पहिले जनप्रतिनिधि, अहिले समाजसेवी

रवीन्द्र माकाजु २०८१ जेठ ६ गते १६:५५

उमेर ८३ वर्ष, तर जोश युवा जस्तै, पोखराका पूर्व उपप्रधानपञ्च विश्वमोहन गौचन । गौचन नेपाल एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष एवं एचआइभी तथा एड्स सञ्जालका गण्डकी प्रदेशका अध्यक्षसमेत छन् । एड्स रोग उन्मुलनका लागि दत्तचित्त उनले घरमै कार्यालय राखी निःशुल्क सेवा दिएका छन् । यो संस्थामा उनी २०५४ सालदेखि लगातार अध्यक्ष छन् ।


तर उनको एउटै चिन्ता छ एड्सको डढेलोबाट कसरी समाजलाई जोगाउने ? यसका लागि उनले आफन्त, शुभचिन्तक, सहयोगीबाट आर्थिक संकलन गरी घरदैलो अभियान, बृत्तचित्र निर्माण, निबन्ध प्रतियोगिता, अन्तक्र्रिया, लोकदोहोरी, चित्रकला प्रतियोगिता आदिका माध्यमबाट सचेतना जगाउँदै छन् ।


विश्वमोहन बुवा रामबहादुरको प्रेरणाले समाजसेवामा आएका हुन् । उनी पोखरा महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बने ३ पटक । पछि, उनी पोखरा नगर पञ्चायतमा उपप्रधानपञ्च हुँदै कार्यबाहक प्रधानपञ्च पनि भए । उनले पछिल्लो समयमा एड्स रोग सचेतनाका लागि २०६५ सालमा वृत्तचित्र बनाए । सो वृत्तचित्रले फिल्म फेस्टिबल २०६५ मा जुरी अवार्ड पायो भने अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा इन्करेज अवार्ड हाँसिल गर्‍याे ।

Advertisement


गौचन हरेक अभिभावकलाई सल्लाह दिन्छन्–आफ्ना सन्तान कहाँ जान्छन्, के गर्छन् ख्याल राख्नुपर्छ । रोजगारीका लागि विदेश जाने युवायुवतीमा एड्सको डढेलोले छोपेको उनको भनाइ छ । भन्छन्, ‘सरकारले एड्स संक्रमितलाई सीपमूलक तालिम केन्द्र खोलेर सहयोग गर्नुपर्छ ।’


गौचनले २००६ तिर पोखराको पहिलो स्कुल पोखरा पब्लिक स्कुलमा अक्षर चिन्ने अवसर पाए । उनले १६/१७ सालतिर पाउँदुरको प्राइमरी स्कुलमा शिक्षक भई सेवा पुर्‍याए । त्यस बेला उनलाई भारतीय राजदूताबासको वेलयफेयर कोषबाट ५० (भारु) मासिक तलब दिने गरिन्थ्यो ।

Advertisement

विश्वमोहन गौचन पोखरा महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बने ३ पटक । पछि, उनी पोखरा नगर पञ्चायतमा उपप्रधानपञ्च हुँदै कार्यबाहक प्रधानपञ्च पनि भए


पछि, उनलाई पोखरा १३ भद्रकालीको स्कुलमा सरुवा गरियो । त्यहाँ हितबहादुर थापा हेडमास्टर थिए । गौचन सम्झन्छन्–त्यस बेला रमेशकान्त सिग्देल, चित्रांगद सिग्देल, तीर्थ शेरचन र म लगायतका शिक्षक थियौं ।


गौचनलाई थप अध्ययन गर्ने रहर जाग्यो । काठमाडौं हुँईकिए । बुवा रामबहादुरले हातमा ३ सय रुपैयाँ राखिदिएको उनी अहिले पनि सम्झन्छन् । काठमाडौं पुगेपछि उनी लाजिम्पाटको शान्ति विद्यागृहमा र कलेज अफ एजुकेसनमा पढे । पछि टोलवासीको सहयोगमा उनी राजनीतिमा होमिए ।


उनी वडाध्यक्ष हुने बेलामा नगेन्द्रबहादुर रायमाझी पोखराका प्रधानपञ्च थिए । अमरबहादुर कार्की प्रधानपञ्च हुँदा उनी उपप्रधानपञ्च चुनिए । त्यस बेला वडाध्यक्षहरुले प्रधान र उपप्रधान पञ्च चुन्ने चलन थियो । गाउँफर्क राष्ट्रिय अभियान जिल्ला अध्यक्ष हुँदै अञ्चल सभापति बन्न पुगे गौचन । त्यस बेला गाउँफर्क अभियानले गाउँघरमा प्रधानपञ्च लगायत जनप्रतिनिधि छान्ने गर्दथ्यो ।


ज्येष्ठता, सामाजिक अभियन र नैतिक चरित्रका आधारमा जनप्रतिनिधि छानिन्थे । बुवा रामबहादुरले आफूलाई कहिल्यै पनि भ्रष्टाचार नगर्नू र नैतिक चरित्र बचाउनु भन्ने शिक्षा दिएकाले जीवनभर त्यसलाई अनुशरण गरेको उनी सुनाउँछन् । गौचनको राजदरबारसँग पनि गहिरो सम्बन्ध थियो । २०२८ जेठ ३० गते राजा महेन्द्रले आफूलाई आदरपत्र प्रदान गरेको उनी सम्झन्छन् ।
गौचन वडाध्यक्ष बन्नुअघि पोखराको बगर साँच्चिकै बगर थियो । धोवीगौंडामा ढुंगा थुपारिन्थ्यो । मान्छे हिड्नसमेत असहज थियो । बाटोघाटो पिच केही थिएन । पृथ्वीनारायण क्याम्पसको चौरमा पराजुलीहरुले कोदो र धानको बिउ राख्दथे ।


उनले वडाको विकासमा निकै ध्यान पु¥याए । गौचन राम्रा फुटबल खेलाडी पनि हुन् । २०१६ मा उनको विवाह सिद्धिकुमारीसँग भएको थियो । गौचन दम्पतीका २ छोरा लेलिन र मानव र छोरी सुपुत्री छन् । लेलिन बेलायतमा बस्दछन् भने मानव पोखरामा आफ्नै व्यवसायमा सक्रिय छन् । अम्बिका जापानमा छिन् । उनका भाइ विनोद गीतकार र कविसमेत थिए । बहिनी वसन्ती लालचन पनि चर्चित गीतकार थिईन् ।


विश्वमोहन गौचन थकाली सेवा समितिका निवर्तमान अध्यक्ष पनि हुन् । उनलाई कवि भूपी शेरचन निकै मन पर्छ । गौचनले आफ्नी श्रीमती सिद्धिकुमारीको सम्झनामा पुस्तकसमेत प्रकाशन गरेका छन् । उनको योगदानको कदरस्वरुप धेरै संघ, संस्थाले सम्मानपत्र, कदरपत्र, अभिनन्दनपत्र प्रदान गरेका छन् । उनी डागर स्मृति समाजसेवा पुरस्कार २०६९ बाट समेत सम्मानित भएका थिए ।


जिल्ला शिक्षा समितिको सदस्य, बाल मन्दिर स्कुलका संस्थापक सदस्य, अनिवार्य निशुल्क प्राथमिक शिक्षा वडा नं. १ का सदस्य, नेपाल परिवार नियोजन संघ कास्कीका संस्थापक सदस्य, बालज्योति स्कुल बगरका संस्थापक अध्यक्ष, विश्व हिन्दू महासंघ जनजाति समन्वय समितिका संयोजक, भूपू खेलाडी मञ्चका सदस्य हुन्– विश्वमोहन । गौचनले आदिकवि भानुभक्तको शालिक पृथ्वीनारायण क्याम्पस हातामा स्थापना गर्न पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।


२०८० मा नेपाल सरकारले उनलाई प्रवल जनसेवा श्रीपदक प्रदान गरेको थियो । एड्स रोग निवारणकै लागि अहोरात्र जुटेका गौचनको विचारमा चेतना, सतर्कता सचेतना नै यसको मूल औषधि हो । उनको नारा छ–जनचेतना जगाऔं एचआईभी भगाऔं । उनलाई विश्वास छ कुनै न कुनै दिन एड्सको औषधी पत्ता लाग्नेछ ।


धर्मकर्ममा रुचि राख्ने गौचन कसैलाई चिढ्याउँदैनन् । उनी अरुको आलोचना गर्दैनन्, निरन्तर आफ्नो कर्ममा लागि पर्छन् । उनको जीवनमा सवैभन्दा ठूलो दुःख पत्नी सिद्धिकुमारीको वियोग थियो । उनले श्रीमतीको नाममा पुरस्कार स्थापना हेतु जरो टुप्पो संरक्षण साहित्य समाजमा ३ लाख ४५ हजारको कोष स्थापना गरेका छन् ।


गौचनले पूर्व जर्मनीमा भएको विश्व युवा सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सन् १९७२ मा जर्मन पुगेका गौचनले रुस, जर्मन, थाइल्यान्ड, बेलायत, जापान, भारत, हङकङ, कोरिया लगायतका मुलुक भ्रमण गरेका छन् । गौचन दम्पत्तीले जीवन निर्वाहका लागि काठमाडौका खिचापोखरी र टेवाहलमा १५/१६ वर्ष होटल व्यवसाय सञ्चालन गरेको देखिन्छ । प्रायः पोख्रेली गौचनका होटलमा बास बस्ने गर्दथे ।

रवीन्द्र माकाजु

(माकाजु स्वतन्त्र लेखक हुन् )

तपाईको प्रतिक्रिया