अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र

समाधान संवाददाता २०८१ जेठ २ गते १५:२८

काठमाडौं ।
रंग पत्रकारिता हुँदै चलचित्र निर्देशक बनेका नवीन सुब्बा पहिलो चलचित्र ‘खाङ्ग्री’मार्फत नै चर्चामा आए । शेर्पा भाषामा तयार भएको उक्त चलचित्रमा हिमाली संस्कृति र कथा देखाइएको थियो भने यो पहिलो पटक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुग्ने निजी लगानीको चलचित्र थियो ।


ट्रेन्टो अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव लगायतमा सहभागिता जनाउन सफल भएका निर्देशक सुब्बाको दोस्रो चलचित्र ‘नुमाफुङ’, फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्को लगायतका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएका थिए ।


पछिल्लो समय नेपाल मौलिक कथा भन्नेमा अगाडि रहेको निर्देशक सुब्बाले सुनाए । ‘हामीले निर्माण गरेका चलचित्र अहिले विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइरहेका छन् । हामी मौलिक कथा भन्ने सन्दर्भमा छिमेकी मुलुक भारतभन्दा अगाडि छौँ किनकी उनीहरूको चलचित्र नपुगिरहेको अन्तर्राष्ट्रिय महोत्सवमा हाम्रो चलचित्र छनोट भइरहेका छन्’, निर्देशक सुब्बाले भने ।

Advertisement

सुब्बाको चौथो चलचित्र ‘गाउँ आएको बाटो’ जेठ २५ गते प्रदर्शन हुँदै छ । त्यसअगाडि विश्वप्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८ औँं संस्करणमा छनोट भई प्रथम प्रदर्शनी (वल्ड प्रिमियर) गरिएको चलचित्र दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सव, बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव लगायतमा छनोट भइसकेको छ । अन्तर्राष्ट्रिय महोत्सवमा हुने सहभागिताले नेपाली कला र संस्कृतिलाई प्रवद्र्धन गर्नुका साथै पर्यटन प्रवर्द्धमा समेत टेवा पुर्‍याउने उनको विश्लेषण छ ।

‘हामीले चलचित्रमार्फत दिइरहेको सन्देश र देखाइरहेको दृश्यले अरुलाई सहजै प्रभावित पार्न सक्छौँ । विश्वका ठूला चलचित्र उद्योग अहिले प्रविधिको सहायताले अगाडि बढिरहँदा हामीले आफ्नो मौलिकता प्रस्तुत गर्न सके त्यो सबैका लागि नयाँ र भिन्न हुनेछ’, निर्देशक सुब्बाले भने । यद्दपि उहाँ चलचित्र विदेशी र स्वदेशी दुवै बजारका लागि सुहाउँदो हुनुपर्नेमा स्पष्ट हुनुहुन्छ । विदेशी महोत्सवमा पुगेर वा स्वदेशमा व्यापारिक सफलतामात्र आर्जन गरेर चलचित्रको विकास नहुने उनको बुझाइ छ ।

Advertisement

‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नपुग्दासम्म हाम्रोबारेमा विदेशी चलचित्रकर्मीलाई धेरै ज्ञान हुँदैन । त्यहाँ हुने प्रदर्शनी, प्राप्त गर्ने पुरस्कारले हाम्रो निर्माण क्षमता र कथाबारे उनीहरूलाई अवगत गराउँछ । त्यस्तै, घरेलु बजारमा राम्रा चलचित्र बनाउने दबाब पनि बढ्छ । त्यस कारण दुवैलाई ध्यानमा राख्दै चलचित्र बन्नुपर्छ’, निर्देशक सुब्बा भन्छन् ।


उनले पछिल्लो चलचित्र ‘गाउँ आएको बाटो’ मा राई जातिको सामाजिक पृष्ठभूमिमा पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकोडालो बनाएर जीविकोपार्जन गरिरहेको एक परिवारको कथामा बनाएका छन् । त्यसमा गाउँमा मोटर बाटो भित्रिएसँगै आएको आधुनिक परिवर्तनले ल्याउने उतारचढावलाई प्रस्तुत गरिएको छ । गाउँमा सडक आएपछि बाबुछोराका सम्बन्धमा आउने उतारचढावको केन्द्रमा चलचित्र निर्माण कथावस्तु बुनिएको छ । उनी भन्छन्, ‘यो बुबाछोराको सम्बन्धलाई नियाल्ने प्रयास हो । यो कथा पढेपछि मैले मेरो बाल्यकाल र बुबासँगको सामिप्यतालाई महसुस गरेको थिएँ ।’


महोत्सवमा सहभागी भएको चलचित्र भन्नेबित्तिकै मनोरञ्जन नहुने भन्ने किसिमको भाष्य सही नभएको उनको भनाइ छ । किनकि चलचित्रको विधा र प्रस्तुतिकरणअनुसार मनोरञ्जन, समवेदना र हास्यरस हुने उनको ठम्याइँ छ । ‘अन्तर्राष्ट्रिय महोत्सवमा पुगेका चलचित्र हेर्न बढी दिमाग प्रयोग गर्नुपर्छ भन्ने भाष्य गलत छ । किनकि कालोपोथी होस् वा ऐना झ्यालको पुतली निकै मनोरञ्जनात्मक छ तर यसको प्रस्तुतिकरण नियमितभन्दा पक्कै फरक छ । यसकारण यो चलचित्रकर्मीको रोजाइमा परेको हो’, निर्देशक सुब्बाले भने ।

उनले बुवाछोराको कथाले चलचित्र भवनमा रहेका दर्शकलाई पर्दाभित्रका कलाकारसँग जोड्ने विश्वास व्यक्त गरे । ‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बा लगायतले अभिनय गरेका छन् । महेश राई र निर्देशक सुब्बाले लेखेको चलचित्रको छायांकन जोश हेरम, सम्पादन क्वान पुन लिउङ र हेडी लीले संगीत भरेका छन् ।

तपाईको प्रतिक्रिया