पोखरा २८ मा कृषि यन्त्र र मौरी घार वितरण

समाधान संवाददाता २०८१ जेठ ६ गते १६:३८

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २८ ले वडाका कृषकलाई कृषि यन्त्र र मौरी घार वितरण गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २८ र पोखरा महानगर कृषि महाशाखाको समन्वयमा ५० प्रतिशत अनुदानमा २० वटा कृषि यन्त्र र १ सय वटा मौरी घार वितरण गरिएको हो ।

Advertisement


उक्त कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले कृषि यन्त्रको प्रयोग गर्दै खेती योग्य बाँझो जमिनमा कृषि उत्पादन गर्नुपर्नेमा जोड दिए । कृषि उत्पादन मानव जातिको स्वास्थ्यसँग जोडिएको बताए । वडा अध्यक्ष लामिछानेले परम्परागत रुपमा प्रयोग गरिँदै आइएको प्रांगारिक मललाई प्रयोग गरी कृषि उत्पादन गर्न सके स्वास्थ्य जीवनयापन गर्न सकिने सुनाए ।


हरेक परिवारमा दूध उत्पादन गर्नुपर्ने खाँचो वडाध्यक्ष लामिछानेले औंल्याए । उनले खेतीयोग्य जमिनमा कृषि उत्पादन गर्दै तरकारी, फलफूल, मौरी लगायत कृषि उत्पादनबाट कृषकहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ कृषि कार्यक्रमलाई बढी जोड दिइएको स्पष्ट पारे ।

Advertisement


वडाध्यक्ष लामिछानेले आफू निर्वाचित भएर आए पछि आफूले कृषिमा धेरै ध्यान दिएको बताउँदै हाल दैनिक ५ सय लिटरभन्दा बढी दूध निर्यात भएको जानकारी दिंदै यसले कृषकहरु थप उत्साहित भएको आफूले महसुस गरेको बताए । पोखरा २८ को रैकरमा र स्याङखुदीमा तरकारी संकलन केन्द्र सञ्चालन गरिएको जानकारी दिँदै पोखरा महानगर कृषि महाशाखाको एम्बुलेन्समार्फत तरकारीको बजारीकरण गरीएको बताए ।


यसै गरी सोही कार्यक्रममा पोखरा महानगर कृषि महाशखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरमै वडा नम्बर २८ वडामा कृषि कार्यक्रम उत्कृष्ट भएकोमा प्रशंसा गर्दै वडा कार्यालयलाई धन्यवाद दिएका थिए । पोखरा २८ मौरीको पकेट क्षेत्र पनि भएको बताउँदै प्रमुख कडरियाले मौरी पालन कार्यमा लाग्न कृषकलाई आग्रह गर्दै महानगर कृषि महाशाखाले सहयोग गर्ने बताए ।

Advertisement


वडा सदस्यहरु डाल्डादेवी भुजेल, वीरेन्द्र भण्डारी, वडा नम्बर २८ कृषि सञ्जालका सचिव माधव पौडेल लगायतले कृषिका बारेमा आ–आफ्नो धारणा राखेका थिए । कृषि सञ्जालका संयोजक लेखनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष राधिका पौडेलले स्वागत गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया