बागलुङमा अपांगतामैत्री फुटपाथ

राष्ट्रिय समाचार समिति (रासस) २०८१ वैशाख ३० गते १२:०७

बागलुङ ।
बागलुङ नगरपालिकाले अपांगमैत्री भौतिक पूर्वाधारमा लगानी बढाएको छ । नगरपालिकाले पहिलो पटक बागलुङ बजारमा अपांगमैत्री फुटपाथ निर्माण गरिरहेको छ । नगरपालिकाले अवैध सडक पेटी भत्काएर सडक विस्तारसँगै फुटपाथ निर्माण गरिरहेको हो । अपांगलाई हिँड्न मिल्ने टायल विच्छ्याएको फुटपाथसहितको सडकले बागलुङ बजारलाई थप सौन्दर्यकरण गर्न थालेको छ भने दुर्घटना न्यूनीकरण गर्ने विश्वास लिइएको छ ।

Advertisement


पहिलो चरणमा बागलुङ बजारको अस्पताल रोडबाट मरेपीपलसम्मको सडकमा फुटपाथ निर्माण गरेको नगरपालिकाले दोस्रो चरणमा ट्राफिक चोकबाट नगरपालिका कार्यालय हुँदै नेपाल टेलिकमको कार्यालयसम्म फुटपाथ निर्माण गरिरहेको छ ।


यस्तै ऐश्वर्य पार्क नजिकै नगरपालिकाले अपांगमैत्री सार्वजनिक शौचालय निर्माण गरेको छ । फुटपाथको अभावमा पैदलयात्रु र सवारीसाधन एउटै सडकमा हिँड्दा दुर्घटना बढेको भन्दै नगरपालिकाले मापदण्डविपरीतका सडक पेटी हटाएर फुटपाथ निर्माण गरिरहेको जनाएको छ ।

Advertisement


अस्पतालबाट मरेपीपलसम्म नगरपालिकाको ३३ लाख ६० हजार र स्थानीय जनसहभागितबाट रु तीन लाख ६८ हजार गरी रु ३७ लाख २८ हजार लागतमा पक्की नालीसँगै नमुना फुटपाथ निर्माण गरिरहेको नगरपालिकाका इञ्जिनियर त्रिलोचन गिरीले जानकारी दिए ।


उनका अनुसार ट्राफिक चोकबाट नेपाल टेलिकमसम्मको सडकमा दुईतर्फीरुपमा फुटपाथ निर्माण गर्न नगरपालिकाले रु ५० लाख विनियोजन गरेको छ । गिरीले नगरपालिकाले रु १९ लाखको लागतमा अपांगमैत्री सार्वजनिक शौचालय निर्माण सम्पन्न गरेको बताए ।

Advertisement


‘बालमैत्री नगरपालिका’ निर्माणको चरणमा रहेको पालिकाले अब बन्ने संरचना अपांगमैत्री बनाउने अभियानअन्तर्गत फुटपाथ र शौचालय निर्माण गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सार्वजनिक शौचालयसँगै एभरेष्ट बैंकको सहकार्यमा एटिएम र कफीसपसमेत निर्माण गरिएको छ ।


बागलुङ नगरपालिकामा हालसम्म फुटपाथसहितको सडक थिएन । बागलुङ बजारमा सडक मिचेर बनाइएका पेटी, टहरा तथा अवैध संरचना हटाएर पैदलयात्रीहरुको सहजताका लागि फुटपाथ निर्माण भइरहेको हो ।


‘बजार क्षेत्र सौन्दर्यकरणका लागि सडक कालोपत्र, लाइन मार्किङ र जेब्राक्रसिङ र अपांगमैत्री फुटपाथ, सडकमा पेटी मिचेर बनाइएको पार्किङ तथा अवैध संरचना भत्काएर सडक चौडा पार्दै दुईतर्फ नै ब्लक, टायलसहितको फुटपाथ निर्माण गरिएको छ,’ श्रेष्ठले भने, ‘मल्टिकलर ब्लक, टायलसहितको फुटपाथले पैदल यात्रुलाई सहज हुनेछ ।’


नगरप्रमुख श्रेष्ठले बजारलाई बिस्तारै सौन्दर्यकरण गर्ने योजनाअनुसार अहिले अपांगमैत्री संरचना निर्माणले तीव्रता पाएको बताए । अवैद्य संरचना हटाएर छोड्दा समस्या हुने भन्दै ती संरचना भएका स्थानमा फुटपाथ निर्माण थालेको उनको भनाइ छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया