
जोमसोम ।
हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका ४ मा अवस्थित जोमसोम बजार जोड्ने पुरानो र ऐतिहासिक काठेपुल संरक्षण तथा सौन्र्दयकरण गर्न थालिएको छ । घरपझोङ गाउँपालिका र जीविकोपार्जन परियोजनाका लागि दिगो पर्यटन (एसटिएलआरपी)को लागत साझेदारीमा काठेपुल मर्मतसुधार तथा स्तरोन्नति थालिएको हो ।
चालु आर्थिक वर्ष २०८०/०८१ का लागि जीविकोपार्जन लागि दिगो पर्यटन परियोजनाले काठेपुल सौन्र्दयीकरण तथा स्तरोन्नतिका साथै विभिन्न शीर्षकमा घरपझोङ गाउँपालिकासँग लागत साझेदारी गर्दै पर्यटकीय पूर्वाधार तथा पर्यटन प्रवद्र्धनसम्बन्धी सहकार्य गरेको छ । यसका लागि गाउँपालिकाले ३७ लाख ८५ हजार रुपैयाँ लागत स्टमेट गरेको सबइन्जिनियर राजन कँडेलले जानकारी दिए ।
परियोजना र गाउँपालिकाको लागत साझेदारीमा पर्यटन पूर्वाधार निर्माण शीर्षकमा काठेपुल सौन्र्दयीकरण तथा स्तरोन्नतिसँगै जोमसोम पक्की पुल नजिक दुई कोठे पर्यटक सूचना केन्द्र भवन, पर्यटकीय साइन पोस्ट र फोहोर मैला व्यवस्थापनका लागि डस्टबिन वितरण गर्ने कार्यक्रम छ । मुस्ताङ सदरमुकाम जोमसोमको कालिगण्डकी वारिपारि जोड्ने पुरानो काठेपुल स्तरोन्नति तथा सौन्र्दयकरणका लागि ७ लाख लागत निक्र्योल गरी परियोजनासँग सम्झौता भएको सबइन्जिनियर कँडेलको भनाइ छ ।
परियोजना र गाउँपालिकाबीच पर्यटकीय पूर्वाधार निर्माण गर्न गाउँपालिकाले ५७ दशमलव ५३ प्रतिशत र परियोजनाले ४२ दशमलव २७ प्रतिशत बजेट साझेदारी गर्ने गरी सम्झौता भएको सबइन्जिनियर कँडेलले जानकारी दिए । जोमसोम काठेपुलका लागि ७ लाख स्टमेट गरी परियोजनासँग सम्झौता भए पनि काठेपुललाई थप सौन्र्दयकरणका साथै आकर्षक तुल्याउन भिओ वृद्धि गरिएको उनले बताए ।
दुई जोमसोम बजार जोड्ने काठेपुल स्तरोन्नतिका लागि लागत वृद्धिसँगै यसको लागत १३ लाख ३० हजार पु¥याइएको छ । स्थानीय उपभोक्ता समितिमार्फत काम गर्ने गरी काठेपुलको मर्मत सुधार तथा स्तरोन्नति गर्ने जिम्मा दिइसकिएको सबइन्जिनियर कँडेलले बताए ।
जोमसोमको जीर्ण काठेपुलमा पुराना काठका सामग्री विस्थापित गरी नयाँ काठका संरचना फेर्ने, काठेपुलको रेलिङ फेर्ने र काठेपुललाई धेरै भार थेग्न सक्ने गरी साबिक भन्दा थप बलियो बनाउन पूर्व/पश्चिमको दुईतर्फी बिमलाई अफग्रेड गरिने सबइन्जिनियर कँडेलले जानकारी दिए ।
मुस्ताङको जोमसोम काठेपुल शताब्दी पुरानो भएको बताइन्छ । धेरै वर्ष पहिला तिब्बतमा नूनदेखि सुनसम्म तथा खाद्यान्न ढुवानी गर्न जोमसोममा अवस्थित पुरानो काठेपुल त्यस समय निकै उपयोगी बनेको जोमसोमका ८९ वर्षीय ज्येष्ठ नागरिक टिकप्रसाद शेरचनले जानकारी दिए । त्यस समय जोमसोम बजार जोड्ने अन्य पुल बनेका थिएनन् ।
यही पुलबाट उपल्लो मुस्ताङदेखि जोमसोमसम्मका नागरिकले पैदल तथा घोडा खच्चडमा मालसामान बोकाएर सामान ल्याउने गर्थे । पशुचौपायालाई चरन क्षेत्रमा लैजान यही काठेपुल प्रयोग हुन्थ्यो । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्न म्याग्दी हुँदै मुस्ताङमा पैदल यात्रा गर्ने तीर्थालुसमेत काठेपुलबाटै वारपार गर्थे ।
अहिले काठेपुलको उत्तरतर्फ ५० मिटरमाथि भारतीय राजदुतावासले पक्की मोटरेबल पुल बनाइसकेपछि यसको प्रयोग कम भएको छ । अहिले काठेपुलबाट थोरै मानिसमात्रै आउजाउ गर्ने गर्छन् । गाउँपालिकाले यस पुललाई पुरातात्विक सम्पदाको रुपमा विकास गर्दै पर्यटनको हबको रुपमा विकास गर्ने लक्ष्य राखेको घरपझोङ ४ का वडाध्यक्ष यामप्रसाद थकालीले बताए ।
जोमसोमको सदिंयौ पुरानो काठेपुल बनेपछि जोमसोमको सरकारी कार्यालय र नेपाली सेनाको ब्यारेक जोड्ने झोलुङे पुल बनेको थियो । प्राकृतिक विपद्का कारण पटक पटक थला पर्दै आएको जोमसोमको काठेपुल संरक्षणका लागि स्थानीयले संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएका थिए ।
जोमसोममा अवस्थित ऐतिहासिक काठेपुललाई २०४४ सालमा आएको कालिगण्डकी नदीको बाढीले क्षति गरेको थियो । त्यस बेला जोमसोमका गाउँले मिलेर बाढीले क्षति बनाएको काठेपुललाई मर्मत सम्भार गरी संरक्षण गरेका थिए । जोमसोम बजारको अस्तित्व कायम गरेको ऐतिहाँसिक काठेपुललाई २०७२ सालको महाभूकम्पले फेरि क्षति गरेको छ । त्यस बेला महाभूकम्पको पराकम्पनले जोमसोम काठेपुल बीच भागबाट चोइटिएर थियो । त्यस बेला पनि स्थानीयले जोमसोम काठेपुल पुनः मर्मत गरी सञ्चालनमा ल्याएका थिए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया