बागलुङ– पर्वत जोड्ने पुल ९ वर्षसम्म अधुरै

सय मिटर लामो यो पुलको ३ खण्डमध्ये १ खण्डको ढलान हुन बाँकी छ

राष्ट्रिय समाचार समिति (रासस) २०८१ जेठ ४ गते १२:३०

पर्वत ।
बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदीमाथि निर्माणाधीन मोटरेबल पुल ९ वर्षसम्म पूरा हुन सकेको छैन । पर्वतको फलेवास नगरपालिका ६ देविस्थान र बागलुङको जैमिनी नगरपालिका १ जोड्नेगरी निर्माण सुरु भएको पुल ९ वर्षसम्म पनि अधुरै रहेको हो ।

Advertisement


३० महिनामा निर्माण कार्य सक्नेगरी २०७३ असोज ९ गते सम्झौता गरिएको भए पनि अहिलेसम्म पूरा हुन नसकेको हो । सम्झौता अवधिअनुसार २०७६ असारमै पुल बनिसक्नुपर्ने थियो ।


जैमिनीघाटमा निर्माणाधीन यो पुल निर्माणको जिम्मा रसुवा/श्री गीता/फेवा संयुक्त निर्माण कम्पनीले पाएको थियो । १ सय मिटर लामो यो मोटरेबल पुल अलपत्र हुँदा २ जिल्लाका बासिन्दा सवारीसाधनमार्फत वारपार गर्नबाट बञ्चित भएका छन् । निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै काममा ढिलाइ गरेको स्थानीयको आरोप छ । निर्माणाधीन यो पुलको काम पूरा हुने कुनै टुंगो नदेखिएको स्थानीय ठाकुर भुसालले बताए ।

Advertisement


सय मिटर लामो यो पुलको ३ खण्डमध्ये १ खण्डको ढलान हुन बाँकी छ । सडक डिभिजन कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी अमर अधिकारीका अनुसार आगामी असार मसान्तसम्ममा सक्ने गरी म्याद थपिएको छ । निर्माण कार्यको उपलब्धि हेर्दा अबको २ महिनामा काम सकिने कुनै सम्भावना देखिएको छैन ।


अधिकारीले पुलको भौतिकतर्फ ८२ र वित्तीयतर्फ ८६ प्रतिशत काम सकिएको जानकारी दिए । खोचमा बनाइएको यो पुलको दुवैतर्फ सडकको पहुँच भने राम्रो छैन । पुल बनिसकेपछि पनि सडकमा जोड्न ठूलो लगानी चाहिने स्थानीय भोलानाथ भुसाल सुनाउँछन् ।

Advertisement


निर्माण कम्पनीका प्रतिनिधि विष्णु कोइरालाले पुलको पहिलेको लागत अनुमानमा परिवर्तन गर्नुपरेका कारण लामो समय लागेको दाबी गरे । ‘पुलको पिलर राख्दा ‘पायल फाउन्डेसन’ थिएन, पछि बनाएका हौँ, त्यसैले ढिला भयो’, उनले भने । पुलको बागलुङतर्फको भागमा सडकको पहुँच नभएकाले पनि समस्या परेको कोइरालाले सुनाए ।


फाउन्डेसनका लागि उपकरण लैजान सडक नहुँदा १ वर्ष ढिला भएको उनको तर्क छ । वैकिल्पक राजमार्गका रुपमा विकास गरिएको नागडाँडा–कार्कीनेटा–फलेबास–जैमुनी सडकमा पर्ने यो पुल समयमै सम्पन्न गर्न सरोकारवालाले पनि चासो नदेखाएको स्थानीयको आरोप छ । थप गरिएको म्याद सकिन अब २ महिनामात्र बाँकी छ ।


नदीको पानी बढ्ने अवस्था आएकाले चालु वर्ष ढलान हुनेमा विश्वस्त हुन नसकेको स्थानीय हरिबहादुर क्षेत्रीले बताए । हिउँद याममा धमाधम काम नगरेका कारण ढिलाइ भएको उनी औंल्याउँछन् ।


यो पुल कालीगण्डकी करिडोरको पर्वत र बागलुङतर्फको भागसँग जोडिने भएकाले महत्वपूर्ण मानिएको छ । यो सडकले हालको यात्रालाई झण्डै १० किलोमिटर छोटो बनाउने फलेबासका पूर्वनगर प्रमुख पदमपाणि शर्माले जनाए ।

आफ्नो कार्यकालमा सुरु गरेको वैकल्पिक राजमार्गमा पर्ने पुल समयमै सम्पन्न गर्न आफूले पहल गरिरहेको शर्माले उल्लेख गरे । सो पुलको १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ लागतमा निर्माणका सम्झौता भएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया