गाँजा खेतीलाई वैधानिकता दिन लघु उद्यमीको माग

समाधान संवाददाता २०८१ जेठ २ गते १८:३६

पोखरा ।
गण्डकी प्रदेशका लघु तथा घरेलु उद्यमीले गाँजा खेतीलाई वैधानिकता दिन माग गरेका छन् । गाँजा औषधीय गुण भएको तथा यसबाट बन्ने कपडा स्वास्थ्यकवद्र्धक भएको औंल्याउँदै गाँजा खेतीको प्रतिबन्ध खोल्नुपर्ने उनीहरुले बताएका हुन् ।


युएसएआइडी जल जंगलको आयोजनामा भएको प्राकृतिक स्रोतमा आधारित उद्यमीको व्यवसाय प्रवद्र्धन कार्यक्रममा बोल्दै पोखरा १५ रामबजार लक्ष्मीटोलमा रहेको ऋतु सौगात हस्तकला उद्योगकी सञ्चालक सुन्ती पुर्जाले गाँजा बहुउपयोगी रहेको जनाइन् । गाँजाको सेवनले विभिन्न रोग निको हुने तथा यसबाट बनेका कपडा स्वास्थ्यका लागि फाइदाजनक रहेको उनले बताइन् ।


‘विदेशी रक्सि विक्री वितरण, उत्पादन गर्न पाइने तर गाँजाखेती गर्न पाइदैन । सरकारले गाँजाबाट हुने फाइदालाई नियाल्न जरुरी छ ।’ उनले भनिन् ।

Advertisement


मेशिन नहुँदा अल्लोबाट क्षमता अनुसारको उत्पादन हुन नसकेको रुम अल्लो धागो उत्पादन तथा कपडा बुनाई समुहकी सञ्चालक मनकुमारी पुनले गुनासो सुनाइन् । वार्षिक आम्दानी १०/१५ लाख गर्न सकिने भएपनि मौलिक प्रविधिबाट उत्पादन गर्दा वार्षिक ४/५ लाख मात्रै आम्दानी हुने गरेको पुनले जानकारी दिइन् ।


रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी लिमिटेडका व्यवस्थापक नमराज खड्काले आगोलागी तथा पहिरोले माछालाई असर पार्ने बताए । ताल वरपर आगलागी हुन नदिन साथै पहिरो जानबाट रोक्न सरकारले ध्यान दिनुपर्ने उनको आग्रह छ ।

Advertisement


सरकारले चीनसँग अन्र्राष्ट्रिय व्यापार नीति सम्झौता नगर्दा रसुवा गढीमा व्यापार रोकिएको रसुवाका रमेश अधिकारीले बताए । अधिकारी गोलभेडा कृषक हुन् । उनले १६ रोपनी जग्गामा गोलभेडा खेती गर्दै आइरहेका छन् ।


सरकारले नीति नियम नबनाउँदा तिब्बतको केरुङ सरकारले नेपाली उत्पादनमा रोक लगाएको उनले सुनाए । ‘चीनको ४ महिना पुरानो स्याउ नेपाल भित्रिन्छ तर हाम्रो एकदिन अघिको गोलभेडा किन्न मान्दैन । सरकारको केहि पनि सहयोग छैन, व्यक्तिगत सम्बन्धका कारण व्यापार गरिरहेका छौं ।’ अधिकारीले भने ।


सोमबारदेखि बुधबारसम्म चलेको तालिमको उद्देश्य प्राकृतिक स्रोतमा आधारित उद्यमीको व्यवसाय प्रवद्र्धन गर्ने र उद्योगलाई दिगो रुपमा लैजान सचेतना दिनु थियो ।


तालिममा गण्डकी प्रदेशका ५ जिल्लाका २१ र रसुवा जिल्लाका २ गरी २३ जना सहभागी थिए । युएसएआइडी जल जंगलका उद्यम विकास अधिकृत निरबहादुर विक, दिगो कृषि र जैविक स्रोतहरूको लागि एशिया नेटवर्क (एनसाब) का विशेषज्ञ सुशिल ज्ञवाली, उद्यम विकास सहजकर्ता ताराखोला गाउँपालिकाका निरु घर्ती, छेडागाड नगरपालिका जाजरकोटका टीकाराम बाँठाले प्रशिक्षण दिएका हुन् ।


तालिममा उद्यमीलाई वातावरणीय दिगोपन सञ्चालनका लागि व्यवसाय योजना बनाउन, आवश्यक क्षेत्रको पहिचान गर्ने, सिप तथा अनुभव साटासाट गर्ने, व्यवसायले भोगेका समस्या छलफल लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

तपाईको प्रतिक्रिया