सम्पादकीय—स्वदेशमै गाडी उत्पादनमा लक्ष्मी समूहको उपलब्धि

डा बाबुराम भट्टराई प्रधानमन्त्री हुनासाथ ह्वात्तै चर्चित भए, त्यसको कारण उनले चढ्न रोजेको गाडी थियो । अरु प्रधानमन्त्रीहरु करोडकरोडका गाडी चढ्थे, भट्टराईले नेपालमै बनेको मुस्ताङ म्याक्स गाडी चढिदिए । उनले त्यो गाडी नचढ्दासम्म नेपालमै पनि गाडी बन्छ भन्ने धेरैलाई थाहै थिएन । तर, विराटनगरमा हुलास मोटर्सले मुस्ताङ म्याक्समात्रै होइन, अरु पनि गाडी बनाइरहेको थियो । सामान्य गतिमा मोटर उत्पादन भइरहेको थियो । भट्टराईको त्यो व्यवहारले सर्वसाधारण जनतामा निकै सकारात्मक छाप छोड्यो र उद्यमी व्यवसायीहरुलाई पनि निकै ठूलो हौसला दियो । तर, त्यस्तो हौसला र सकारात्मक सन्देशको प्रभाव धेरै टिक्न पाएन । अहिले हुलासले गाडी उत्पादनै गर्न छाडेको छ । उद्योग बन्द छ ।
नेपालमै सरसामान जोडजाड गरी गाडी उत्पादन गर्न सरकारले अन्तशुल्कमा छुट दिएको थियो । झन् प्रधानमन्त्रीले नै नेपालमा बनेको गाडी प्रयोग गरेपछि स्वदेशी उत्पादनप्रति ग्राहक आकर्षित भएका थिए । दुर्भाग्य के भने तिनै भट्टराईका पालामा स्वदेशमा बन्ने गाडीको अन्तशुल्क वृद्धि भयो । परिणाम देशले भोग्यो । भट्टराईले स्टन्टबाजी गरेर आफूले चर्चा त कमाए तर स्वदेशमा उद्योग चल्ने वातावरणमै तगारो लगाइदिए । उनको त्यस्तो दोगला चरित्रको मूल्य नेपाली अर्थतन्त्रले चुकाउनुपर्यो ।
पोखरामा नाङ्लो पसलबाट व्यापार व्यवसाय हुँदै उद्यमशीलतामा जमेको लक्ष्मी ग्रुपले अहिले नवलपरासीमा गाडी उत्पादनको कारखाना सुरु गरेको छ । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालले हुन्डाई मोटर्सको नेपाली एसेम्बल कारखानाको सुरुआत गरे र नेपालमै बनेको गाडी चढे पनि । कोरियाली मोटर उत्पादक हुन्डाईको नेपाली बिक्रेता लक्ष्मी समूहले नेपालमै गाडी उत्पादन थाल्नु खुसीको कुरा हो । ५ सयजनाभन्दा बढीलाई रोजगारी दिने र नेपालमै गाडी उत्पादन गर्ने उद्योग स्थापना हुनु आजको दिनमा चानचुने उपलब्धि मान्न सकिन्न ।
आखिर त्यही हुन्डाई कम्पनी पनि कोरियामा अमेरिकी मोटर फोर्डको एसेम्बल गर्ने कारखानाका रुपमा सुरु भएको थियो । पछि आफै मोटर गाडी उत्पादन गर्ने उद्योग बन्न ऊ सफल भयो । भारतमा पनि फोर्ड लगायतका मोटरहरुको जोडजाड अर्थात फिटिङ उद्योगकै रुपमा गाडी उत्पादन थालनी भएको थियो । अहिले भारतमै धेरै थरी गाडीको उत्पादन भइरहेको छ ।
नेपालमा पार्टपुर्जा फिटिङ गरी गाडी उत्पादन थालिनु सुखद सुरुआत हो नै तर मूल प्रश्न भने यसको निरन्तरतासँग छ । नेपालमा राजनीतिक अस्थिरता भएको हुँदा कुन बेला फेरि कुन सरकारले अहिले एसेम्बल उद्योगलाई दिँदै आएको ५० प्रतिशत अन्तशुल्क र पाटपुर्जाको ५० प्रतिशत भन्सार छुटको व्यवस्था फेर्ने हो ? उद्योगको निरन्तरताको लागि नीतिगत स्थिरता सबैभन्दा महत्वपूर्ण खाँचो हो । त्यसको प्रत्याभूति प्रमुख दलहरुले गर्नुपर्छ र स्वदेशमै मोटर गाडी उत्पादन वृद्धि हुँदै जाने वातावरण बनाउनुपर्छ ।
तपाईको प्रतिक्रिया