शिक्षक लक्षित ह्याण्डबलको प्रशिक्षण सकियो

पोखरा ।
पोखरामा शिक्षकहरु लक्षित ५ दिने ह्याण्डबल प्रशिक्षक/प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा गत जेठ १ गते देखि पोखरामा सञ्चालन भएको उक्त प्रशिक्षण शनिबार सम्पन्न भएको हो ।
विद्यालयस्तरमा ह्याण्डबल खेलको विकाससँगै युवा खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ समापन कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरे ।
त्यस अवसरमा बोल्दै उपाध्यक्ष गुरुङले गण्डकी प्रदेशको ह्याण्डबलको बलियो उपस्थितिलाई अझै बलियो बनाउन प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने बताए । उनले सिकेको सिपको सदुपयोग गर्दै युवा खेलाडी उत्पादन, ह्याण्डबलको विकास र प्रवद्र्धनमा खर्च गर्न आग्रह गरे ।
प्रदेश खेलकुद परिषदले सबै खेलको विकासका लागि विभिन्न कार्यक्रमहरु अघि सारेको जनाउँदै खेलकुदलाई प्रविधिमैत्री बनाउन समेत जोड दिए । उपाध्यक्ष गुरुङले समाज रुपान्तरण र संस्करयुक्त समाज निर्माणको अभियानमा खेलकुद अपरिहार्य रहेको उनको भनाइ थियो ।
प्रदेश खेलकुद परिषदका सदस्य एवं गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रदेश खेलकुदका सदस्य एवं प्रदेश ह्यान्डबलका उपाध्यक्ष गिरमान गुरुङ, महासचिव राजेन्द्र पहाडी, प्रशिक्षार्थी शिक्षक सुरेन्द्रराज धितालले आफ्ना भनाई राखेका थिए ।
पाँच दिन सम्म सञ्चालन भएको प्रशिक्षणमा प्रशिक्षकहरु राम बहादुर क्षेत्री, चित्र बहादुर थापा, विशाल बस्नते, विशाल नेपालीले प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षणमा कास्कीसहित विभिन्न ७ जिल्लाका ४० जना खेल शिक्षकहरुको सहभागिता थियो ।
प्रदेश ह्याण्डबल संघले पोखरामा जेठको तेस्रो साता सम्म प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिताको तयारीसमेत गरेको छ ।
तपाईको प्रतिक्रिया