राष्ट्रिय माविको दौडको उपाधि तेन्जन र कवितालाई

समाधान संवाददाता २०८१ वैशाख ३० गते ११:४०

पोखरा ।
तेन्जेन रोक्का मगर र कविता मगरले पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको ५ किलोमिटर छात्र÷छात्रा सडक दौडको उपाधि जितेका छन् ।

Advertisement


स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको विद्यालयले हीरक महोत्सव अन्र्तगत गठन गरिएको खेलकुद उपसमितिले शनिबार आयोजना गरेको दौडमा छोरेपाटन माविका तेन्जेनले सहभागि अन्य ६ सय १३ जनालाई पछि पादै निर्धारित दुरी १६ मिनेट ५७.६३ सेकेण्ड पूरा गरेर उपाधि हात पारे । छात्रातर्फ २२ मिनेट ३२.०१ सेकेण्डमा दौड पूरा गरेकी गौरीशंकर माविकी कविताले सहभागी अन्य दुई सय ५३ जनालाई पछि पादै उपाधि हात पार्न सफल भएकी हुन् ।


प्रतियोगिता अन्र्तगत छात्रतर्फ १७ मिनेट १२.६३ सेकेण्डका दुरी पार गरेका छोरेपाटन माविका प्रकाश थिङ दोस्रो र १७ मिनेट ४७.९४ सेकेण्डमा दुरी पूरा गरेका अक्सफोर्ड स्कुलका ईश्वर ढकाल तेस्रो भए ।


छात्रातर्फ २२ मिनेट ३५.०९ सेकेण्डमा दुरी पार गर्दै मेघराज माविकी एन्जिला जिटी दोस्रो र २२ मिनेट ४६.०५ सेकेण्डमा दौड पूरा गरेकी छोरेपाटन माविकी साधना सेवा तेस्रो भइन् । छात्र÷छात्रा प्रथम, दोस्रो र तेस्रो हुनेहरुले क्रमश ७, ५ र ३ हजार नगद सगै पदक र प्रमाण पत्र पुरस्कार पाए ।


विभिन्न ४४ विद्यालयका ६ सय १४ छात्र र २ सय ५४ छात्रा गरी ८ सय ६८ जनाले सहभागिता जनाएका थिए । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सभाका सदस्य गणेशमान गुरुङ, पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष शाहारा प्रधान, विद्यालयका अध्यक्ष रामविक्रम राणा, प्रधानाध्यापक ईश्वरी सापकोटा लगायतले पुरस्कार वितरण गरेका थिए ।

Advertisement


विद्यालयको गेटबाट सुरु भएको दौड हरिचोक – विन्ध्यवासिनी मन्दिर – बागलुङ बसपार्क – भीमसेन मन्दिर चोक – कोपिलढुंगा चोक – ज्ञानभूमि स्कूल चोक – बाल मन्दिर स्कुल चोक – पिएन क्याम्पस चोक – भीमकालीपाटन चोक – वडा कार्यालय पोखरा १ – लामपाटन मार्ग – सिम्पानी चोक – हरिचोक हुँदै टुँडिखेलमा आएर सम्पन्न भएको थियो । खेलकुद अन्तर्गत दौड पछि विद्यालयले परम्परागत छेलो (ठेलो) प्रतियोगिता (छात्र/छात्रा) सँगै जिल्ला स्तरीय भलिबल प्रतियोगिता (छात्र/छात्रा) समेत आयोजना गर्ने तयारि गरेको छ ।

तपाईको प्रतिक्रिया