हेमजामा २२५ को मधुमेह र टिजी जाँच

समाधान संवाददाता २०८१ वैशाख ३० गते ११:०६

पोखरा ।
हेमजा उद्योग व्यवसायी समितिको आयोजना र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा शनिबार पोखरा २५ हेमजामा स्वास्थ्य शिविर भएको छ । शिविरमा दुई सय २५ जनाको मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको छ ।

Advertisement


कार्यक्रममा वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह, टिजी, थाइराइड जस्ता समस्यालाई वेवास्ता गर्दा नेपालीले पछि ठूलो सास्ती र आर्थिक क्षति व्यहोर्नुपरेको बताए । उनले सम्भव भएसम्म वर्षमा एक पटक नियमित स्वास्थ्य जाँच गर्न र समस्या देखिएमा विशेषज्ञको सल्लाहमा उपचार गर्न आग्रह गरे ।


‘ठूलो समस्या नभई स्वास्थ्य संस्था नजाने र समस्या भएपछि पनि औषधी नखाने, खानपानमा हेलचेक्र्याइ गर्ने प्रवृत्तिसमेत देखिएको छ,’ डा अधिकारीले भने, ‘यस्तो बेबास्ताले रोगी र परिवारका सदस्यलाई दुःख त थप्छ नै, कहिलेकाँही ज्यानैसमेत जाने खतरा हुन्छ ।’


युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले युआरएलले अहिलेसम्म विभिन्न संघ, संस्थासँग समन्वय गरी हेमजामा चौथो पटक र पोखरासहित गण्डकी प्रदेशमा १ सय ६९ पटक शिविर गरिसकेको जनाए । शिविरबाट केही सेवा सित्तैमा दिइनेमात्र नभई यसको विशेष अर्थ भएको उनी बताउँछन् ।


‘हाम्रा शिविर फगत शिविर होइनन्, स्वास्थ्यबारे विज्ञको सचेतनासहित गुणस्तरीय सेवाबारे बुझाउन यसले योगदान गर्छ,’ उनले भने । उनले चाँडै पोखरा २५ र आसपासका बासिन्दालाई मध्यनजर गरी युआरएलले त्यहाँ शाखा खोल्ने लागेकोसमेत जनाए । युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्राप्त रेफरेन्स ल्याब हो ।

Advertisement


हेमजा उद्योग व्यवसायी समितिका अध्यक्ष मीनराज तिमिल्सिनाको अध्यक्षता भएको कार्यक्रममा पोखरा २५ का वडा सदस्य कृष्णबहादुर कुवँर, समितिका उपाध्यष सुशील बास्तोला, नेपाल रेडक्रसका सोसाइटी पोखरा २५ उप शाखाका पूर्वसभापति कृष्णप्रसाद पौडेल, हेमजा स्वास्थ्य चौकीका इन्चार्ज कुश्मेश्वर सुवेदी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया