गण्डकीबाट रोजगारीका लागि १ लाख विदेशिए
पोखरा ।
पोखरा ।
कुनै समय निजामती कर्मचारीमा नाम निकाल्ने पहिलो नम्बरमा थियो—स्याङ्जा । तर, गत वर्ष स्याङ्जाले अर्काे रेकर्ड राख्यो । र, वैदेशिक रोजगारीमा गण्डकीबाट सबैभन्दा बढी श्रमिक पठाउनेमध्येको जिल्ला बन्यो ।स्याङ्जाबाट आर्थिक वर्ष २०७९÷८० मा १५ हजार ७ जना वैदेशिक रोजगारका लागि विदेश पुगेका थिए । तर, यो चालु आर्थिक वर्षको ९ महिनामै स्याङ्जाले गत वर्ष पठाएको श्रमिकको संख्या तनहुँले उछिनेको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १६ हजार ७ सय ९७ जना वैदेशिक रोजगारका लागि मुलुकबाट बाहिरिएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार श्रम स्वीकृत लिएर रोजगारीका लागि बाहिरिनेको गण्डकीवासीको संख्या १ लाख नाघेको छ । वैदेशिक रोजगार बोर्डसँग चालु आर्थिक वर्षमा १० हजार ७ सय २ जना महिला र ९५ हजार ३ सय ४२ जना पुरुष गरी १ लाख ६ हजार ४४ जना बाहिरिएको तथ्यांक छ । रोजगारीका लागि श्रम स्वीकृत लिनेमा तनहुँका १६ हजार ७ सय ९७ जना हुँदा दोस्रो नम्बरमा स्याङ्जा छ ।
स्याङ्जाबाट १५ हजार ८ सय ९६ जना, नवलपुर १४ हजार ४ सय ५८ र बागलुङबाट १३ हजार ७ सय ९७ जना छन् । वैदेशिक रोजगारीमा पठाउने चौथौं नम्बरमा कास्की छ । कास्कीबाट चालु आर्थिक वर्षको यो अवधिमा मात्र १२ हजार ३ सय ३४ विदेश पुगेका छन् । गोरखाबाट १२ हजार २ सय ४९ जना, लमजुङबाट ८ हजार ७ सय ३१ जना, पर्वतबाट ६ हजार ३ सय ९७ र म्याग्दीबाट ४९ सय २० जना रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगारीमा जानेको संख्या मनाङ र मुस्ताङमा सबैभन्दा कम छ । मुस्ताङबाट २ सय ४९ जना र मनाङबाट २ सय २४ जना छन् ।
८९२९ जनालाई सामीको परामर्श
सुरक्षित आप्रवासन परियोजना (सामी)ले आइतबार वैदेशिक रोजगारको वर्तमान अवस्था र हालसम्म भएका उपलब्धिका बारेमा पत्रकारसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ । वैदेशिक रोजगारीमा पुगेकालाई सामीले गर्दै आएको काम र सुरक्षित आप्रवासन समस्यको पछिल्लो तथ्यांकसँगै अभिमुखीकरण गरेको हो । सामीसँग समन्वय गरेको छ—वैदेशिक रोजगार बोर्डले ।
वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शिव रेग्मीले सामीले बोर्डसँग मिलेर समुदाय तहममा गर्ने काम र गरेका कामबारे जानकारी दिए । आप्रवासनकै कारणले समुदायमा आन्तरिक बसाइसराई, पारिवारिक बेमेल, घरेलु हिंसा, मनोसामाजिक समस्या, युवा जनशक्ति पलायन र बाँझो जमिन र खर्चिलो सामाजिक जीवन बनिरहेको जानकारी रेग्मीले दिए ।
वैदेशिक रोजगार बोर्डले सामीसँग समन्वय गरेर रोजगारीका लागि विदेश जानेहरुलाई आवश्यक सूचना तथा परामर्श, सीप विकास तालिम, न्यायमा पहुँच र मनोसामाजिक परामर्श दिँदै आएको उनको भनाइ छ । ‘आप्रवासनलाई लक्ष्य गरेर सरकारले सुरक्षित आप्रवासन कार्यविधि ३ वटा, वैदेशिक रोजगार सम्बन्धी ३ वटा पाश्र्व चित्र ३ वटा, र मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्शसम्बन्धी नीति बनाएको छ,’ रेग्मीले भने ।
कार्यक्रम संयोजक कुम गुरुङले सामीले हालसम्म सामुदाय स्तरमा पुगेर चालु वर्ष ८ हजार ९ सय २९ जनालाई सचेतना दिएको जानकारी दिए । जसमध्ये ५ हजार ९६ पुरुष र ३ हजार ९ सय महिला छन् । सामीका सूचना अधिकारी हेमराज अधिकारीले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगिने नेपालीको संख्या बढी रहेको जानकारी दिए ।
ठगी गर्नेमा भारतीय नागरिकसमेत रहेको अधिकारीले सुनाए । चालु आर्थिक वर्षको ९ महिनामा १ सय ४० जना ठगीमा परेका छन् । जसमध्ये ७२ वटा मुद्दाको समाधान गरिएको छ । कास्कीको ४ वर्षको तथ्यांकलाई विश्लेषण र सामीको तेस्रो चरणको अवधीमा विभिन्न किसिमका ६ सय ६५ समस्याहरु दर्ता हुन आएकोमा विभिन्न निकायको सहयोग समन्वय र सहजककरण पश्चात ३ सय ३७ वटा समाधान भएर पीडितहरुले १२ करोड १६ लाख ५४ हजार ५ सय आर्थिक सहायता प्राप्त गर्न सहयोग गरिएको बोर्डका अधिकृत रेग्मीले जानकारी दिए । उनले आप्रवासनलाई लक्षित गरेर कास्कीका स्थानीय तहले काम गरिरहेको जानकारी दिए ।
२२ को मृत्यु १५ घाइते
नेपालीहरु विदेशिने संख्या बढेसँगै उतै मृत्यु हुनेको दर पनि वृद्धि देखिन्छ । वैदेशिक रोजगारीमा गएकाहरु थुप्रैले कार्यस्थलमै ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डका अधिकृत शिव रेग्मी बताउँछन् । चालु आर्थिक वर्षमा मात्र कास्कीका २२ जनाको शव नेपाल आएको उनले सुनाए । कास्कीकै १५ जना भने काम गर्न नसक्ने घाइते—अपांग भई घर फर्केका छन् ।
त्रिभुवन विमानस्थलको अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२३ मा १६ लाख ३ हजार ८ सय ३६ जना विदेसिएका छन् । यो तथ्यांक रोजगारीमा पुग्ने, भ्रमण, परिवार भेटघाट, अध्ययन, सेमिनार, स्थायी र अस्थायी बसोबासका लागि पुग्नेहरुको हो । रोजगारीका लागि मात्र ८ लाख ८ हजार ४ सय १५ जना विदेसिएका छन् । भ्रमणका लागि २ लाख ४५ हजार १८ जना, परिवार भेटघाटका लागि १ लाख ६७ हजार ४ सय ८५ जना, अध्ययनका लागि १ लाख ८५ हजार ४२ जना छन् ।
विदेश पुग्नेहरुमा तालिम सेमिनारका लागि भ्रमण गर्नेहरु पनि छन् । यो तथ्यांकमध्ये स्थायी बसोबासका लागि देश छाड्नेको तथ्यांक निकै डर लाग्दो छ । एक वर्षमा ७० हजार ९ सय १५ जनाले स्थायी बसोबासका लागि विदेसिएका छन् । अस्थायी बसोबासका लागि ९२ हजार ३ सय ४९ जना बाहिरिएका तथ्यांक अध्यागमनमा छ ।
तपाईको प्रतिक्रिया