किन कुटिन्छन् डाक्टर ?

डा सञ्जय कोइराला २०८१ वैशाख ३१ गते १२:२०

‘डाक्टर भनेका भगवानसरह हुन्,’ अधिकांश बुढापाका बिरामीले आफ्नो उपचार गर्ने चिकित्सकलाई सुनाउने वाक्य हुने गथ्र्याे यो कुनै बेला । यसले विगतमा बिरामीको डाक्टर प्रतिको आस्थालाई दर्साउँछ । अहिले यो वाक्यांश खासै सुन्न पाइन्न । पहिले पहिले डाक्टरले बिरामीलाई बचाउने र उचित उपचार गर्ने काममात्रै गर्छन् भन्ने सबैको बुझाइ हुन्थ्यो । डाक्टरले निःस्वार्थ बिरामीको उपचार गर्छन् र उनीहरुको उद्देश्य सधैं बिरामीको रोग निको पार्नेमात्रै हुन्छ भन्ने आम बुझाइ हुने गथ्र्याे तर आज आएर डाक्टरहरुलाई ठग, लुटेरा र ज्यानमाराको बिल्ला भिराउन थालिएको अवस्था छ ।


दिनानुदिन डाक्टर आफ्नो कार्यस्थलमै कुटिइरहेका छन्, अस्पताल तोडफोड भइरहेका छन् । डाक्टर र अस्पतालप्रति अधिकांश जनताको यस्तो नकारात्मक दृष्टिकोण बन्नुमा आखिर कसको दोष छ त ? डाक्टर आफ्नै ? अन्य स्वास्थ्यकर्मी ? स्वास्थ्य संस्था ? अराजक उन्मुख समाज या सरकार ? यस बिषयमा सूक्ष्म अध्ययन अब एकदमै आवश्यक भएको छ ।


नेपालमा चिकित्सा क्षेत्रको इतिहास धेरै लामो छैन । करिब ६ दशकको इतिहास बोकेको यस क्षेत्रमा कुनै बेला डाक्टरी पेशालाई सेवाको दृष्टिकोणबाट मात्रै हेर्ने गरिन्थ्यो । शिक्षाको पहुँच सीमित रहेको उबेलाको नेपाली समाजमा डाक्टरी बिषय पढ्न विदेश नै जानुपर्ने हुँदा त्यसरी सरकारी कोटामा जाने विद्यार्थी पाउन मुस्किल पर्ने गथ्र्याे । यसरी सरकारले पढाउन पठाएका विद्यार्थीहरु अध्ययन पूरा गरी डाक्टर बनेर नेपाल फर्किन्थें र नेपाली बिरामीको उपचार गर्ने गर्थे ।

Advertisement


त्यति बेला उत्पादन भएका चिकित्सातर्फका जनशक्तिले पढाइमा आफैंले खर्च गर्न नपर्ने भएकाले पनि चिकित्सा पेशा सेवामूलक पेशाको रुपमा परिचित थियो । पढाइमा लाग्ने मेहनत र समय दुवै अन्य पेशाभन्दा अधिक रहने डाक्टरी पढाई सकेर आउन जो कोहीको सामथ्र्य हुने कुरा नै थिएन ।

गुणात्मकको बदलामा संख्यात्मक रुपमा अधिकतम जनशक्ति डाक्टरी पेशामा ओइरिने क्रमले पेशाको महत्व घटेकोमात्र छैन, अब आउने नयाँ पुस्तालाई वितृष्णा पनि बढाइरहेको छ ।

Advertisement


कम संख्याका चिकित्सकले अत्यधिक मात्रामा बिरामी हेर्नुपर्ने बाध्यता रहेको विगतमा डाक्टरी पेशा सेवामूलक भइकन पनि डाक्टरी पढ्न लाग्ने मेहनत र तत्पश्चात बिरामीको सेवामा अहोरात्र खटिनुपर्ने बाध्यताका कारण आर्थिक रुपमा भने डाक्टरको जीवन अन्य पेशाभन्दा सम्पन्न नै थियो । डाक्टरलाई समाजमा शैक्षिकसँगै नैतिक रुपमा उच्च वर्गमा गणना गर्ने गरिन्थ्यो ।


अहिले आएर हाम्रो समाजमा धेरै कुरा परिवर्तन भएका छन् । शैक्षिक चेतना र पहुँचसँगै देशमा ठूला राजनीतिक परिवर्तन भइसकेका छन् । हिन्दू धर्मको प्रभुत्व रहेको नेपाली समाजमा पश्चिमा सभ्यता र संस्कृतिको आगमनसँगै पश्चिमा दर्शनको उदारवाद र ब्यक्तिवादी सोंचले हाम्रो समाजमा गहिरो जरा गाडिसकेको छ । अधिकांश परिवारमा दुई पुस्ताबीचको वैचारिक मतभेद यति भयंकर हुँदै छ कि यसले अबको नेपाली समाजले लिने दिशा ठ्याक्कै निक्र्याेल गर्न मुस्किल परिरहेको छ । उदारवादको घुम्टोमा मौलाइरहेको उग्र राष्ट्रवाद अर्को डरलाग्दो कडी हुने सम्भावना उत्तिकै छ ।


खुला अर्थतन्त्र अंगालेसँगै नेपाल भित्रिएका विदेशी लगानी स्वास्थ्य क्षेत्रमा पनि व्यापक रुपमा बढ्दै गयो । सन् १९९४ मा भारतको मणिपाल ग्रुबाट प्राइभेट रुपमा सुरु भएको डाक्टरी पढाइ आज आएर अधिकांश नेपालीकै लगानीमा सञ्चालित मेडिकल कलेजहरुले चलाइरहेका छन् । स्वास्थ्य शिक्षामा लगानीले छोटो समयमै उच्च प्रतिफल दिने देखिएको हुँदा ठूला व्यवसायीदेखि ठूला नेताहरुसम्मले यो क्षेत्रमा लगानी गरेको पाइन्छ ।


स्वास्थ्य सेवालाई पूर्ण रुपले व्यवसायिक बनाउन महँगो स्वास्थ्य शिक्षा एक प्रमुख कारक तत्व हो । डाक्टरको रवाफिलो जीवनशैली देखेर आफ्ना सन्तानलाई डाक्टर पढाउन उत्प्रेरित अभिभावक आफ्ना सन्तानका लागि जति पनि लगानी गर्न तयार देखिन्छन् । डाक्टरी पढ्नका लागि चाहिने बौद्धिक क्षमता र लगनशीलता नहुँदा नहुँदै पनि आज पैसाको बलमा जो कोही पनि सहजै डाक्टरी पढाइ गरिरहेका छन् ।


राज्यलाई आवश्यक मेडिकल कलेज र डाक्टरको संख्या कति हो ? उत्पादन भइरहेका चिकित्सक, नर्स लगायत अन्य स्वास्थ्यकर्मीको न्यूनतम गुणस्तर के हो ? यस बिषयमा राज्यले कुनै अध्ययन गरेको छैन । बस जसरी चलेको छ, चलिरहन्छ । यस्ता बिषयमा क्षणिक आर्थिक फाइदाबाहेक अरु केही हेर्ने गरिएको छैन । हाम्रो देशमा नीति निर्माण गर्दा सहजता र अनुकूलतामात्रै हेर्ने गरिन्छ, न कि त्यसको आवश्यकता र औचित्य ।


यसरी गुणात्मकको बदलामा संख्यात्मक रुपमा अधिकतम जनशक्ति डाक्टरी पेशामा ओइरिने क्रमले यस पेशाको महत्व घटेकोमात्र छैन, अब आउने नयाँ पुस्तालाई यस पेशाप्रति वितृष्णा पनि बढाइरहेको छ । यो अवस्था निकै भयानक हो । उच्च शिक्षा हासिल गरिसकेका कैयौं वरिष्ठ चिकित्सकहरु पनि अहिले अमेरिका, बेलायत, अस्ट्रेलिया लगायत माल्दिभ्स या अझ कतै नपाए खाडीसम्म पनि जान थालेको अवस्थामा देशमा अझै धेरै मेडिकल कलेजहरुको आवश्यकता देख्नेहरुको जमात पनि ठूलो नै छ ।


भएकै जनशक्ति र स्वास्थ्य संस्थाको उचित व्यवस्थापन गर्न सक्षम नरहेको राज्यको सरकारी तथा गैरसरकारी निकायले लगानीको प्रतिफल उठाउनेमात्र उद्देश्य राखेर अघि बढिरहेका कारण यत्तिका धेरै उच्च तहका अस्पताल भइकन पनि अनुसन्धानमूलक क्षेत्रमा देखिएको उदासिनताका कारण कैयौं सामान्य उपचारका लागि अझै पनि देशका अधिकांश ठाउँबाट काठमाडौँ र दिल्ली धाउनुपर्ने बाध्यता कायमै छ । यसले गर्दा राज्यको खर्च भइरहेको अर्थ, जनशक्ति र समयको मूल्यांकन सायदै कसैले गरेका होलान् । मात्रै कति पैसा डाक्टरी पढ्न विदेश गयो भन्नेमात्रै यहाँ लेखाजोखा भइरहन्छ । लोक कल्याणकारी समाजवादको नाममा यो भद्दा मजाक हो भन्दा अत्युक्ति नहोला ।


स्वास्थ्य क्षेत्रका अन्य बिभागको तालामाला पनि उस्तै उस्तै छन् । राज्यका नर्सिंग पेशाको दयनीय स्थितिका कारण भइरहेको नर्सहरुको विदेश पलायन, नर्सिङ शिक्षा नीतिमा देखिएका नीतिगत समस्याहरुका कारण वर्तमान अवस्थामा हुँदै गैरहेको नर्सिङ बिशेषज्ञको अभावको बारेमा राज्यको उदासीनताले यो पेशा पनि अब चाँडै नै चरम संकटमा पुग्ने देखिन्छ । अत्यधिक फेरबदलका कारण दक्ष नर्सिङ जनशक्तिको अभावले चलिरहेका अधिकांश मेडिकल कलेजलाई अहिले पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न चुनौती दिइरहेको छ ।


यसै परिवेशमा चलिरहेको परम्परागत स्वास्थ्य सेवाले वर्तमानमा समय सापेक्ष अपेक्षित नतिजा दिन स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीले नसकिरहेको अवस्थमा भीडतन्त्र र बार्गेनिङको अर्को कुचक्रले राज्यको स्वास्थ्य प्रणालीको हरेक तहलाई अझ बढी धराशायी बनाउने निश्चित छ । राजनीतिको आडमा चल्ने भीडतन्त्रले स्वास्थ्य सेवामा पर्न सक्ने भवितव्यलाई मागिखाने भाँडो बनाउँदै गर्दा भइरहेको कानुनी राज्यको अवहेलनाको बारेमा सोच्ने सायदै कसैलाई समय होला ।

स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा पर्न जाने भवितव्य कसैको पनि इच्छाले नहुने, त्यसमा कतै प्रलोभन या अन्जानमा लापरवाही हुन सक्ने अवस्थमा राज्यका निकायहरुमा पुग्ने बाटो हुँदा हुँदै गरिने तोडफोड र हुलदंगाले कानुनी राज्यलाई जिस्काइरहेको छ ।
कोइराला नाक, कान तथा घाँटी रोग बिशेषज्ञ हुन्

डा सञ्जय कोइराला

नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् । 

तपाईको प्रतिक्रिया