सम्पादकीय—अनलाइन हिंसाबाट जोगाऔं

नेपाल प्रहरीको साइबर व्यूरोमा अहिलेसम्ममा अनलाइनबाट हुने हिंसाबाट पीडित भएका मध्ये ६७ जना उजुरी दर्ता गराएका छन् । व्यूरोमा अनलाइनबाट हिंसा गरेको भनिएका २५ पिडक बिरुद्धमा उजुरी दर्ता भएको छ । बढ्दो इन्टरनेट सेवा प्रदायक छन् । इन्टरनेटको फैलावट र सूचना प्रविधिको पहुँच बढेको छ । नेपालमा मात्र १ सय ३७ त्यस्ता सेवा प्रदायक संस्था छन् । सूचना प्रविधिको बढ्दो विकासक्रमले अवसर र चुनौती छ । नेपालको सन्दर्भमा एकात्मक परिवार र बाल बालिका प्रति अभिभावकको ध्यान कम हुँदा बाल बालिका इन्टरनेटको लतमा फसेका छन् ।
विश्वव्यापी रुपमा हेर्ने हो भने संयुक्त राष्ट्रसंघले संसारभरमा औसतमा हरेक आधा सेकेन्डमा एक जना बालबालिका पहिलो पटक अनलाइन आइरहेको विवरण सार्वजनिक गरेको छ । अर्थात् बालबालिकाले इन्टरनेटमा बिताउने समय अभूतपूर्व रूपमा बढ्दो छ । बालबालिकाहरू अनलाइन माध्यममा हुर्कँदै छन् र निरन्तर परिवर्तनशील डिजिटल ल्यान्डस्केपमा सुरक्षित रहनका लागि उनीहरूलाई सहयोग चाहिन्छ । त्यस्तो व्यवस्था हुन नसक्दा अनलाइनबाट बाल बालिकालाई हुने हिंसा तथा यौन शोषणका द्रुत गतीमा बढेको छ । बाल बालिकाको अश्लिल चित्रण, हानी पुर्याउने मनसायले सम्बन्ध गाँस्ने, अनलाइन खेलहरु र यसको लत, यौन जन्य तस्बीर सहितको सन्देश र यौन फिरौती अनलाइन बाल यौन शोषणका स्वरुप हुन ।
बाल बालिकाको अनलाइन सुरक्षा सबैको चिन्ता र चासोको विषय बनेको छ । यस्तो अवस्थामा नेपालको विद्यालय शिक्षाको पाठ्यक्रममा अनलाइन बाल संरक्षणको विषय समेटिन लागेको छ । अनलाइन हिंसामा माध्यमिक तहका बाल बालिका बढी पीडित र पिडक हुने देखिएको छ । त्यसैले माध्यमिक तहको पाठ्यक्रममा अनलाइन बाल संरक्षणको विषय समेटिन लागेको छ । बाल बालिकालाई अभिमुखिकरण तालिम भन्दा पाठ्यक्रममा समावेश गरी परिक्षा समेत लिँदा साइबर अपराध र सुरक्षाको बारेमा पूर्ण रुपमा जानकार बन्न सक्छन् ।
साइबर अपराधबारे ज्ञानको कमि देखिएकोले देखासिखीमा बाल बालिका त्यस्तो अपराधमा संलग्न हुने देखिएको छ । पाठ्यक्रममा समावेश भएपछि बाल बालिकाले सबै कानुनी प्रक्रियाबारेमा जानकार हुने अपेक्षा गर्न सकिन्छ । राष्ट्रसंघीय बालकोष (यूनिसेफ)ले गरेको एक अध्ययनअनुसार ३० देशका एक तिहाइभन्दा बढी बालबालिका ’साइबरबुलिइङ’बाट पीडित छन् । यसका कारण हरेक पाँचमध्ये एक बालबालिकाले विद्यालय छाड्ने गरेका छन् । पच्चीस देशका झन्डै ८० प्रतिशत बालबालिकाले आफू अनलाइन बस्दा यौन दुव्र्यवहार तथा शोषणको खतरा महसुस गरेका छन् ।
बालबालिकाकै फोन तथा अन्य उपकरणमा रहेको ’प्यारेन्टल कन्ट्रोल’ सुविधाको व्यवस्था गरे हिंसाका घटनाबाट जोगाउन सकिन्छ । बालबालिका तथा साना उमेरका प्रयोगकर्तालाई सुरक्षित अनलाइन प्ल्याटफर्म निर्माण गर्न वा विद्यमान प्ल्याटफर्ममा हुन सक्ने अवाञ्छित घटनालाई रोक्न आवश्यक प्रविधिको विकासमा सरोकारवालाले ध्यान दिनु पर्ने देखिन्छ ।
तपाईको प्रतिक्रिया