नियम मिचेर प्रअ नियुक्ति

अदालतद्वारा निर्णय कार्यान्वयन नगर्न आदेश

समाधान संवाददाता २०८१ जेठ ६ गते ११:०७

पर्वत ।
कुश्माबजारको नारायण माध्यमिक विद्यालयमा नियम विपरीत प्रधानाध्यापक नियुक्ति भएको छ । विद्यालय व्यवस्थापन समितिले वरिष्ठ शिक्षकलाई पाखा लगाएर कनिष्ठलाई प्रअ नियुक्त गरेको हो । तर उच्च अदालत पोखराको बागलुङ इजलासले प्रअ नियुक्ति कार्यान्वयन नगर्न आदेश गरिसकेको छ ।

Advertisement


विद्यालयमा २०७७ चैत ९ गतेदेखि प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेलको गत चैत ६ गते शिवालय माविमा काज सरुवा भएपछि व्यवस्थापन समितिले वरिष्ठतम् शिक्षकलाई जिम्मेवारी नदिइकन कनिष्ठलाई जिम्मेवारी तोकेको छ ।


पोखरेलपछि वरीयताका आधारमा शुभन्तनाथ सुवेदी थिए । शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ को नियम ९३ को उपनियम १२ अनुसार विद्यालय व्यवस्थापन समितिले सुवेदीलाई निमित्त प्रअको जिम्मेवारी दिनुपर्ने भए पनि उनीभन्दा कनिष्ठ प्रकाश रिजाललाई निमित्त प्रअको जिम्मेवारी दिएको सुवेदीको गुनासो छ ।

Advertisement


विद्यालय व्यवस्थापन समितिको वैशाख ६ गते बसेको बैठकले प्रकाश रिजाललाई प्रधानाध्यापकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो । यसअघि विद्यालयमा आर्थिक अपचलनको घटना बाहिरिएपछि २०८० असोज २३ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले तत्कालका लागि माध्यमिक तह तृतीय श्रेणीका शिक्षक रिजाललाई निमित्त प्रअको जिम्मेवारी दिएको र पछि पुस ८ गतेको बैठकले आर्थिक कारोबारको जिम्मासमेत सुम्पिएको थियो ।


आपूmभन्दा कनिष्ठ शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले प्रअको जिम्मेवारी दिएपछि वरिष्ठताको वरीयतामा रहेका शिक्षक शुभन्तनाथ सुवेदीले उच्च अदालत पोखराको बागलुङ इजलासमा रिट निवेदन दायर गरेका थिए । उक्त रिटउपर अदालतले वैशाख २५ गते विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयन नगर्नु, नगराउनू भनी अन्तरिम आदेश जारी गरेको छ ।

Advertisement


उच्च अदालत बागलुङ इजलासका न्यायाधीश मदन पोखरेल र यज्ञबहादुर राना मगरको संयुक्त इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘विद्यालयको निमित्त प्रअको जिम्मेवारीमा प्रकाश रिजाल रहेकै बेला शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ को नियम ९३ मा समेत कुनै अवधि किटान नगरिएको, अर्को व्यवस्था नभएसम्मका लागि प्रधानाध्याकको जिम्मेवारी प्रदान गर्ने अधिकार नभएको अवस्थामा वैशाख ६ गतेको विद्यालय व्यवस्थापन समितिको निणर्य शिक्षा ऐन विपरीत देखिएकाले रिट निवेदनको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनू ।’ अदालतले विद्यालयलाई जवाफका लागि १५ दिनभित्र हाजिर हुन भनेको छ ।


शिक्षक सुवेदीले गत चैत २४ गते आफूलाई निमित्त प्रधानाध्यापक नियुक्त गरिपाऊँ भनी विद्यालय व्यवस्थापन समितिमा दिएको निवेदन उपर कुनै सुनुवाइ नभएको बताए । आफू विदामा बसेको दिन पारी कुनै जानकारी विना आफूभन्दा कनिष्ठ रिजाललाई प्रअ नियुक्त गरेपछि आफू न्यायका लागि अदालत जानुपरेको उनले सुनाए ।


अदालतको अन्तरिम आदेशपछि मात्र व्यवस्थापन समितिले जेठ २ गते विद्यालयको रिक्त पूर्णकालीन प्रधानाध्यापक करारमा पदपूर्ति गर्न विद्यालयमा कार्यरत शिक्षकहरुवाट विकास प्रस्ताव माग गरेको छ । विकास प्रस्ताव पेस गर्ने अन्तिम मिति जेठ १५ गतेसम्म रहे पनि विद्यालय व्यवस्थापन समितिको वैशाख ६ गतेको बैठकले नै रिजाललाई प्रअमा नियुक्त गरेको थियो । तर मुद्दाको फैसला नभइकन प्रअको विज्ञापन खोल्नु पनि नियम विपरीत नै हुने समितिकै सदस्यहरुको भनाइ छ ।


कुश्मा नगरपालिकाका शिक्षा अधिकृत विष्णुप्रसाद तिवारीले विद्यालयको प्रअ नियुक्ति गर्दा विद्यालयमा शिक्षा ऐन र नियमावली बमोजिम वरिष्ठ र योग्यतमको आधारमा छनोट गनुपर्ने बताए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद शर्माले आर्थिक अपचलनको घटनापछि विद्यालयमा आएको समस्याका कारण तत्कालीन अवस्थामा प्रकाश रिजाललाई निमित्त प्रअको जिम्मेवारी दिइएको र यसमा सबै शिक्षक र व्यवस्थापन समितिको सहमति रहेको दाबी गरे । उनले विद्यालयको असहज परिस्थितिलाई सहज बनाउनका लागि वैशाख ६ गते पअको जिम्मेवारी तोकिएको बताए ।


विद्यालय व्यवस्थापन समितिका सदस्य पुष्कल सुवेदीले अदालतको अन्तरिम आदेशपछि सबैको रायसुझावको आधारमा प्रधानाध्यापक नियुक्तिको प्रक्रिया थालिएको जानकारी दिए । व्यवस्थापन समितिको वैशाख ६ गते दिएको जिम्मेवारी अदालतले कार्यान्वयन नगर्न भनेपछि पूर्णकालीन प्रअ नियुक्त प्रक्रिया थालिएको र जेठ १५ गतेपछि नियमपूर्वक नियुक्त गरिने बताए ।


विद्यालयका प्रधानाध्यापकको कार्यभार सम्हालेका प्रकाश रिजालले तत्कालीन असहज परिस्थितिमा आफूले जिम्मेवारी लिएको बताए । व्यवस्थापन समितिले प्रद्यानाध्यापक नियुक्त गर्न नमिल्ने भएकाले आफू निमित्त प्रअ नै भएको उनको भनाइ छ ।

‘विद्यालय व्यवस्थापन समितिको गत असोज २३ गतेको निर्णयले आफुलाई निमित्तको जिम्मेवारी दिएपछि शुभन्तनाथ सुवेदीलाई तपाईं हुनुस् भनेर प्रस्ताव गर्दा उहाँले मान्नुभएन,’ रिजालले भने, ‘म भन्दा सिनीयर शुभन्त सर नै हो । उहाँलाई निमित्त बनाउनुपर्ने थियो, तर व्यवस्थापन समिति, भूपूव्यवस्थापन समिति, शिक्षक लगायत सबैको सहमतिमा मलाई जिम्मेवारी दिइयो ।’


निमित्त प्रअ बन्न नमानेको रिजालको कुरामा भने सुवेदीले पुरै झूठ र निराधार भएको बताए । सबै प्रक्रिया आफूलाई नसोधी गरिएको उनको भनाइ छ । नारायण माध्यमिक विद्यालयको २०७९ साउन १५ गते जारी विद्यालय सुधार योजनामा पनि सुवेदी तत्कालीन प्रअ पोखरेल पछि दोस्रो वरीयतामा र रिजाल पाँचौ वरीयतामा छन् ।

तपाईको प्रतिक्रिया