पुष्पलाल नेपाली जनताका सच्चा इतिहासकार

समाधान संवाददाता २०८१ जेठ २ गते ९:१३

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म शताब्दी समारोह २०८१को सन्दर्भमा विचार गोष्ठी गरिएको छ । पुष्पलाल जन्म शताब्दी समारोह समिति काठमाडौको आयोजना र पुष्पलाल अध्ययन केन्द्र कास्की पोखराको व्यवस्थापनमा भएको कार्यक्रममा विभिन्न विषय विज्ञहरुले पुष्पलालको योगदानको बारेमा कार्यपत्र पेश गरे ।


परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पुष्पलालको अन्तरसम्बन्ध, बाम बुद्धिजीवी रामराज रेग्मी र रामबहादुर भण्डारीले इतिहासको क्षेत्रमा पुष्पलालको योगदान विषयमा कार्यपत्र प्रस्तुत गरे । परराष्ट्रविद् श्रेष्ठले पुष्पलालले नेपालको भूराजनीतिलाई बुझेर नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडी बढाएको जानकारी दिए ।

नेपाललाई समृद्ध बनाउन पुष्पलालले आर्थिक कुटनीतिको पक्षमा मत जाहेर गरेको उल्लेख गर्दै उनले पुष्पलाल लोकतन्त्र, राष्ट्रियता र समुद्धिलाई एकै साथ समायोजन गर्ने विचारक भएको टिप्पणी गरे ।

Advertisement


बुद्धिजीवी गोपीरमण उपाध्यायले पञ्चशीलमा आधारमा परराष्ट्र नीति बनाउन पुष्पलालको योगदान रहेको बताए । बाम बुद्धिजीवी रेग्मीले पुष्पलालले द्वन्द्वात्मक भौतिकवादमा आधारित भएर इतिहास लेखनमा माक्सवादी दृष्टिकोण प्रयोग गरेको जानकारी दिए । उनले ऐतिहासिक भौतिकवादमा आधारित इतिहास लेखन वर्तमान समाजको माग भएको उल्लेख गरे । अहिलेसम्म पढाइ हुने इतिहासको विषय ऐतिहासिक भौतिकवादमा आधारित नभएको उनको तर्क छ ।


भीमाद नगरपालिकाका मेयर दधिराम खनालले वैज्ञानिक र व्यावहारिक रुपमा इतिहास लेख्ने पुष्पलाललाई राजनीतिक रुपमा मात्र हेरे अन्याय हुने बताए । उनले पुष्पलाल नेपाली जनताको सच्चा इतिहास भएको उल्लेख गरे । सचेत युवालाई चिठ्ठी लेखेर कम्युनिस्ट पार्टीमा लाग्न प्रेरित गरेको उनले बताए । अग्रज पत्रकार विश्वबन्धु भण्डारीले पुष्पलालले इतिहासका निर्माता जनता भनेको परिप्रेक्ष्यमा जनताको बीचबाट इतिहास लेख्न जरुरी भएको चर्चा गरे ।

Advertisement


बाम बुद्धिजीवी भण्डारीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई विर्सजन हुनबाट जोगाउन व्यक्ति प्रधान नभएर विचार प्रधान हुनु पर्ने तर्क गरे । पुष्पलाल जन्म शताब्दी समारोह समिति काठमाडौका संयोजक लोककृष्ण भट्टराईले पुष्पलाल नेपाली माक्स भएकोले सातै प्रदेशमा जन्म शताब्दी मनाउन लागेको जानकारी दिए ।

उनले इतिहास, परराष्ट्र, शिक्षा, संगठनात्मक, आर्थिक विकास लगायत ११ विधामा कार्यपत्र प्रस्तुत गरिने बताए । कार्यक्रममा पुष्पलाल अध्ययन केन्द्र कास्कीका महासचिव भीम कार्की, पुष्पलाल जन्म शताब्दी समारोह २०८१ का केन्द्रीय सदस्य पुण्यप्रसाद पौडेल लगायतले गण्डक प्रदेशमा कम्युनिस्ट पार्टी निर्माणमा योगदान रहेको चर्चा गरे ।

तपाईको प्रतिक्रिया