हिन्दु धर्म संरक्षणमा दलित समुदाय
गैरदलितको समेत सहयोगमा बन्यो दुर्गा मन्दिर

तनहुँ ।
तनहुँको व्यास नगरपालिका–१३ बेलवासका परियार समुदाय गैरदलितको सहयोगमा दुर्गा भवानीको मन्दिर स्थापना गरी हिन्दू धर्म संरक्षण अभियानमा जुटेका छन् ।
बेलवास बेनिकोट परियार समाजमा आबद्ध ३७ घर दलितले हिन्दू धर्मको सारलाई भावी पुस्तासम्म बचाइराख्न गरेको अभियानमा स्थानीय गैरदलितबाट साथ र सहयोग मिलेको समाजका प्रमुख सल्लाहकार धनबहादुर परियार बताउँछन् ।
मन्दिर निर्माणका लागि आफूहरुले करिब छ आना क्षेत्रफललाई संरक्षण गरेकोसमेत परियारले जानकारी दिए । ‘सदियौँदेखि मान्दै आएको हिन्दू धर्म छाडेर अन्य धर्म अँगाल्न चाहनेहरुको चाप समाजमा बढ्दै गयो’, परियारले भने, ‘त्यसैले परियार समाजका सबै भेला भई हिन्दू धर्मलाई नै बचाई राख्नुपर्छ भनेर दुर्गा मन्दिर बनाउन जुटेका छौँ ।’
वडाध्यक्ष वसन्त आले, स्थानीय वर्च्याङ्दी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यमबहादुर आलेबाट, सचिव सिर्जना तिवारी र स्थानीय मिलन टोल विकास संस्थाका अध्यक्ष सुमित्रा बगाले लगायतबाट समेत मन्दिर बनाउन साथ र सहयोग पाएपछि आफूहरु मन्दिर बनाउन अघि बढेको परियार समाजका अध्यक्ष मनबहादुर परियारले बताए ।
उक्त मन्दिर निर्माणका लागि हालसम्म करिब ५ लाख खर्च भएको समाजले जनाएको छ । नगरपालिकाको कार्यालय र वडा नं १३ कार्यालयबाट ५०÷५० हजार प्राप्त भएको र अन्य रकम स्वेच्छिक चन्दाबाटै जुटाइएको अध्यक्ष परियारको भनाइ छ ।
‘सनातनदेखि मान्दै आएको हिन्दू धर्मको संरक्षणमा हामी पनि जुट्नुपर्छ भनेर मन्दिर निर्माणमा अग्रसर भएका हौँ’, समाजका अध्यक्ष परियारले भने, ‘मन्दिर निर्माणको अभियानमा टोलका सबै गैरदलितले साथ र सहयोग मिल्दा निकै खुसी लागेको छ ।’
परियार समाजले गरेको मन्दिर निर्माण कार्यमा आफूले पनि रु एक हजार पाँच सय चन्दा प्रदान गरी ऐक्यबद्धता जनाएको मिलन टोल विकास संस्थाका अध्यक्ष सुमित्रा बगालेले बताए । परियारले समुदायले मन्दिर निर्माण गरे पनि सबै जातजातिका मानिसले सहभागी भई पूजापाठ गर्नुपर्नेमा उनले जोड दिए ।
‘परियारहरुले मन्दिर बनाएर रचनात्मक काम गर्नुभएको छ’, टोल विकास संस्थाका अध्यक्ष बगालेले भने, ‘अब सबै मिलेर संयुक्त पूजापाठ गरी धार्मिक एकताको सन्देश दिन आवश्यक छ ।’
आफूहरुले मच्छिन्द्रनाथ रथ यात्राको दिन पारेर शनिबार नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतको सहभागितामा पञ्चेबाजासहित बजार परिक्रमा गरी दुर्गाको मूर्तिमा प्राणप्रतिष्ठा गरिएको थियो ।
नगर प्रमुख न्यौपानेले समाजमा विभेदमा परेको समुदायलाई उत्थानका लागि नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको बताए । ‘दलित समुदायले मन्दिर बनाउने प्रस्ताव ल्याएपछि हामीले सहयोग नगरी बस्न सकेनौँ’, नगर प्रमुख न्यौपानेले भने, ‘मन्दिर निर्माणपछि मानिसलाई सत्मार्गमा लाग्न प्रेरणा मिल्ने हाम्रो बुझाइ हो ।’
व्यास–१३ का वडाध्यक्ष वसन्त आले, नगरप्रमुख न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष विश्व बाँस्तोलालगायतले विभेदमा परेको समुदायबाट मन्दिर निर्माण हुनु सकारात्मक कुरा रहेको बताए । रासस









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया