकी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले भानुभक्तको रामायणको श्लोक नै भाका हालेर सुनाए ।


मुख्यमन्त्री अधिकारीले भानुभक्तलाई गण्डकीबासी र नेपालका नेपालीले चिन्न नसकेको उल्लेख गर्दै उनले नेपालभन्दा परका नेपालीभाषीबीच उनको कद निकै उचो रहेको सुनाए । ‘नेपालभन्दा पर भानुभक्त अत्यन्तै सम्मानित नाम हो,’ उनले भने, ‘लेखनाथ, धर्मराज थापाहरुले बनाउनुभएको मार्गमा अहिलेका सर्जकहरु अघि बढिरहनुभएको देखेको छु ।’


मुख्यमन्त्री अधिकारीले रेलिमई रेलिमई बोलको गीतसमेत गुन्गुनाए । उनले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने विचार राखे । त्यसका लागि साहित्य, संस्कृति र कलामार्फत विश्वभर सन्देश छर्दै गण्डकी प्रदेशलाई चिनाउनुपर्नेमा उनले जोड दिए ।


पोखरा पर्यटनको राजधानी घोषणा भए पनि त्यसलाई साकार रुप धेरै काम गर्न बाँकी रहेको उनले औंल्याए । ‘पर्यटनको राजधानी घोषणा त भएको छm हामीले गर्नु धेरैं छ, पोखरा कला, संस्कृति र प्रकृतिको राजधानीसमेत हो, यी विशिष्ट प्रकृति र संस्कृतिप्रतिको सम्मानको लागि यसलाई उजागर गर्दै संसारभरी पर्यटन उत्पादनको रुपमा अगाडि बढाउनुपर्छ,’ मुख्यमन्त्री अधिकारीले थपे ।


प्रदेशको कला, साहित्य, संस्कृति र संगीतकोे उत्थानमा गण्डकी प्रज्ञा–प्रतिष्ठानले गरेका कामहरुको उनले प्रशंसा गरे । प्रतिष्ठानका गतिविधिहरुमा सरकारको साथ रहने उनले विश्वास दिलाए । प्रतीकात्मक रुपमा उनले भने, ‘गण्डकी प्रज्ञा–प्रतिष्ठानले गरेका कार्य उत्कृष्ट छन्, फूल सारे माया नमारे भन्ने गीतले भनेझै फूल राम्ररी सार्ने छौ, संरक्षण गर्ने छौं ।’

तपाईको प्रतिक्रिया