पश्चिमाञ्चल माविले एसइई कप फुटसल प्रतियोगिता गर्ने

समाधान संवाददाता २०८१ जेठ ७ गते १२:५१

पोखरा, ६ जेठ (समाधान)–पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविले एसइई कप फुटसल प्रतियोगिता गर्ने भएको छ । जेठ १४ र १५ गते पोखरामा हुने प्रतियोगिता पोखरा फुटसल एरिनामा सञ्चालन हुने विद्यालयले बताएको छ ।

Advertisement


‘स्वस्थका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने अभिप्रायले पश्चिमाञ्चल माध्यमिक विद्यालयले यो प्रतियोगिता राखेको छ । कास्की जिल्लाबाट यो वर्ष एसइईमा सहभागी विद्यार्थीबीच आपसी मित्रता तथा सद्भाव बढाउने उद्देश्यले यो प्रतियोगिताले राखेको विद्यालयका प्राचार्य सरोज कोइरालाले जानकारी दिए ।


प्रतियोगितामा पोखरा भित्रका निजी तथा सामुदायिक विद्यालयले सहभागिता जनाउन सक्नेछन् । फरक फरक विद्यालयबाट एसइइ दिएका तर एउटै समूह बनेर खेल्न आएको समूहले पनि भाग लिन पाउने उनले बताए । व्यक्तिगत रुपमा समूह बनाएर पनि प्रतियोगितामा सहभागी गराउँदा उनीहरुमा झनै मित्रता बढ्ने उनले बताए ।


फुटसल प्रतियोगितामा प्रथम र द्वितीयले क्रमशः २० र १५ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकतालाई पनि पुरस्कृत गरिनेछ । यसका लागि रजिस्ट्रेसन चलिरहेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक आत्मराम अधिकारीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया