सम्पादकीय—वैदेशिक रोजगारीका दुष्परिणामहरु

समाधान संवाददाता २०८१ जेठ १ गते १२:१९

नेपालको अर्थतन्त्रमा औपचारिक च्यानलबाट आउने विप्रेषणकै हिस्सा करिब २३ प्रतिशत छ । अर्थात् वैदेशिक रोजगारी नेपाली अर्थतन्त्रको एउटा महत्पूर्ण पक्ष बनिसकेको छ । एकातिर वैदेशिक रोजगारीले विप्रेषणमार्फत गरिबी घटाउन सहयोग गरेको छ भने अर्कातिर यसका प्रशस्तै दुष्परिणामहरु पनि देखिएका छन् । गएका १४ वर्षमा वैदेशिक रोजगारीमा गएकाबाट नेपालमा ८४.६६ खर्ब रेमिट्यान्स भित्रिएको छ ।

Advertisement

विप्रेषणमार्फत पेसा व्यवसायको विस्तार, शिक्षा, स्वास्थ्य, पोषण, आवास तथा स्थानीय आयआर्जनमा योगदान पुगेको छ भने आधारभूत आवश्यकताको परिपूर्ति पनि भएको छ । विदेशमा सिकेको ज्ञान, सीप, प्रविधि र उद्यमशीलता स्वदेशमा आएको छ र आंशिक रूपमा तीनको प्रयोग पनि भएको छ । जनताको जीवनस्तर सुधारमा योगदान गरेको छ । बहुसंख्यक युवालाई रोजगारीको अवसर प्रदान गरेको वैदेशिक रोजगारीले केही हदसम्म आधुनिकीकरण र सहरीकरणमा योगदान पु¥याएको छ ।


यति हुँदाहुँदै पनि वैदेशिक रोजगारीका धेरै नकारात्मक प्रभावसमेत देखिएका छन् । कास्कीमा मात्र आर्थिक आर्थिक वर्षको १० महिनामा मात्र २२ जनाको शव नेपाल आएको छ भने १५ जना गम्भीर घाइते र अपांग भई स्वदेश फर्किएका छन् । कतिपय ज्यान गुमाउनेका परिवारले क्षतिपूर्तिसमेत नपाउने अवस्था छ । अंगभंग भएकाहरुले जीवनभर सास्ती भोग्नुपर्ने देखिएको छ ।

परिवारको मुलीकै मृत्यु वा अंगभंग भएपछि अरु सदस्यको जीवनको पीडा अकल्पनीय हुन पुग्छ । सामाजिक तथा पारिवारिक विखण्डन र विग्रह बढ्दै जानुलाई सबैभन्दा पेचिलो नकारात्मक प्रभावका रूपमा लिन सकिन्छ । युवा जनशक्ति बिदेसिनाले देशको विकास निर्माणमा युवाशक्तिको अभाव भएको छ । गाउँघरमा युवा जमातको कमी छ ।

मलाम र जन्तीमा युवाको संख्या डरलाग्दो गरी कम देखिन थालेको छ । जनशक्तिको कमीले कृषियोग्य जमिन बाँझो हुँदै गएका छन् । विकासको गति सुस्त हुँदा बेरोजगारीको समस्या झन् बढ्दै गएको छ । वैदेशिक रोजगारीका नाममा हवाई टिकट, कमिसन र भिसा शुल्कबापतको ठूलो रकम बिदेसिएको छ भने वैदेशिक रोजगारीका नाममा कमिसनको जालो बढ्दै गएको छ ।

Advertisement


ठूलो ऋण लिएर विदेश जाने क्रम बढ्न थालेको छ । विदेशमा समेत सम्झौताअनुसारको तलब नपाउने र अलपत्र पर्ने क्रम पनि बढेको छ । लोभलाग्दो रोजगारीको प्रबन्ध गरिदिन्छु भनी ठगहरु गाउँ गाउँमा पुगी मानिस प्रलोभन दिएर ठगिरहेका छन् । सामाजिक सञ्जालको प्रयोग गरी विज्ञापन गर्ने र रकम ठगी फरार हुने घटनाको ग्राफ चुलिँदै छ । विप्रेषणबाट प्राप्त रकम उत्पादनमूलक कार्यमा खर्च नभई करिब ९८ प्रतिशत दैनिक उपभोग, लत्ताकपडा र विलासिताका सामान खरिदमा खर्च हुनु पक्कै राम्रो होइन ।

विदेशमा ज्यान गुमाउने श्रमिकको ग्राफ बढ्दो भए पनि सरकार उदासीन देखिन्छ  । अहिले उच्च दक्षता भएका र प्रतिभावान् युवासमेत मुलुकभित्र रोजगारीका अवसर नहुँदा विदेसिने गरेका छन् । समृद्ध देशको कुरा गर्ने नेतृत्वले देशमै रोजगारीका अवसर सिर्जना गर्न ध्यान दिनुपर्छ । दक्ष, ऊर्जावान् र दिनउमेरका युवायुवती सबैजसो विदेश पलायन हुँदा गाउँहरु वृद्धाश्रम जस्ता हुँदै गएका छन्, विस्तारै सहरहरु पनि त्यस्तै हुन सक्छन् ।

तपाईको प्रतिक्रिया