सम्पादकीय—मार्गदर्शक मदन

समाधान संवाददाता २०८१ जेठ ४ गते १२:१३

कम्युनिस्ष्टहरु बहुलवादी खुल्ला समाजमा विश्वास गर्छन् । बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीबाट शासन सत्ताको बागडोर सम्हाल्न सक्छन् भन्ने मान्यतालाई नेता मदन भण्डारीे नेपालको सन्दर्भमा स्थापित गर्न सके । कम्युनिस्ष्टलाई लोकतान्त्रिकीकरण गर्ने सेरोफेरोको जनताको बहुदलीय जनवाद (जवज)लाई मार्ग दर्शन सिद्धान्तको रुपमा प्रतिपादन गरेका मदनको नेपालमा प्रजातान्त्रिक तथा कम्युनिस्ष्ट आन्दोलनलाई सफल बनाउन योगदान छ ।

Advertisement


२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा उनको निधन भयो । मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवसको सन्दर्भमा उनले प्रतिपादन गरेको नयाँ राजनीतिक विचार र योगदानका चर्चा गरिएको छ । संविधानको सर्वोच्चता, बहुलवादी खुल्ला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली मदनले प्रतिपादन गरेको जवजको मुख्य विशेषता हो ।

आवधिक निर्वाचन, बहुमतको सरकार र संवैधानिक प्रतिपक्ष, कानुनी राज्य, वैदेशिक पुंजी र प्रविधिको उपयोग, क्षतिपुर्तीको नीति, वैदेशिक नीति, नेतृत्व र अधिनायकत्व, जनवादी व्यवस्थाको सुदुढीकरणको सवाललाई मुख्य विशेषतामा समेटिएको छ । जसले नेपालको राजनीतिमा महत्वपूर्ण र दुरगामी असर पारेको छ ।


मदनले प्रतिपादन गरेको विचारलाई नेपालका कम्युनिस्ट पार्टीहरुले अंगालेका छन् । त्यसैले मदनलाई नेपालको कम्युनिस्ट आन्दोलनलाई प्रजातान्त्रिक गर्ने र नेपालको आधुनिक कम्युनिस्ट राजनीतिका सिन्द्धान्तकारको रुपमा सबैले स्वीकार गरेका छन् । अहिले धेरै राजनीतिक दलहरु जवजलाई मार्ग दर्शक सिद्धान्त मानेर अघि बढेका छन् । मदनले छोटो समयमा कोरेको राजनीतिक रेखाको आधारमा नेपालका कम्युनिस्ट पार्टी चलेका छन् ।

नेपाली कांग्रेस र नेपालका कम्युनिस्टहरुको संयुक्त आन्दोलनबाट पञ्चायती व्यवस्थाको अन्त्य गर्न सकिने सयुक्त जन आन्दोलनका प्रणेता पुष्पलालले बनाएको कम्युनिस्ट पार्टीको जगमा मदनले काम गरे । उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई समय सापेक्ष बनाएर प्राण भर्ने काम गरे । नेपालमा कम्युनिस्ट पार्टी खुल्ला समाज तथा बहुदलीय प्रतिस्पर्धालाई आधार मानेर राज्य सत्तामा पुगेर प्रगतिशील सुधारको काम गरे । जवजको सिद्धान्तलाई अगांलेका कम्युनिस्टहरू ‘बुलेट’ बाट होइन, ‘व्यालेट’बाट राज्य सत्ता सम्हाल्न पुगेको नेपालको सफलता विश्वका कम्युनिस्टको लागि अनुकरणीय बन्न पुग्यो ।

Advertisement


२०४७ सालमा खुल्ला मञ्चबाट तत्कालिन राजालाई श्रीपेच फुकालेर खुल्ला राजनीतिमा आउन दिएको च्ुनौती दिएका मदनले २०४८ सालमा वहालवला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई पराजित गरी संसदमा छिरे । जस्तोसुकै चुनौतीको सामना गर्न सक्ने नेता जनतामा स्थापित बन्न सकिने उदाहरण मदनबाट अरु नेताले सिक्नु पर्छ । नेपालको कम्युनिस्ट आन्दोलनले बाटो बिराएर अलमलिएको थियो ।

यस्तो अवस्थामा उनले आन्दोलनलाई अग्रगतीमा लैजान मार्गदर्शकको काम गरे । सिंगो कम्युनिस्ट धारलाई आधुनिक शिराबाट लैजान उनले प्रेरित गरे । नेपालमा कम्युनिस्टहरु बहुदलीय प्रतिस्पर्धा र प्रजातान्त्रिक अभ्यासबाट आफ्नो लक्ष्य र सिद्धान्तलाई भेट्टाउन सक्ने भएका छन् । नेपालको कम्युनिस्ट आन्दोलनलाई सही दिशा र दिक्षा दिएर प्रजातान्त्रिक बाटोमा हिडाउने सफलताको श्रेय मदनलाई जान्छ ।

तपाईको प्रतिक्रिया