पाेखरा १६ को भुतेखोलामा बन्यो पुल

समाधान संवाददाता २०८१ जेठ ७ गते ११:३३

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १६ मा गण्डकी प्रदेश सरकारले बनाएको सडक तथा पुल उद्घाटन गरिएको छ । शनिबार पोखरा महानगरपालिका वडा नम्बर १६ र पूर्वाधार विकास कार्यालय कास्कीको संयुक्त आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भुतेखोला मोटरवेल पूल, भित्तेबजार सडक स्तरोन्नति र घुरकुना दाद्रे र्‍याले सडक उद्घाटन गरे ।

Advertisement


कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री राजीव गुरुङसमेत सहभागी थिए । पूर्वाधार विकास कार्यालय कास्कीका सिडिइ शोभियत खड्काले तीनवटै योजनाको वस्तुस्थिति, खर्चको अवस्था लगायतका विषयमा प्रष्ट पारे । खड्काका अनुसार तीनवटै योजना आर्थिक वर्ष ०७९–०८० मा सुरु भएर आर्थिक वर्ष ०८०–०८१ मा सम्पन्न भएका हुन् ।


भित्तेबजार सडक स्तरोन्नतिको काम अमित विल्डर्स खासाङ गाउँपालिका मुस्ताङको निर्माण व्यवसायीले गरेका हुन् । यो योजनाको ठेक्का सम्झौता रकम ३ करोड ८१ लाख रुपैयाँ भए पनि ३ करोड ७१ लाखमा करिब ७ सय मिटर सडक स्तरोन्नति भएको हो । बाटो ८ मिटर चौडा छ ।

Advertisement


भदौरे निर्माण सेवा पोखराका निर्माण व्यवसायीले यो योजनाको ठेक्का प्राप्त गरेका थिए । ३ करोड २८ लाखमा सम्पन्न भएको पुल १४ मिटर लामो छ । घुरकुना दाद्रे ¥याले सडक ३ करोड ५८ सम्झौता भए पनि ३ करोड ७६ लाख लागत लागेको थियो । यो योजनामा लागत बढ्नुको कारण बस्ती बग्न सक्ने जोखिम देखिएर ग्याबिनको काम थप गर्नु परेकोले हो ।


३ किमी सडकमध्ये ८ सय ४० मिटरमा कालोपत्र तथा बाँकीमा ग्राबेल गरिएको छ । कार्यक्रममा मुख्यमन्त्री अधिकारीले विकास गाउँमा जाने तर गाउँका बासिन्दा सहर झर्ने क्रम बढेको भन्दै यो क्रम रोकिनुपर्ने औंल्याए । विकास गाउँमा पुगेपछि त्यसको फाइदा लिदै अर्गानिक खेती, होमस्टे लगायतका कार्यमार्फत पर्यटन मैत्री वातावरण निर्माण गरेर गाउँमा घुम्नको लागि पाहुना पुग्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए ।

Advertisement


‘पूर्वाधार गाउँमा हुने तर मानिस गाउँ छोडेर जाने भयो, यसलाई रोक्नुपर्छ’, उनले भने । अर्मलामा बेला–बेलामा प्राकृतिक विपत्ति आएकोतर्फ संकेत गर्दै उनले प्रकृतिको दोहोन नगरी उपयोग गर्नुपर्ने विचार राखे । जनसंख्या वृद्धि भए पनि खोलाघरलाई कायमै राख्न उनको सुझाव छ ।


‘प्रकृतिको आफ्नै नियम छ, जहाँ पनि घर बनाएको कारण समस्या आउने गरेको छ, जति जनसंख्या बढे पनि खोलाघरलाई कायमै राख्नुपर्छ, निकास मिच्ने होइन व्यवस्थित गर्ने हो’, उनले भने । पोखरा १६ का वडा सदस्य रामचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पूर्ववडाध्यक्ष जीवन आचार्य र स्थानीय लीलाधर आचार्यले पोखरा १६ मा भएका विकास निर्माणका कार्य र भोग्नुपरेका समस्याका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया